विश्वकपमा अर्जेन्टिनालाई ‘फ्रि-इन्ट्री’, आयोजक हुँदा पनि इंग्ल्याण्डले युरोका लागि छनोट खेल्नुपर्ने

1.1k
Shares

एजेन्सी । आगामी ठूला फुटबल प्रतियोगिताहरूको आयोजना र छनोट प्रक्रियालाई लिएर फुटबल जगतमा नयाँ विवाद उत्पन्न भएको छ ।

सन् २०३० को विश्वकपका लागि अर्जेन्टिनाले ‘विशेष सुविधा’ अन्तर्गत सिधै स्थान सुरक्षित गर्दा, सन् २०२८ को युरो कप आयोजक इंग्ल्याण्डले भने कठिन छनोट प्रक्रिया पार गर्नुपर्ने भएको छ।

सन् २०३० को विश्वकप फुटबलको शताब्दी संस्करण स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्दैछन् । तर, प्रतियोगिताको १०० वर्ष पुगेको अवसरमा अर्जेन्टिना, उरुग्वे र पाराग्वेमा पनि एक-एक खेल सञ्चालन गरिनेछ । केवल एक खेल आयोजना गरेकै भरमा अर्जेन्टिनासहित तीनवटै दक्षिण अमेरिकी राष्ट्रलाई फिफाले सिधै विश्वकपमा प्रवेश दिएको छ ।

मैदान भित्र र बाहिरको व्यवहारका कारण अर्जेन्टिनाको आलोचना भइरहेको र उनीहरूलाई प्रतिबन्ध लगाउन माग गर्दै लाखौंले निवेदन दिइरहेको समयमा, अर्जेन्टिनाले पाएको यो ‘फर्स्ट क्लास टिकट’ प्रति फुटबल प्रेमीहरूले आक्रोश व्यक्त गरेका छन् ।

इंग्ल्याण्डमाथि युइएफएको कडाइ

अर्कोतर्फ, सन् २०२८ को युरो कप आयोजक राष्ट्र इंग्ल्याण्डले भने आयोजक भए पनि सिधै खेल्न पाउने छैन । युरोपेली फुटबलको नियामक निकाय यूईएफएको नयाँ नियम अनुसार इंग्ल्याण्डले अन्य ५० राष्ट्रहरूसँगै समूह चरणको छनोट खेल खेल्नुपर्नेछ । इंग्ल्याण्डले वेम्बली र टोटनह्याम हट्सपर जस्ता आफ्नै प्रतिष्ठित रंगशालामा खेल आयोजना गरे पनि उसले पहिलेको जस्तो विशेष सुविधा पाउने छैन।

युरो २०२८ मा कुल २४ टोलीले सहभागिता जनाउनेछन् । जसमध्ये २० टोली छनोट चरणबाट छानिनेछन् । बाँकी २ वटा स्थान आयोजकहरूका लागि ‘रिजर्भ’ राखिएको छ । यदि इंग्ल्याण्ड, स्कटल्याण्ड वा वेल्स जस्ता आयोजक राष्ट्रहरू छनोट चरणबाट छानिन असफल भएमा मात्र ती दुई सुरक्षित सिटको प्रयोग गरिनेछ ।

यदि सबै आयोजकहरू असफल भएमा, फिफा वरीयतामा अगाडि हुने दुई टोलीले मात्र मौका पाउनेछन् । यद्यपि, विश्वको उत्कृष्ट टोलीमध्ये एक इंग्ल्याण्डले छनोट चरण पार गर्न नसकेमा त्यसले टोलीको क्षमतामाथि नै गम्भीर प्रश्न उठाउने विश्लेषण गरिएको छ ।

आफ्नै देशमा हुने प्रतियोगिताका लागि इंग्ल्याण्डले पसिना बगाउनुपर्ने तर अर्जेन्टिनाले भने एउटा खेल आयोजना गरेकै भरमा विश्वकपमा स्थान पक्का गरेको भन्दै यतिबेला खेल जगतमा यसको चर्को आलोचना भइरहेको अंग्रेजी पत्रिका द सनलले उल्लेख गरेको छ ।