आज असार १५, कूल ११ प्रतिशतमात्रै धान रोपाईं, आर्थिक वृद्धिको लक्ष्य भेट्टाउन कठिन हुने



काठमाडौं । आज असार १५ । सरकार र नागरिक स्तरमा आजै धान दिवस मनाइन्छ । आज दही च्यूरा खाने दिन पनि हो । नेपाली परम्परा अनुसार दही र च्यूरासँग नेपाली जनजीवन पनि जोडिएको छ । संस्कृति पनि जोडिएको छ ।

सरकारले आज बर्दियाको राजापुरमा धान दिवसको विशेष समारोह आयोजना गरेको छ । विगतका केही धान दिवसले कृषि मन्त्रीको जागिर पनि गएको प्रस्ंग नेपाली समाजका लागि नौलौ छेन । हरिप्रसाद पराजुलीले धान दिवसको दिन एक महिलामाथि दूव्र्यवहार गरेको भन्दै मन्त्रीबाटै राजीनामा दिएर हिड्नु पर्यो ।

असार लाग्दा समेत मनसुन राम्ररी सक्रिय हुन सकेको छैन । जसका कारण देशभर हालसम्म मात्रै ११ प्रतिशत मात्रै धान रोपाई हुन सकेको छ । धान देशको अर्थतन्त्रसँग पनि जोडिएको छ ।

धान बढी उत्पादन हुँदा आर्थिक वृद्धि मानै त्यसले सकारात्मक प्रभाव पार्ने गरेको छ । चालु आर्थिक वर्षमा धान उत्पादन बढी हुँदा आर्थिक वृद्धिदर ७.१ प्रतिशतको हाराहारीमा हुने देखिएको छ ।

विश्व बैंकले आर्थिक वृद्धिदर ७.१ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको छ । सरकारले भने ६.८१ प्रतिशत हुने अनुमान गरेको छ ।

तर भन्सार विभागको तथ्यांकलाई आधार मान्ने हो भने २५ अर्ब बराबरको धान तथा चामल आयात भएको छ । नेपालीको भातै खानुपर्ने बानीका कारण पनि चामल आयात वृद्धि भएको हो ।

असार १५ सम्म पनि धान रोपाईमा उल्लेख्य प्रगति हुन नसक्दा अर्थतन्त्रमा पनि प्रभाव पर्न सस्क्नेछ । चामल आयात वृद्धि हुँदा त्यसले परनिर्भरता बढाउन बल पुग्नेछ ।

गत वर्षको असार १५ को अवधिमा देशभर १५.०९ प्रतिशत रोपाइँ भएको थियो ।कृषि विकास मन्त्रालयका अनुसार उच्च पहाडमा २६.३१ प्रतिशत र मध्य तराईमा १५.१२ प्रतिशत रोपाइँ भएको छ । धानको मुख्य भण्डार मानिने तराईमा भने हालसम्म मात्रै ९.५९ प्रतिशत धान रोपाई भएको छ ।

तराईमा १० लाख ९४ हजार ६३६ हेक्टर क्षेत्रमा रोपाई हुने गरे पनि असार १५ सम्म मात्रै १ लाख हेक्टरमा रोपाई भएको छ ।

चालु आवमा धान उत्पादनमा झण्डै ९ प्रतिशतले वृद्धि भएको थियो । अघिल्लो वर्ष ५१ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यसवर्ष कुल ५६ लाख १० हजार मेट्रिक टन उत्पादन भएको थियो ।

नेपालमा ६१ लाख मेट्रिक टन धानको माग छ ।

प्रदेश नं २ मा मात्रै कुल १४ लाख ९५ हजार मेट्रिक टन धान उत्पादन भएको छ । यस्तै प्रदेश नं १ मा १२ लाख ३७ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

सरकारले आगामी आवमा आर्थिक वृद्धिदर ८.५ प्रतिशत हुने लक्ष्य निर्धारण गरेको छ । सो लक्ष्य पूरा गर्नका लागि धान उत्पादनमा समेत उल्लेख्य वृद्धि हुनु जरुरी पर्छ ।


पुष्प दुलाल