सांसदकै अघि ब्रोकरप्रति खनिए सेबोन अध्यक्ष कार्की, भने- मलाई महाशत्रू घोषणा गरेर के गर्न सक्नुभयो ?



काठमाडौं । सेयर ब्रोकरप्रति सार्वजानिकरुपमै नकरात्मक टिक्काटिप्पणी गर्दै हिँड्ने धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले संसदमा पनि ब्रोकरप्रति आक्रोश पोखेका छन् ।

संघीय संसदको अर्थ समितिले मंगलबार पुँजी बजारसम्बन्धी छलफलका लागि सरोकारवालाहरु सबैलाई बोलाएको थियो । छलफलमा सांसदकै अघि अध्यक्ष कार्की ब्रोकरविरुद्ध खनिए ।

‘मैले बैंकलाई पनि सहायक कम्पनी खोलेर सेयर ब्रोकरको कारोबार गर्न दिने व्यवस्था मिलाएपछि ब्रकरहरुले मलाई महाशत्रू घोषणा गरे,’ अध्यक्ष कार्कीले भने, ‘ब्रोकरहरुले माथिल्लो निकायमा गएर धितोपत्र बोर्डले पुँजी बजार सिध्याउन लाग्यो भन्दै कुरा लगाए । मलाई माथिल्लो निकायबाट निकै दबाब पनि आयो । तर, मैले टेरिँन ।’

माथिल्लो निकायमा गएर फोन गर्न लगाएर पनि ब्रोकरहरुले आफूलाई केही गर्न नसकेको उनको भनाई थियो । बैंकलाई ब्रोकर लाइसेन्स दिने कुरा अब रोकिँदैन ।

‘काम भइरहेको छ, तपाईंले भन्नेवित्तिकै हुन्छ ?’ भन्दै अध्यक्ष कार्कीले सभापति दाहाललाई नै प्रश्न गरे ।

बोर्डका अध्यक्ष कार्की नै बैंकलाई ब्रोकर लाइसेन्स तीब्र लबिङ गर्दै हिँडेका थिए । राष्ट्र बैंकले बैंकलाई ब्रोकर लाइसेन्स दिने बोर्डको प्रस्ताव अध्ययन गर्न भन्दै केही समय रोकेको थियो । अध्यक्ष कार्की अर्थमन्त्री, प्रधानमन्त्री लगायतकहाँ पुगेर राष्ट्र बैंक सेयर बजारको बाधक भएको भन्दै आलोचना गर्दै हिँड्थे ।

बैंकले ब्रोकर लाइसेन्स पाएपछि प्रतिस्पर्धा गर्न डराएर ब्रोकरहरुले आफ्नो विरोध गरेको कार्कीको भनाई छ ।

‘२३ वटा ब्रोकर हुँदा २७ वटा ब्रोकर थप्ने मै हुँ, अहिले फेरि २८ बैंकलाई सहायक कम्पनीमार्फत ब्रोकरको कारोबार गर्न पाउने ब्यवस्था मिलाएको छु,’ कार्कीले भने, ‘तपाईं (ब्रोकर)हरु प्रतिस्पर्धा स्वीकार्न नसकेर मेरो विरोध गर्दै हिँड्नुहुन्छ ।’

ब्रोकरहरुले श्रीलंकामा गएर अध्ययन गरेर ब्रोकरको संख्या घटाउनु पर्ने प्रतिवेदन धितोपत्र बोर्डमा बुझाएको प्रसंग कोट्याउँदै कार्कीले भने– ‘श्रीलंकाजस्तो देशमा गएर अध्ययन गरेर संख्या घटाउनु पर्यो भन्दै प्रतिवेदन बुझाउने ? अलि राम्रो देशमा गएर अध्ययन गर्नु पर्दैन ?’

बैंकलाई ब्रोकर लाइसेन्स दिँदा ७५३ स्थानीय तहमै सेयर कारोबार गर्न पाइन्छ भनेर गरिएको प्रचारबाजी सही नभएको उनले प्रष्ट पारे ।

‘बैंकले ब्रोकर लाइसेन्स पाउँदा २८ वटा ब्रोकर थपिने हुन्, सबै स्थानीय तहमा सेयर कारोबार गर्न पाइने भयो भनेर प्रचार गर्नु गलत हो,’ उनले भने ।

अध्यक्ष कार्कीले अर्थमन्त्री युवराज खतिवडाले सेयर बजार बुझेका कारण आफ्नो काममा पूर्ण सहयोग गरेको पनि प्रष्ट पारे ।

बैंकलाई ब्रोकरको कारोबार गर्नदिँदा इन्साइडर ट्रेडिङको खतरा भएको सरोकारवालाहरुले धारणा राखे । अर्थ समितिका सभापति कृष्ण दाहालले इन्साइडर ट्रेडिङको खतरा भएको भन्दै यसमा प्रष्ट पार्न बोर्डका अध्यक्षलाई आग्रह गरे ।

सभापति दाहालले इन्साइडर ट्रेडिङबारे के भइरहेको छ अध्यक्ष ज्यू ? भनेर सोधेका थिए ।

‘काम भइरहेको छ, तपाईंले भन्नेवित्तिकै हुन्छ ?’ भन्दै अध्यक्ष कार्कीले सभापति दाहाललाई नै प्रश्न गरे ।

कार्कीले इन्साइडर ट्रेडिङबारे धितोपत्र बोर्डले अध्ययन गरेर कार्यविधि तयार पारेको र आउने हप्तासम्ममा सार्वजानिक गर्ने तयारी भइरहेको जानकारी दिए । उनले इन्साइडर ट्रेडिङको कार्यविधिमा के छ भनेर भन्न चाहेनन् ।

अध्यक्ष कार्कीले आर्थिक विकासका लागि पुँजी बजारको विकास अपरिहार्य भएको बताए । पुँजी बजारको विकासका लागि डेरिभेटिभ मार्केटको विकास गर्नुपर्ने भएपनि अहिले त्यो संभव नभएको जानकारी गराए ।

बजार सुधारका लागि ३ वर्षे योजना बनाएपनि कार्यान्वयन हुन नसकेको उनको भनाई थियो । त्यसैगरी, आवश्यक गरेको ठाउँमा बोर्डले ब्रोकरलाई शाखा खोल्न दिने पनि कार्कीले जानकारी दिए ।

बैशाख १ गतेदेखि प्यान लगाउने भन्ने विषयमा आन्तरिक राजस्व विभागसँग आगामी हप्ता छलफल गर्ने उनले जानकारी दिए ।


पुष्प दुलाल