देश भित्रिने भन्दा बाहिरिने रकम साढे ६७ अर्ब रुपैयाँले बढी

98
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५-७६ मा शोधनान्तर शोधनान्तर स्थिति ६७ अर्ब ४० करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ९६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्ष ११ लाखले घाटामा रहेकोमा समीक्षा वर्षमा ५९ करोड १० लाखले घाटामा रहेको छ ।

राष्ट्र बैंकका अनुसार चालु खाता भने २ खर्ब ६५ अर्ब ३७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष यस्तो घाटा २ खर्ब ४७ अर्ब ५७ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ३७ करोडले चालु खाता घाटामा रहेकोमा समीक्षा वर्षमा २ अर्ब ३५ करोडले घाटामा रहेको छ ।

आर्थिक वर्ष २०७५÷७६ मा शोधनान्तर स्थिति ६७ अर्ब ४० करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष आर्थिक वर्ष २०७५-७६ मा पुँजीगत ट्रान्सफर १५ अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १३ अर्ब ७ करोड रहेको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १७ अर्ब ७२ करोड र प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ५१ रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०७५-७६ मा आर्थिक वृद्धि ७.१ प्रतिशत रहेको प्रारम्भिक अनुमान रहेको छ । वार्षिक औसत मुद्रास्फीति ४.६ प्रतिशत रहेको छ भने आयातको वृद्धिदर १३.९ प्रतिशत र निर्यातको वृद्धिदर १९.४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष आयातको वृद्धिदर २५.८ प्रतिशत र निर्यातको वृद्धिदर ११.४ प्रतिशत रहेको थियो ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १६.५ प्रतिशत र अमेरिकी डलरमा ७.८ प्रतिशतले बढेको छ । कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ३८ अर्ब ९२ करोड कायम भएको छ । उक्त सञ्चिति ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष उक्त सञ्चिति ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो ।

आर्थिक वर्ष २०७५-७६ मा सरकारको बैंकिङ्ग कारोवारमा आधारित खर्च १० खर्ब ३१ अर्ब १५ करोड र राजस्व संकलन ८ खर्ब ६५ अर्ब ५५ करोड रहेको छ । बार्षिक विन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १५.८ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन १८.० प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा १९.४ प्रतिशतले बढेको छ । २०७६ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेकोचुक्ता पुँजी ३ खर्ब ५ अर्ब ९० करोड, कुल निक्षेप ३२ खर्ब ३५ अर्ब र निजी क्षेत्र तर्फको कर्जा २८ खर्ब ६६ अर्ब पुगेको छ ।