एनआइसी एशिया, सिटिजन्स र सानिमा बैंकले ब्रोकर लाइसेन्स माग्दै राष्ट्र बैंकमा आवेदन दिए



काठमाडौं । एनआइसी एशिया, सिटिजन्स र सानिमा बैंकले ब्रोकर लाइसेन्स माग गर्दै राष्ट्र बैंकमा आवेदन दिएका छन् । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् नीतिगतरुपमा बैंकलाई ब्रोकर लाइसेन्स दिने व्यवस्था गरेपछि यी ३ बैंकले चासो देखाएका हुन् । देशभर २८ वटा वाणिज्य बैंकहरु सञ्चालनमा छन् ।

मौद्रिक नीतिमा नीतिगत ब्यवस्था गरेपनि पुस ११ गते बुधबार मात्रै राष्ट्र बैंकले परिपत्रमार्फत् बैंकलाई ब्रोकर लाइसेन्स दिने बाटो खोलेको हो । वाणिज्य बैंकहरुले आफ्नो ५१ प्रतिशत सेयर स्वामित्वमा सहायक कम्पनी खोलेर सेयर ब्रोकरको काम गर्न पाउने भएका छन् । यसरी स्थापना गरिएको सहायक कम्पनीले आफ्नो माउ कम्पनीको सेयर किनबेच गर्न भने पाउँदैन ।

‘हामीले निर्देशिका जारी गर्नुअघि नै एनआइसी एशिया, सिटिजन्स र सानिमा बैंकले ब्रोकर लाइसेन्स माग्दै आवेदन दिएका थिए,’ राष्ट्र बैंकका सहप्रवक्ता गोविन्द नागिलाले क्लिकमाण्डूसँग भने, ‘अब यो क्रम बढ्छ ।’

ब्रोकरको कारोबार गर्न बैंकले खोलेको सहायक कम्पनीलाई राष्ट्र बैंक र धितोपत्र बोर्डले नियमन गर्नेछन् ।

लामो समयदेखि लगानीकर्ताहरुले बैंकलाई पनि सेयर ब्रोकरको लाइसेन्स दिनुपर्ने माग राख्दै आएका थिए । सेयर बजारलाई अझ विस्तार गर्नका लागि बैंकलाई ब्रोकरको काम गर्न दिनुपर्ने उनीहरुको बुझाइ थियो ।

राष्ट्र बैंकले पनि लगानीकर्ताहरुको मागलाई सम्बोधन गर्दै गत मौद्रिक नीतिमै बैंकलाई ब्रोकर लाइसेन्स दिने नीतिगत व्यवस्था गरेको थियो ।

‘आवेदन दिने बैंकहरुले छिट्टै सेयर ब्रोकरको कारोबार गर्न अनुमति पाउने छन्,’ सहप्रवक्ता नागिलाले भने ।

सहायक कम्पनी खोल्न राष्ट्र बैंकले अनुमति दिएपछि धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जबाट पनि ब्रोकरको लाइसेन्स लिनुपर्ने हुन्छ ।


पुष्प दुलाल