खल्तीमै बैंक: ७ वर्षमा २१ लाखले बढे कार्डका प्रयोगकर्ता



काठमाडौँ । हजुरबाहरुको पालामा सामानसँग सामान साटिन्थ्यो । भोटको नून खान कानको सुन दिनुपर्थ्यो । अर्थात् बस्तु विनिमय प्रणाली । त्यसबेला नगदको कारोबार नै हुँदैनथ्यो भन्दा पनि हुन्छ ।

बा-आमाका पालामा नगदको कारोबार हुन थाल्यो । तर, ब्यक्तिसँग । अर्थात् वस्तु विनिमयको साधन साहू महाजनको हातमा हुन्थ्यो । ३०/३५ वर्षको युवासँग ऊ बच्चा हुँदा बा-आमाले घरको बाकसमा पैसाको बिटो राखेको अनुभव छ । वा भनौं उसले देखेको छ ।

बा-आमाको जमानासम्ममा गाउँगाउसम्म बैंक पुगेका थिएनन् । शहर र बजारको विकास पनि राम्ररी भएको थिएन । आवतजावतको लागि यातायातको साधन पनि थिएनन् ।

बैंकिङ पहुँच बढेसँगै एटीएम प्रयोगकर्ताहरु पनि बढिरहेका छन् । प्रविधिको प्रयोग बढेसँगै एटिएम कार्ड प्रयोगकर्ता बढेका हुन् । अहिले बैंकमा चेक साट्न जाने भन्दा एटीएमहरुमा पैसा झिक्न जाने सेवाग्राहीको संख्या बढी हुन थालेको आभास मिल्छ ।

चेकको प्रयोग गरि थोरै रकम झिक्न बैंकको काउन्टरसम्म नै पुग्नु नपर्ने भएकाले पनि एटीएम कार्डको प्रयोगकर्ता बढेका हुन् । राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्ष ६८ लाख ९९ हजार ५३ जना बैंक तथा वित्तीय संस्थाका कार्ड प्रयोगकर्ताहरु छन् ।

डेबिट कार्डका प्रयोगकर्ता ६७ लाख ८५ हजार

पछिल्ला दिनहरुमा नेपालमा प्लास्टिक मनि अर्थात् एटीएम कार्ड, भिसा कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्डप्रति उपभोक्ताहरुको आकर्षण बढ्दो छ । जसले बैंकिङ उपभोक्ताको जीवनशैलीमै ठूलो परिवर्तन ल्याएको छ ।

हाल सम्म नेपालमा बैंक तथा वित्तीय संस्थाहरुले डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेडकार्ड प्रयोग सबैभन्दा धेरै ६७ लाख ८५ हजार २१ जना डेविट कार्ड प्रयोगकर्ता छन् । जसमध्ये वाणिज्य बैंकहरुको ६४ लाख ५४ हजार २८५, विकास बैंकको २ लाख ६९ हजार ९१ र फाइनान्स कम्पनीहरुको ३७ हजार २४५ जना डेविट कार्ड प्रयोगकर्ता रहेका हुन् ।

यस्तै, बैंकको कार्ड प्रयोगकर्तामध्ये क्रेडिक र प्रिपेड कार्ड प्रयोगकर्ता वाणिज्य बैंकका मात्र छ । जसमा १ लाख २३ हजार १४६ जना क्रेडिटकार्ड र ६७ हजार ३८६ जना प्रिपेड कार्ड प्रयोगकर्ता रहेका छन् ।

गत आर्थिक बर्षको अन्त्यसम्म बैंक तथा वित्तीय संस्थाहरुमा खाता संख्या २ करोड ७८ लाख ६६ हजार ५०५ थियो । जसमा ६८ लाख ९९ हजार ५३ जनामात्रै कार्ड प्रयोगकर्ताहरु छन् ।

एक जना व्यक्तिको नै १ भन्दा बढी बैंकमा खाता खोलएको हुनाले र एटीएम कार्डको प्रयोग सम्बन्धी जानकारी नभएकाले पनि २ करोड ९ लाख ६७ हजार ४५२ खाताको नाममा कार्ड प्रयोग भएको छैन ।

७ बर्षमा २१ लाख ९४ हजारले बढे कार्ड प्रयोगकर्ता

राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्ला ७ बर्षमा २१ लाख ९४ हजार कार्ड प्रयोगकर्ता बढेका छन् । २०६८ सालमा ४६ लाख ५० हजार जनाले बैंकबाट एटिएम कार्ड गरेका थिए । २०७५ साल सम्ममा त्यसको संख्या बढेर ६८ लाख ९९ हजार ५३ जनाले बैंक तथा वित्तीय संस्थाको डेविट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड प्रयोग गरेका छन् ।

यो अवधीमा तुलनात्मकरुपमा हेर्दा सबैभन्दा डेविट कार्डका प्रयोगकर्ता बढेको देखिन्छ । २०६८ साल असार मसान्तसम्ममा डेविट कार्डका प्रयोगकर्ता साढे ४६ लाख थिए । २०७५ असार मसान्तसम्ममा डेविट कार्डका प्रयोग गर्ने प्रयोगकर्ता ६७ लाख ८५ हजार २१ पुगेका छन् । यो ७ वर्षको अवधीमा २१ लाख ३५ हजार डेविट कार्ड प्रयोगकर्ता बढेका हुन् ।

क्रेडिट कार्डका १ लाख २३ हजार

त्यसैगरि, पछिल्ला ७ वर्षमा ६८ हजार क्रेडिट कार्डका प्रयोगकर्ता थपिएका छन् । २०६८ असार मसान्तमा जम्मा ५५ हजारको संख्यामा रहेका क्रेडिट कार्डका प्रयोगकर्ता २०७५ असार मसान्तसम्ममा १ लाख २३ हजार पुगेको राष्ट्र बैंकले जनाएको छ ।

२०५० सालमा नविल बैंकले नेपालमा पहिलोपटक क्रेडिट कार्ड सुरु गर्यो । त्यसबेलासम्म बैंकिङ प्रणालीमा क्रेडिट कार्ड खासै प्रचलनमा थिएन । त्यसैले क्रेडिट कार्डको कारोबार राम्रोसँग हुने बैंकको विश्वास थियो ।

२०५० सालमै क्रेडिट कार्ड शुरु गरेको नविल बैंकले डेविट कार्ड भने ०५३ सालमा मात्रै शुरु गरेको थियो ।

तर, ०५२ सालमै हिमालयन बैंकले नेपालमै पहिलोपटक डेबिट कार्ड सुरु गरिसकेको थियो । नविल बैंकका अनुसार क्रेडिट कार्ड सुरु गरेको वर्ष झन्डै १००० जनाले यस्तो कार्ड लिएका थिए ।


पुष्प दुलाल