बिजयाश्री स्टिल उद्योगले पौने ४ अर्ब ऋण लिने



काठमाडौं । नेपालमा ३० वर्षदेखि व्यावार–व्यवसाय गर्दै आएको व्यापारिक घराना विजयाश्री समूहले स्टिल उद्योगको क्षमता विस्तार गर्न पौने ४ अर्ब ऋण लिने तयारी गरेको छ ।

विभिन्न कारणले उद्योगको लागत बढेको र नेपालमा पूर्वाधार विकास शुरु भएकाले स्टिलको माग बढेको भन्दै बिजयाश्री स्टिलले बैंकबाट ऋण लिएर उद्योगको उत्पादन क्षमता बढाउन लागेको हो ।

उद्योगले बैंकबाट ऋण लिनका लागि आफ्नो रेटिङ गराएको छ । केयर नेपालले गरेको रेटिङ अनुसार बिजयश्री स्टिल उद्योगले दीर्घकालका लागि ५४ करोड २० लाख र अल्पकालका लागि ३ अर्ब २० करोड रुपैयाँ गरी कूल ३ अर्ब ७४ करोड २२ लाख रुपैयाँ ऋण लिन लागेको हो ।

चालू आर्थिक वर्षको मौद्रिक नीतमिार्फत् नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँभन्दा माथिको ऋणका लागि अनिवार्य रेटिङ गराउनु पर्ने व्यवस्था गरेको छ ।

२५ नोभेम्बर २०१८ देखि सञ्चालनमा आएको बिजयश्री स्टिल उद्योगले लक्ष्य अनुुसारको प्रगति हासिल गरिरहेको केयर नेपालले जनाएको छ । उद्योगमा नगद प्रबाहको कुनै समस्या छैन ।

उद्योग स्थापना गर्न ७७ करोड ४४ लाख रुपैयाँ लाग्ने अनुमान गरिए पनि सञ्चालनमा आउँदासम्म उद्योगको लागत बढेर ९० करोड १४ लाख रुपैयाँ पुगेको थियो ।

उद्योग स्थापना गर्न बिजयश्री स्टिल उद्योगले बैंकबाट ५४ करोड २२ लाख रुपैयाँ ऋण लिएको थियो भने बाँकी रकम लगानीकर्ताले इक्वीटीको रुपमा हालेका थिए । २०१७ को डिसेम्बरमा उद्योगको वित्तीय व्यवस्थापन भएको थियो ।

बजारमा ठूलो क्षमताका अन्य स्टिल उद्योग आउन लागेपछि बिजयाश्रीले अरु उद्योगसँग प्रतिस्पर्धा गर्न आफ्नो क्षमता विस्तार गर्न लागेको हो । बिजयाश्री स्टिल उद्योगको अध्यक्ष विकास केडिया हुन् ।

यो उद्योगले टीएमटी छड उत्पादन गर्दै आएको छ । यो समूहले बिजया सिमेन्ट पनि उत्पादन गर्दै आएको छ । बिजया सिमेन्टका देशभर ४०० डिलर छन् ।

कपिलवस्तुको शिवराजमा उद्योगको प्लान्ट छ । उद्योगबाट ११ किलोमिटरमै भारतको बर्नी र ९८ किलोमिटरको दूरीमा सुनौली नाका छ । जसकारण कच्चापदार्थ आयात गर्न र उत्पादित सामान बिक्री वितरण गर्न उद्योगलाई फाइदा पुगेको छ ।

भविष्यमा बर्नी नाकाबाट कच्चा पदार्थ आयात गर्ने कम्पनीको योजना छ । पूर्वापश्चिम राजमार्गको छेवैमा उद्योग भएकाले उत्पादित बस्तु बजारसम्म पुर्याउन पनि सहज छ ।

उद्योगसँग दैनिक ७ सय मेट्रिक टन रड उत्पादन गर्ने क्षमता छ ।

बैंकको अस्थिर ब्याजदर, कच्चापदार्थ तथा विदेशी मुद्राको अस्थिर भाउ र आन्तरिक बजारमा उत्पादकहरुबीच हुने तीब्र प्रतिस्पर्धा नै कम्पनीको चुनौति रहेको केयर नेपालले जनाएको छ ।


पुष्प दुलाल