२ करोड चुक्ता पुँजीमा प्रदेश स्तरको लघुवित्त संस्था खोल्न पाइने



काठमाडौं । गरिबलाई वित्तीय सेवा दिने लघुवित्त संस्थाहरु प्रदेशस्तरमा खोल्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले परिपत्र जारी गर्दै २ करोड रुपैयाँ चुक्ता पुँजी राखेर प्रदेश स्तरको लघुवित्त संस्था खोल्न पाइने ब्यवस्था गरेको हो ।

राष्ट्रियस्तरको लघुवित्त संस्था खोल्न १० करोड रुपैयाँ पुँजी आवश्यक पर्छ । तर, कसैले कुनै एक प्रदेशमा मात्रै सेवा दिन्छु भनेर २ करोड चुक्ता पुँजीमै लघुवित्त संस्था खोल्न पाउने भएका छन् ।

मुलुक संघीयतामा गएसँगै वित्तीय क्षेत्रलाई पनि संघीयता अनुरुप ढाल्न राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनीलाई पनि प्रादेशिक स्तरमा खोल्न पाउने व्यवस्था गरिसकेको छ ।

लघुवित्त संस्थाहरु कि राष्ट्रियस्तरको कि त प्रादेशिक स्तरको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ । जिल्लास्तरमा यस्तो संस्था खोल्न पाइने छैन ।

कुनै लघुवित्त संस्थाले १० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याएर राष्ट्रियस्तरमा स्तरोन्नति नभएसम्म कुनै एक प्रदेशमा मात्रै कारोबार गर्न पाउनेछ । १० करोड चुक्ता पुँजी नभएका तर एकभन्दा बढी प्रदेशमा शाखा खोलेर कारोबार गरेका लघुवित्त संस्थाले २०७७ असार मसान्तभित्र उक्त शाखा बिक्री, बन्द वा स्थानान्तरण गरी आफ्नो सम्पूर्ण कार्यक्षेत्र एउटा प्रदेशमा मात्रै सीमिति गरिसक्नुपर्ने राष्ट्र बैंकले जनाएकोछ ।

प्रादेशिकस्तरमा कारोबार गर्नका लागि तोकिएको चुक्ता पुँजी पुर्याएका लघुवित्त संस्थाले एकभन्दा बढी प्रदेशमा रहेका शाखा कार्यालय बिक्री, बन्द वा स्थानान्तरणको प्रक्रिया पूरा नगरेसम्म आफनो प्रदेशका बाँकी जिल्लामा कार्यक्षेत्र विस्तार गर्न पाउने छैनन् । कुनै लघुवित्त संस्था राष्ट्रियस्तरमा स्तरोन्नति हुन चाहेमा मर्जरलाई प्राथमिकता दिनुपर्ने राष्ट्र बैंकको परिपत्रमा उल्लेख छ ।

राष्ट्र बैंकको परिपत्र हेर्न यहाँ क्लिक गर्नुहोस्


पुष्प दुलाल