आधा सिलिन्डर ग्यास पाउँदा उपभोक्तालाई राहत

77
Shares

काठमाडौँ । आधा सिलिन्डर एलपी (खाना पकाउने) ग्यास बिक्री-वितरण हुन थालेपछि उपभोक्ताले राहत महसुस गरेका छन् । मंगलबार काठमाडौँको टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा ग्यास लिन पुगेका उपभोक्ताले संकटको बेला आधा भए पनि ग्यास पाउँदा खुसी व्यक्त गरे।

ग्यासको चरम अभाव भइरहेका बेला आयल निगमले वितरणको व्यवस्था मिलाएपछि उपभोक्ताले निगमप्रति आभार प्रकट गरे । लामो समयदेखि ग्यास नपाएर सास्ती खेपेका उनीहरूले आधा सिलिन्डरले भए पनि तत्कालको समस्या टर्ने बताए ।

ग्यास लिन त्रिपुरेश्वर पुगेका एक उपभोक्ताले भने, ‘कतै ग्यास नपाएर यहाँ आएको हुँ। यहाँ ९५५ रुपैयाँमा आधा सिलिन्डर ग्यास पाइयो । सबैलाई गाह्रो भइरहेको बेला आधा पाए पनि खुसी नै छु, यसले केही दिन काम चल्छ ।’

त्यस्तै, कलंकीकी अर्की उपभोक्ताले स्थानीय डिपोमा १० दिन कुर्दा पनि ग्यास नपाएपछि यहाँ आउनुपरेको पीडा सुनाइन्। ‘डिपोमा नाम लेखेको १० दिन भयो, तर पालो कहिल्यै आएन । आज त भोकै बस्नुपर्ने अवस्था आएपछि यहाँ आइपुगेकी हुँ,’ उनले भनिन्, ‘आधा सिलिन्डर भए पनि पाइयो, यसका लागि निगमलाई धन्यवाद छ।’

यता नेपाल आयल निगमले भने उपभोक्ताको अभाव पूर्ति गर्न वितरण कार्यलाई तीव्रता दिएको दाबी गरेको छ । निगमका प्रतिनिधि विनोदकुमार वैद्यले कुनै पनि उपभोक्ता रित्तो हात फर्कन नपर्ने गरी ग्यास वितरणको व्यवस्था मिलाइएको बताए ।