ब्रोकरसँग सेबोन अध्यक्ष कार्कीले भने- नबोलेका कुरा मिडियामा आए, सत्य भए राजिनामा दिन्छु



काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रेबतबहादुर कार्कीले आफूले नबोलेका कुरा मिडियामा आएको दाबी गरेका छन् । मिडियामा आएको कुरा सत्य भए आफू नैतिकताका आधारमा अध्यक्ष पदबाट राजिनामा दिन तयार रहेको कार्कीले बताए ।

‘मैले बोल्दै नबोलेका कतिपय विषयहरु मिडियामा आएका छन्, जसकारण तपाईहरुले धारणा बनाएर म माथि खनिनुभयो,’ अध्यक्ष कार्कीले भने, ‘मिडियामा आएका कुरा सत्य हुन् भने प्रमाण दिनुहोस् म नैतिकताका आधारमा राजिनामा दिन्छु ।’

सेयर ब्रोकरसँग सुशासन पनि छैन, क्षमता पनि छैनः सेबोन अध्यक्ष रेवतबहादुर कार्कीको बिचार

अध्यक्ष कार्कीले ३ दिनअघि (मंगलबार) संसदको अर्थ समितिको बैठकमामा ब्रोकरलाई गालीगलौजको शैलीमा आक्रोश व्यक्त गरेको कुरा क्लिकमाण्डूले जस्ताको त्यस्तै छापेको थियो ।

संसदमै अध्यक्ष कार्कीले आफूहरुको अपमान गरेको भन्दै बिहीबार ब्रोकर संघले गंभीर आपत्ति जनाउँदै धितोपत्र बोर्डमा ६ पृष्ठ लामो ज्ञापनपत्र बुझाएको थियो । त्यसपछि शुक्रबार धितोपत्र बोर्डले शुक्रबार ब्रोकरहरुलाई छलफलका लागि बोलाएको थियो ।

छलफलको शुरुमा ब्रोकरहरुले बोलेका थिए । ब्रोकरहरुले कार्कीले प्रयोग गरेका शब्दहरुप्रति ब्रोकरले आपत्ति जनाउँदै आक्रोश ब्यक्त गरेका थिए ।

सांसदकै अघि ब्रोकरप्रति खनिए सेबोन अध्यक्ष कार्की, भने- मलाई महाशत्रू घोषणा गरेर के गर्न सक्नुभयो ?

कार्कीले संसदमा बोलेको कुरालाई ‘उ’ भन्ने शब्द बाहेक जस्ताको त्यस्तै क्लिकमाण्डूले पाछेको थियो । क्लिकमाण्डूसँग कार्कीले संसदमा बोलोको अडियो अहिले पनि सुरक्षित छ ।

‘मैले तपाईहरुलाई त्यसो भन्छु होला त, पत्रकारले जे पायो त्यही लेखेकै भरमा तपाईहरु संगठितरुपमा मेरो विरुद्धमा उत्रिने ?’ भन्दै कार्कीले प्रश्न गरेका थिए ।

तर, संसदको अर्थ समितिमा उपस्थित ब्रोकर संघका अध्यक्ष भरत रानाभाटले मिडियामा आएका कुराहरु तपाईले अर्थ समितिमा बोलेकै हो भनेका थिए ।

त्यसपछि कार्कीले मैले बोलेको रेकर्ड ल्याउनुहोस् म नैतिकताका आधारमा राजिनामा दिन्छु भनेका थिए ।

‘मैले तपाईहरुले महाशत्रू घोषणा गर्नुभयो भनेकै होइन, त्यस्तै ब्रोकरसँग क्षमता पनि छैन, सुशासन पनि छैन भनेर भनेकै छैन,’ कार्कीले दाबी गरे ।

संसदीय समितिमा बोलेका कुराहरु त्यहाँ पनि रेकर्ड हुन्छन् ।

दिउसो १ बजेदेखि भएको छलफल ३ बजेसम्म चलेको थियो ।

छलफलमा बोर्ड अध्यक्ष कार्की र उच्च पदस्थ कर्मचारी परिष्ठ पौडेल र डा. नबराज अधिकारी थिए ।

ब्रोरका तर्फबाट ब्रोकर संघका अध्यक्ष भरत रानाभाट, निवर्तमान अध्यक्ष प्रियराज रेग्मी, पूर्वअध्यक्ष नरेन्द्र सिँजापतिसँगै ब्रोकरहरु नितेश अग्रवाल, धर्म सापकोटा, सन्तोष पंगेनी, शितल कोइराला लगायत उपस्थित थिए ।

छलफलमा अध्यक्ष कार्कीले मंगलबार अर्थ समितिमा पुँजी बजार विज्ञका रुपमा आफ्नो प्रस्तुति दिएका गोपाल भट्टप्रति आक्रोश व्यक्त गरेका थिए ।

‘त्यस्ता पनि विज्ञ हुन्छन्, त्यस्ताले भनेका कुरा पनि सत्य हुन्छन् ?’ भन्दै प्रश्न गरेका थिए, ‘मेरो राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभव छ, म पनि कुरा बुझ्छु ।’

ब्रोकरहरुले नियामकको प्रमुख भएर कार्कीले जे पायो त्यही बोलेकै कारण बजार बिग्रिएको समेत टिप्पणी गर्न भ्याएका थिए ।

‘तपाईले जे पायो त्यही बोलेका कारण हाम्रो इज्जत गयो, बजार पनि बिग्रयो,’ एक ब्रोकरले भनेका थिए ।

छलफलको अन्तिममा कार्कीले यसरी झगडा गर्नुभन्दा मिलेर सँगै जानु उपयुक्त भएको भन्दै बाहिरिएका थिए ।

तर, कार्कीले आज पनि गैरजिम्मेवारीपूर्ण जवाफ दिएर उम्किने प्रयास गरेको भन्दै आइतबार फेरि मागपत्र बुझाउने तयारी गरेको एक ब्रोकरले जानकारी दिए ।

‘संदसमा बोलेको कुरा पनि मैले बोलेकै छैन भन्दै गैरजिम्मेवारीपूर्ण जवाफ दिनुभयो,’ एक ब्रोकरले भने, ‘हामी आइतबार फेरि मागपत्र बुझाउन जान्छौं ।’

नियामकका अध्यक्षको अभिव्यक्तिले आफूहरुको इज्जतमा धक्का लागेको उनीहरुको निष्कर्श छ ।

‘धितोपत्र बोर्ड र धितोपत्र बोर्डका अध्यक्षप्रति हाम्रो उच्च सम्मान छ, बोर्डको नीति निर्देशन अक्षरस पालना गर्छौं । र, गरेका पनि छौं,’ छलफलमा ब्रोकरहरुले भने ‘व्यक्तिगतरुपमा रेवत बहादुर कार्कीको अभिव्यक्तिप्रति हाम्रो गंभीर आपत्ति हो ।’


पुष्प दुलाल