काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कृषि उत्पादनमा भएको वृद्धि, उद्योगको क्षमता उपयोगमा भएको विस्तार, पर्यटकको आगमनमा भएको वृद्धि तथा ऊर्जा आपूर्तिमा भएको सुधारका कारण मुलुकको अर्थतन्त्रको सूचक सन्तोषजनक रहेको दाबी गरेका छन् ।
मंगलबार सार्वजनिक गरिएको चालू आवको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा विप्रेषण आप्रवाहमा भएको वृद्धि, राजश्व असुलीमा भएको वृद्धि र पूँजीगत खर्चमा भएको वृद्धिजस्ता अर्थतत्रन्त्रका सूचक सकारात्मक रहेको र आर्थिक वृद्धिदर लक्ष्यकै हाराहारीमा हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
खतिवडाले सार्वजनिक गगरेको उक्त प्रतिवेदनअनुसार समीक्षा अवधिमा ३ खर्ब ७५ अर्ब ८२ करोड खर्च भएको छ । उक्त रकम कूल विनियोजनको २८.६ प्रतिशत हो । त्यसमा चालू खर्चतर्फ २ खर्ब ९६ अर्ब ५७ करोड ५९ लाख अर्थात् ३५.१ प्रतिशत रहेको छ ।
यस्तै पूँजीगत खर्च रु ५५ अर्ब ५२ करोड तीन लाख अर्थात् १७ दशमलव सात प्रतिशत र वित्तीय व्यवस्थातर्फ २३ अर्ब ७२ करोड ४७ लाख अर्थात् १५.२ प्रतिशत खर्च भएको छ ।
सङ्घतर्फको राजश्व सङ्कलन ४ खर्ब २ अर्ब ४५ करोड भएको छ । यो गत वर्षको तुलनामा २६ दशमलव एक प्रतिशतले बढी हो । यसमा कर राजश्वको वृद्धि २८ प्रतिशत र गैरकर राजश्वको वृद्धि १२ दशमलव तीन प्रतिशत रहेको छ ।
चालू आवको छ महिनासम्मका औसत मुद्रास्फीति चार दशमलव दुई प्रतिशत रहेको छ । यस्तै विप्रेषण आप्रवाह ३० दशमलव दुई प्रतिशतले वृद्धि भई रु चार खर्ब ४३ अर्ब ३६ करोड पुगेको छ । खुद ट्रान्सफर आय २८ दशमलव सात प्रतिशतले बढी रु पाँच खर्ब पाँच अर्ब ५३ करोड पुगेको छ ।
चालू आवको छ महीनाको विवरणअनुसार कूल वस्तु निर्यात १० दशमलव ३ प्रतिशतले वृद्धि भएको छ भने कूल वस्तु आयात ३० दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । कूल व्यापार घाटा ३२ दशमलव एक प्रतिशतले वृद्धि भई ६ खर्ब ७८ अर्ब ५३ करोड रहेको छ । शोधान्तर स्थिति ६३ अर्ब ६८ करोड घाटामा छ ।
यस्तै विभिन्न आयोजनाका लागि १ खर्ब ११ अर्ब ६३ करोड वैदेशिक सहायताको प्रतिबद्धता प्राप्त भएको छ भने वैदेशिक सहायतातर्फ सरकारको स्रोतबाट खर्च भई शोध भर्ना गर्नुपर्ने रु ४८ अर्ब ५९ करेड रहेकामा रु ३६ अर्ब १४ करोड शोध भर्ना प्राप्त भएको छ । प्रतिवेदनअनुसार नेपाल राष्ट्र बैंकको प्रथम छ महीनाको समीक्षाका आधारमा नगद प्रवाहमा आधारित सरकारको बजेट ७९ अर्ब २२ करोड बचतमा छ ।
यस्तै राष्ट्रिय गौरवका आयोजनामा २४.९ प्रतिशत अर्थात् २२ अर्ब ८ करोड ७१ लाख खर्च भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, उत्तर दक्षिण कोशी राजमार्ग र कालीगण्डकी करिडोर लोकमार्गको प्रगति उत्साहजनक देखिएको अर्थ मन्त्रालयले जनाएको छ ।
चालू आवमा ११ खर्ब ९९ अर्ब १५ करोड खर्च हुने अनुमान गरिएको छ । उक्त रकम कूल विनियोजनको तुलनामा ९१ दशमलव दुई प्रतिशत हो ।
मन्त्रालयका अनुसार चालूतर्फ ७ खर्ब ९८ अर्ब ४४ करोड अर्थात् ९४ दशमलव ४ प्रतिशत, पूँजीगततर्फ रु दुई खर्ब ६५ अर्ब २६ करोड अर्थात् ८४ दशमलव पाँच प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ३५ अर्ब ४४ करोड अर्थात् ८७ प्रतिशत खर्च हुने अनुमान छ ।
चालू आवको अन्त्यसम्म रु नौ खर्ब १७ अर्ब १९ करोड राजश्वमध्ये सङ्घीय सञ्चित कोषमा रु आठ खर्ब ६ अर्ब ५० करोड ६४ लाख जम्मा हुनेछ । यस्तै वैदेशिक अनुदानतर्फ रु ३९ अर्ब ९८ करोड र वैदेशिक ऋणतर्फ रु एक खर्ब ६३ अर्ब परिचालन हुने संशोधित अनुमान छ ।
सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन, २०७५ को पालना गरिएको र वैदेशिक सहायतामा सञ्चालित आयोजनाको लेखा र प्रतिवेदन व्यवस्थालाई प्रभावकारी बनाई समयमै शोधभर्ना प्राप्त गर्ने कार्यलाई शीघ्र कार्यान्वयनमा ल्याइएको प्रतिवेदनमा उल्लेख छ ।
सम्झौता भएका रुग्ण आयोजनाका व्यवस्थापनका लागि आयोजना कार्यान्वयनको अवस्था, विनियोजित बजेट खर्च नभई बचत हुने रकमको उपलब्धता र प्राथमिकताका आधारमा आयोजनाको कार्यान्वयन गरिएको छ ।
चालू आवको छ महीनामा सङ्घीय संरचनाअनुरुप सङ्घ र स्थानीय तहमा भइरहेका आर्थिक क्रियाकलाप र समष्टिगत आर्थिक तथ्याङ्कले उच्च आर्थिक वृद्धिका लागि आधारशिला निर्माण भइरहेको सङ्केत गरेको समीक्षामा उल्लेख छ ।
प्रतिक्रिया