इन्धनको मूल्य बढेपछि ‘निर्माण होलिडे’को माग

91
Shares

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आन्तरिक निर्वाचन र अन्तर्राष्ट्रिय द्वन्द्वका कारण बजार प्रभावित भएको भन्दै सरकारसँग ‘निर्माण होलिडे’को माग गरेका हुन् । इन्धन र निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धि तथा अभावका कारण अहिले निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै उनले यस्तो माग गरे ।

अध्यक्ष सिंहका अनुसार सरकारको न्यून पुँजीगत खर्च (करिब १९ प्रतिशत मात्र) र बजेट कटौतीको प्रयासले विकास निर्माणको काम अघि बढ्न सकेको छैन । खाडी क्षेत्रको युद्धका कारण विगत १४ दिनदेखि इन्धन आपूर्तिमा समस्या देखिएको र बिटुमिन, डण्डी लगायतका सामग्रीको मूल्य शतप्रतिशतसम्म वृद्धि भएको उनले बताए ।

बजारमा निर्माण सामग्रीको कृत्रिम अभाव सिर्जना गरिएको र ग्यासको अभावले मजदुरहरूलाई काममा लगाउन समेत कठिन भएको व्यवसायीहरूको गुनासो छ । यस्तो जटिल परिस्थितिमा कामलाई निरन्तरता दिन नसकिने भन्दै व्यवसायीहरूले राहतका लागि ‘निर्माण होलिडे’ घोषणा गर्न सरकारसँग माग गरेका छन् ।