
सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ ।
आइतबार राति दुई समूहबीच भएको झडपपछि उत्पन्न तनावलाई शान्त पार्न स्थानीय प्रशासनले सोमबार बिहानैदेखि ५ स्थानमा कर्फ्यु जारी गरेको थियो । तर, प्रदर्शनकारीहरूले कर्फ्युको अवज्ञा गर्दै सडकमा उत्रिएर टायर बाल्न र तोडफोड गर्न थालेपछि परिस्थिति नियन्त्रणबाहिर जान लागेको भन्दै सेना बोलाइएको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले भिड नियन्त्रण गर्न कठिन भएपछि बख्तरबन्द गाडी र अत्याधुनिक हतियारसहित नेपाली सेनाको टोली मैदानमा खटिएको छ । सेनाको उपस्थिति र सक्रियतापछि तनावग्रस्त क्षेत्रको अवस्था क्रमशः नियन्त्रणमा आउन थालेको प्रशासनले जनाएको छ।
सेनाको टोली पुग्नुअघि नै प्रदर्शनकारीले कप्तानगन्जका पाँचवटा पसलमा क्षति पुर्याएका थिए। प्रहरीका अनुसार एउटा फार्मेसी, एउटा मोटरसाइकल मर्मत गर्ने ग्यारेज र तीनवटा किराना पसलमा तोडफोड गरी भित्र रहेका सामान सडकमा निकालेर आगो लगाइएको थियो। सेनाले फिल्ड सम्हालेपछि प्रदर्शनकारीहरू तितरबितर हुन थालेका छन्।
आइतबार राति दुई समूहबीच भएको झडपलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगन्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । उक्त घटनामा ९ जना सर्वसाधारणसहित सुरक्षाकर्मी गरी २२ जनाभन्दा बढी घाइते भएका छन्।
घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको र उनीहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।





प्रतिक्रिया