आलोचनापछि सिक्कामा गुम्बा राख्ने निर्णयबाट पछि हट्यो सरकार,  टिपेक्स लगाउने कि फेरि क्याबिनेट लैजाने भन्नेमै अन्योल

अब चुच्चे नक्सा र आकाश भैरव

1k
Shares

काठमाडौं । सरकारले एक रुपैयाँको नयाँ सिक्काको डिजाइनमा फेरबदल गर्दै नेपालको चुच्चे नक्सा र आकाश भैरवको आकृति समावेश गर्ने भएको छ ।

मुस्ताङको लो–घेकर (घार) गुम्बाको तस्बिर राख्ने यसअघि वालेन्द्र शाह (बालेन) को निर्णय विवादित बनेपछि र चौतर्फी आलोचना भएपछि सरकारले उक्त निर्णय सच्याउँदै नयाँ डिजाइन अघि बढाएको हो ।

अर्थ मन्त्रालय स्रोतका अनुसार नयाँ डिजाइनलाई अन्तिम रूप दिइएको छ । स्रोतका अनुसार पहिलाकै निर्णयमाथि टिपेक्स लगाउने वा पुनः मन्त्रिपरिषद् बैठकमा स्वीकृतिका लागि प्रस्तुत गरिने भन्ने अझै तय भइसकेको छैन ।

यसअघि गत असार ३२ गतेको मन्त्रिपरिषद् बैठकले १ र २ रुपैयाँ दरका सिक्काको डिजाइन परिमार्जन गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिइसकेको छ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै १ र २ रुपैयाँका नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय भएको जानकारी दिएका थिए ।

राष्ट्र बैंकको सञ्चालक समितिले सिफारिस र अर्थ मन्त्रालयको प्रस्तावअनुसार मन्त्रिपरिषद्ले सो डिजाइन स्वीकृत गरेको थियो । जसअनुसार उपल्लो मुस्ताङमा रहेको ८ औं शताब्दीको ऐतिहासिक लो–घेकर गुम्बाको तस्बिर राख्ने निर्णय भएको थियो ।

तर, उक्त सिक्काबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको ‘चुच्चे नक्सा’ हट्न लागेको चर्चा चुलियो । पूर्वउपप्रधानमन्त्री भीम रावल लगायतका नेताहरूले राष्ट्रियताको विषय उठाउँदै सरकारको आलोचना गरे ।

मुस्ताङको घार गुम्बा विश्वकै सबैभन्दा पुराना गुम्बाहरूमध्ये एक मानिन्छ । विवादमा लो–घेकरसम्बन्धी दुईवटा मुख्य विषय आए । नयाँ डिजाइनमा नक्सा हटाएर गुम्बा मात्र राख्न खोजिएको भन्दै नागरिकस्तर र राजनीतिक वृत्तमा चर्चा चुलियो ।

दोस्रो, भूराजनीतिक संवेदनशीलता । लो–घेकर गुम्बा २०७२ को भूकम्पपछि अमेरिकी दूतावासमार्फत करिब ३ करोड रुपैयाँको सहयोगमा पुनर्निर्माण गरिएको थियो । चीनको सिमाना नजिकै अमेरिकी लगानीमा बनेको संरचनालाई राष्ट्रिय सिक्कामा अंकित गर्दा छिमेकी मुलुक चीन चिढिन सक्ने र तिब्बत मामिलामा संवेदनशीलता बढ्ने भन्दै सुरक्षा तथा कूटनीतिक विज्ञहरूले समेत प्रश्न उठाएका थिए । सोही कारण मन्त्रिपरिषद्ले स्वीकृत गरेको डिजाइन पुनः परिमार्जन गरिएको हो ।

१ र २ रुपैयाँको सिक्काको तौल, डिजाइन र आकारमा परिवर्तन हुन लागेको हो । सिक्काको नयाँ डिजाइनमा चुच्चे नक्सा र आकाश भैरवको चित्र रहनेछ । सिक्कामा ६४ वटा थोप्ला यथावत् नै राख्न लागिएको छ, जुन ६४ योगिनीको प्रतीक मानिन्छ ।

खासगरी १ रुपैयाँको सिक्का तयार पार्दा त्योभन्दा बढी मूल्य पर्न गएकाले भार कम गर्ने गरी राष्ट्र बैंकले पहिला नै तौल र आकारमा परिमार्जन गर्ने तयारी गरेको थियो । अब बन्ने सिक्काहरू मिश्र धातु (एलोय) को सट्टा स्टेनलेस स्टिलबाट निर्माण गरिनेछ।

हाल साना सिक्काको अंकित मूल्यभन्दा यसको उत्पादन लागत बढी छ । १ रुपैयाँको सिक्का तयार गर्न २ देखि २.५ रुपैयाँसम्म खर्च लाग्ने देखिएको छ । नोटको तुलनामा सिक्काको मौद्रिक दायित्व फरक हुन्छ। नोट छाप्दा बैंकले त्यस बराबरको जमानत राख्नुपर्छ, तर सिक्काको हकमा निष्कासन भएकै दिन राष्ट्र बैंकले त्यसलाई खर्चको रूपमा लेख्ने गर्दछ ।

नयाँ सिक्का उत्पादनका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिनेछ। बोलपत्रमा सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने कम्पनीलाई सिक्का मुद्रणको जिम्मा दिइनेछ। टेन्डर प्रक्रियाबाट आउने हुनाले सिक्काको अन्तिम लागत पछि मात्र यकिन हुनेछ।

यसअघि १ रुपैयाँको सिक्कामा सगरमाथा र २ रुपैयाँको सिक्कामा जानकी मन्दिरको चित्र रहँदै आएको थियो।