खानेपानी मन्त्रालयले भन्यो- सिएमसीले नदिएको पैसा उठाउने भए आवेदन दिनुस्



काठमाडौं । इटालियन कम्पनी सिएमसीले स्थानीय ठेकेदार तथा सामान आपूर्तिकर्ताको रकम भुक्तानी नगरेको सन्दर्भमा प्रमाणसहित सम्पर्क राख्न खानेपानी मन्त्रालयले आग्रह गरेको छ ।

सिएमसीले १ अर्ब ५० करोड बढी रकम भुक्तानी गर्न बाँकी रहेको भन्दै स्थानीय ठेकेदार तथा सामान आपूर्तिकर्ताले विरोध गर्दै आएका छन् । मन्त्रालयले चिनियाँ कम्पनी सिनो हाइड्रोलाई आयोजनाको मुख्य काम अगाडि बढाउन सम्झौता गरेको छ ।

सिनो हाइड्रोले आयोजना स्थलमा काम गर्ने वातावरण बनाइदिन आग्रह गरेको छ । मन्त्रालयका तर्फबाट आज प्राविधिक समितिको तर्फबाट एक विज्ञप्ति प्रकाशित गर्दै के कति रकम सिएमसीबाट लिनुपर्ने हो सो को विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

मेलम्ची खानेपानी आयोजनाको पूर्व ठेकेदार कम्पनी सिएमसीलाई विभिन्न सामग्री तथा सेवा आपूर्ति गरी भुक्तानी लिन बाँकी रहेका सेवा प्रदायक, सामान आपूर्तिकर्ता, सप्लायर्सको मागदावीको स्म्बन्धमा अध्धयन कार्य जारी रहेको मन्त्रालयले जनाएको छ ।

स्थानीय ठेकेदार र सामान आपूर्तिकर्ताको मागदावीको स्म्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न खानेपानी मन्त्रालयका खानेपानी तथा वातावरण महाशखा प्रमुखको संयोजकत्वमा यस अघि नै एक छानबनि समिति गठन भइसकेको छ ।

सम्बन्धित सेवा प्रदायक, सामग्री आपूर्तिकर्ता तथा सप्लायर्सले आफ्नो बाँकी रहेको भुक्तानीको मागदावी र सो को पुष्टि हुने बिल बिजक, सम्झौतालगायतका कागजातको फोटोकपी सहित प्राविधिक समितिमा निवेदन दिन आग्रह गरेको छ ।

मागकर्ताको दावीको सम्बन्धमा अध्ययन गर्नका लागि समिति गठन भई क्रियाशिल भएको सन्दर्भमा निर्माण क्षेत्रमा विरोध तथा आन्दोलनका कार्यक्रम स्थगित गर्न समेत आग्रह गरेको छ ।

स्थानीय ठेकेदार तथा सामान आपूर्तिकर्ताले आयोजना स्थलमा अवरोध गरेपछि सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले आयोजना स्थल आसपासमा निषेधित क्षेत्र घोषणा गरेको छ ।

मन्त्रालयले राष्ट्रिय गौरवको आयोजनामा कुनै पनि अवरोध नगर्न आग्रह गरेको छ । जमानत ग्यारेन्टी मार्फत सिएमसीको २ अर्ब ५० करोड बढी रकम सरकारले जफथ गरेको छ । स्थानीय सामान आपूर्तिकर्ताले सोही रकमबाट आफूहरुको रकम उपलब्ध गराइदिन आग्रह गर्दै आएका छन् ।


पुष्प दुलाल