सवा १० करोड लागतमा फ्रास्ट ट्रयाकको डिपिआर तयार, यसैसाता ड्राफ्ट बुझाइने



निर्माण पछि यस्तो बन्ने छ ।

काठमाडौं । नेपाली सेनाको संयोजनामा निर्माण भइरहेको काठमाडौँ तराई मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

सम्वद्ध पक्षकाअनुसार डिपिआर बनाउने जिम्मा पाएको कोरियाको सुसुङ इन्जिनियरिङ एन्ड कन्सल्टिङले यसै साता डिपिआरको मस्यौदा प्रतिवेदन सेनालाई बुझाउने तयारी भइरहेको छ ।

डिपिआर तयारीको क्रममा केही किलोमिटर दुरी घटाउन सकिने देखिएको र द्रुर्तमार्गको कूल दुरी ७२.४ किलोमिटर मात्रै हुन सक्ने देखिएको छ । हाल कूल ७६.४ किलोमिटर दुरी रहेको छ ।

डिपिआर लगायतको काम आगामी फागुनभित्रै पूरा गर्ने र निर्माणलाई गति दिने तयारीमा सेना रहेको छ । कोरियन कम्पनीले १०५ दिनमा डिपिआर बनाउने गरी १० करोड २० लाखमा जिम्मा लिएको हो ।

कोरियाली कम्पनीले सो आयोजनाको हाल विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाइरहेको छ । केही समय भित्रै डिपिआरको काम सकिने र आयोजनाले थप गति लिने विश्वास लिइएको छ ।

यस्तै सो मार्गको लम्बाई ४ किलोमिटर घटाउने तयारी सुरु भएको छ । केही किलोमिटर दुरी घटाएर कूल ७२.४ किलोमिटर मात्रै तय गर्ने गरी काम भइरहेको छ ।

घुमारो बाटोलाई मिलाएर सुरुङ निर्माण गर्ने सोचमा काम भइरहेको सेनाले जनाएको छ । तर द्रुर्तमार्गको जिरो किलोमिटर रहने खोकनामा भने स्थानीयबासीले मुआब्जा बुझ्न नमान्दा समस्या भएको छ ।

सास्कृतिक सम्पदा मासिने भन्दै स्थानीयले पटक पटक अवरोध गर्दै आएक छन् । संसद्को विकास समितिले समस्यामा समाधानका लागि पटक पटकप्रयास गरेको भएपनि सार्थक परिमाण निस्कन सकेको छैन ।

यस्तै संसद्को राज्य व्यवस्था समितिमा समेत सो विषयमा छलफल भएको थियो । स्थानीय प्रतिनिधि तथा नागरिक समाजका अगुवालाई बोलाएर छलफल भएपनि कुने निष्कर्ष निस्कन सकेको छैन ।

मंगलबार पनि संसद्को विकास समितिले सो क्षेत्रको स्थलगत अवलोकन गरेको थियो । तर स्थानीयले उही पूरानै कुरा दोहोर्याएर काम अगाडि बढाउन नदिने बताए ।

एकै स्थानमा द्रुर्तमार्ग, २२० केभी क्षमताको प्रसारण लाइन, बाहिरी चक्रपथलगायतका संरचना निर्माण गर्दा खोकनाको अस्तित्व सकिने भन्दै उनीहरुले संसदीय समितिलाई समस्या समाधान गरेर अन्यत्रै दु्रर्तमार्गको जिरो प्वाइन्ट राख्न भनेका थिए ।

विवाद नभएको क्षेत्रमा सेनाले धमाधम निर्माणको काम गरिरहेको छ । सडक फराकिलो पार्ने, सम्याउने, तार जाली राख्ने तथा अन्य काम भइरहेको काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजना प्रमुख योगेन्द्र खाँडले जानकारी दिए ।

स्थानीयबासीको समस्या समाधानको प्रयास भइरहेको भएपनि सार्थक निष्कर्ष निस्कन नसम्दा आयोजना जिरो प्वाइन्ट कहाँ रहने भन्ने बारेमा अन्यौलतामा उत्पन्न भएको छ ।

सेनाले खोकना बासीको माग सम्बोधन गरी तत्काल जिरो प्वाइन्ट पत्ता लगाइदिन आग्रह गर्दै आएको छ ।

खोकनाका सबै जसो स्थानीय आयोजनाका लागि जग्गा छाड्न तयार भएपनि केही राजनीतिक दलका नेता र बढी जग्गा भएकाहरु भने अवरोध गर्ने पक्षमा देखिएको विकास समितिको स्थलगत अध्ययनमा समेत देखिएको छ ।


पुष्प दुलाल