प्रचण्डले गरेको नियुक्त खारेज गर्न ओली सरकारले चाल्यो यस्तो कदम !



काठमाडौं । केपी शर्मा ओली र पुष्पकमल दाहाल दुबैं जना नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष हुन् ।

गत चुनाबका बेला गठबन्धन बनाएर अघि बढेका तत्कालीन एमाले र माओवादी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी बनेको हो ।

ओली अहिले प्रधानमन्त्री छन् । तर, ओली सरकारले आफ्नै पार्टीका अध्यक्ष प्रचण्डले गरेको नियुक्ति खारेज गर्न लागेको छ ।

विषय हो बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंको पद खारेज गर्ने उदेश्यले ओली सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा दर्ता गरेको विधेयकको ।

अर्थमन्त्री खतिवडाले संसदमा दर्ता गराएको बीमा समितिलाई प्राधिकरणमा लैजाने प्रस्ताब पारित भएकै दिनदेखि बीमा समितिका अध्यक्ष लगायत सञ्चालकहरुको पद स्वतः खारेज हुनेछ ।

तत्कालीन प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री कृष्णबहादुर महराले नियुक्त गरेका चिरिञ्जीबी चापागाईंलाई सरकारले हटाउन लागेको हो ।

देउवा सरकारले गरेका नियुक्त धमाधम उल्ट्याइरहेको ओली सरकारले प्रचण्डले गरेको नियुक्ति खारेज गर्न ऐन ल्याएर घुमाउरो बाटो रोजेको हो ।

बीमा समितिलाई प्राधिकरणमा लैजाने प्रस्ताबको मस्यौदा यसअघि नै बनेको थियो । उक्त मस्यौदामा अहिलेको सञ्चालक समितिलाई नै निरन्तरता दिने उल्लेख थियो ।

तर, अर्थमन्त्री खतिवडाले अहिलेकै सञ्चालक समितिलाई निरन्तरता दिने प्राबधानलाई हटाएर नयाँ सञ्चालक समिति  गठन गर्ने प्रस्ताब गरेका हुन् ।

राष्ट्र बैंकका पुर्व गभर्नरसमेत रहेका अर्थमन्त्री खतिवडाले राष्ट्र बैंकका पुर्व निर्देशकसमेत रहेका चापागाईंलाई हटाउने उद्देश्यले मात्रै यस्तो ब्यवस्था गर्न प्रस्ताब गरेको अर्थ मन्त्रालय स्रोतको दाबी छ ।

‘खतिवडा अर्थमन्त्री भएर आएदेखि नै बीमा समितिको अहिलेको नेतृत्वलाई सकरात्मकरुपमा हेर्नुभएको छैन,’ स्रोतले भन्यो, ‘प्रचण्ड सरकारले नियुक्त गरेका चापागाईंलाई हटाएर आफू निकट व्यक्तिलाई नियुक्ति गर्ने नियोजित योजनाअनुसार नै यस्तो गरिएको हो ।’

पहिले नै तयार भएको मस्यौदामा भएका अरु प्रस्ताब नचलाउनु तर सञ्चालक समितिलाई निरन्तरता दिने प्रस्ताब हटाउनुले अर्थमन्त्रीको नियत प्रष्ट पार्ने स्रोतको दाबी छ ।

अर्थमन्त्रीले हटाउने तयारी गरेपछि बीमा समिति अध्यक्ष चापागाईं र अर्थमन्त्री खतिवडाबीच सम्बन्ध झन चिसिएको छ ।

अर्थमन्त्री खतिवडा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष ओलीका विश्वासपात्र मानिन्छन् भने बीमा समितिका अध्यक्ष चापागाईं नेकपाका अध्यक्ष प्रचण्डका विश्वासपात्र मानिन्छन् ।

एउटै पार्टी भएर पनि गुटको संरक्षणको राजनीतिले नेकपाभित्र बलियो पक्कड जमाउँदै लगेको यो त एउटा उदाहारण मात्रै भएको नेकपाकै नेताहरु गुनासो गर्छन् ।


पुष्प दुलाल