
काठमाडौं । काठमाडौं र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको उद्घाटन गरिएको छ ।
करिब २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्ग शिलान्यासको ७ वर्षपछि सोमबार उद्घाटन गरिएको हो ।
नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनील लम्सालले सुरुङको उद्घाटन गरेका हुन् ।
पहिलो चणमा आपतकालीन प्रयोजनमा प्रयोग हुने सवारीले मात्र सुरुङ प्रयोग गर्न पाउँछन् । त्यसपछि चरणबद्ध ढंगले अन्य निजी र सार्वजनिक सवारीले सुरुङ मार्गको प्रयोग गरेर काठमाडौं आउजाउ गर्न पाउने छन् । सर्वसाधारणले सुरुङ तीन महिनापछि प्रयोग गर्न पाउने जनाइएको छ ।
यो सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक गरेको छ । मन्त्रालयले राजपत्रमा सूचना गरी नेपाल सरकार मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नागढुंगा सुरुङमार्ग खण्डमा चल्ने सवारी साधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णयअनुसार दर सार्वजनिक गरेको जनाएको छ ।
मन्त्रिपरिषद्ले गत साउन २६ गते उक्त निर्णय गरेको र सोही आधारमा राजपत्रमा सूचना प्रकाशित गरी दर सार्वजनकि गरिएको हो ।
जसअनुसार कार, भ्यान, पिकअप ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन काठमाडौँ प्रवेश गर्दा ६५ र बाहिरिँदा ६० तोकिएको छ ।
यस्तै मिनी बस, मिनी टिपर/ट्रकको प्रवेशका लागि ११५ र बाहिरिँदा ८० तथा बस, ट्रक (सिङ्गल रियर एक्सल) प्रति सवारीसाधन प्रवेश गर्दा २६० र बाहिरिँदा २०० शुल्क तोकिएको छ ।
मल्टी एक्सल ट्रक/सवारीसाधन तथा भारी उपकरणको हकमा प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० तोकिएको छ ।





प्रतिक्रिया