बुबाको पदचाप पछ्याउँदै मेस्सी-रोनाल्डोसहित विश्वविख्यात खेलाडीका छोरा, विरासत धान्लान् ?

रोनाल्डिन्होका छोराको करियर अन्योलमा, जिदानका ४ छोरा फुटबलमा

287
Shares

काठमाडौं । फुटबल संसारमा एउटा नयाँ अध्याय लेखिँदैछ । मेसी, रोनाल्डो, जिदान, रूनी, बेकम जस्ता दिग्गजहरूले मैदानमा इतिहास रचिसकेका छन् र अब उनीहरूका छोराहरूले पनि उही मैदानमा आफ्नै पहिचान बनाउने प्रयासमा जुटेका छन् ।

कोहीले एकेडेमी च्याम्पियनसिपहरूमा ट्रफी उठाइरहेका छन् भने कोही सिनियर टिमको ढोकैमा पुगिसकेका छन् । तर प्रश्न उठ्छ- के उनीहरूले साँच्चै बुबाको उचाइ छुन सक्लान् त ?

थियागो मेसी: निरन्तर च्याम्पियन बन्दै

लियोनेल मेसीका जेठा छोरा थियागो हाल १३ वर्षका भए । मेस्सीले खेल्ने अमेरिकी क्लब इन्टर मियामीको एकेडेमीमा मिडफिल्डरको रूपमा खेल्छने थियागोले बुबाकै प्रतिष्ठित नम्बर १० जर्सी लगाउँछन् ।

उनको खेल शैली भने बुबाभन्दा फरक मानिन्छ- गोल गर्ने र ड्रिबल गर्नेभन्दा बढी सिर्जनशीलता, दृष्टिकोण र डिफेन्सिभ वर्करेटका लागि उनी चिनिन्छन् ।

जुनियर लिगमा प्रदर्शन: थियागोको ट्रफी संग्रह निकै प्रभावशाली छ। उनले वेस्टन कप अन्डर-१२ (२०२४), वेस्टन कप अन्डर-१३ (२०२५), ड्रिम्स कप च्याम्पियनसिप (२०२५ अन्त्यतिर), फेरि ड्रिम्स कप (मे २०२६), र २०२६ को एमआईसी फुटबल पुन्टा केनअन्डर-१४ च्याम्पियनसिप जितेका छन् ।

यो अन्तिम टुर्नामेन्ट डोमिनिकन रिपब्लिकको पुन्टा कानामा जुन २४ देखि २९ सम्म आयोजना भएको थियो जसमा २० देशका १०३ टिम, २००० भन्दा बढी खेलाडी र २५० भन्दा बढी म्याचहरू भएका थिए । रोचक कुरा यो च्याम्पियनसिप जित्दा उनका बुबा मेस्सी टेक्ससको डलासमा जोर्डन विरुद्ध अर्जेन्टिनाको तर्फबाट खेल्दै थिए ।

तेह्र वर्षको उमेरदेखि इन्टर मियामीका एकेडेमी टिमहरू अमेरिका र क्यानडाको सर्वोच्च युवा विकास लिग एमएलएस नेक्स्टमा प्रतिस्पर्धा गर्छन् ।

यसै सिजनमा थियागोको टिम सल्ट लेक सिटीमा एमएलएस नेक्स्ट फाइनलसम्म पुगेको थियो तर ओर्लान्डो सिटी एससीसँग ३-२ ले हारेर उपविजेता भयो । उनी नोभेम्बरमा १४ वर्ष पुग्दैछन्।

अहिलेसम्म थियागो मेसीले अर्जेन्टिनाको आधिकारिक जुनियर राष्ट्रिय टिमबाट भने खेलेका छैनन् । उनले अर्जेन्टिना खेल्ने इच्छा भने स्पष्ट रूपमा व्यक्त गरेका छन् ।

थियागो जन्मले स्पेनिस हुन् (बार्सिलोनामा जन्मेका) र स्पेनको लागि पनि खेल्न पाउँछन् तर उनले स्पेनी टिमको तर्फबाट खेल्ने प्रस्तावलाई स्पष्ट रूपमा अस्वीकार गर्दै अर्जेन्टिनाकै लागि खेल्ने दृढ इच्छा जनाएका छन् । एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘अर्जेन्टिनाको तर्फबाट… स्पेनमा जन्मेको हो, हो। तर मलाई कसैले मनाउन सक्छ जस्तो लाग्दैन ।’

२०३० को विश्वकपमा उनी १८ वर्षका हुनेछन् भन्दै फ्यानहरूले सुरुदेखि नै अर्जेन्टिना सिनियर टिममा उनको सम्भावित प्रवेशको कल्पना गर्न थालेका छन् ।

भविष्यमा अर्जेन्टिना फुटबल संघले उनलाई बोलाउने सम्भावना नकार्न नसकिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मातेओ र सिरो मेसी: फरक-फरक शैली

मातेओ मेसी हाल १० वर्षका भए । आफ्नो हास्यबोध र अभिव्यक्तिपूर्ण व्यक्तित्वका लागि परिवारमा सबैभन्दा चिनिने अनुहार बनेका छन् उी। मैदानमा भने गोल गर्न र प्रतिपक्षको पोस्ट नजिक रुचाउँछन्। मेसीले उनलाई ठ्याक्कै आफूजस्तै अत्यन्त प्रतिस्पर्धी र हार मन नपराउने बताएका छन् ।

सिरो मेसी हाल ८ वर्षका भए । सिरो सबैभन्दा विस्फोटक र एक-एक (वान अन वान) खेल अवस्थामा रुचि राख्नेमा मानिन्छन्, यद्यपि यो उमेरमा शैली र भूमिका पूर्ण रूपमा बदलिन सक्छ।

मेस्सी भने आफ्ना छोराहरूले जे मन पराउँछन् त्यही अपनाउन चाहन्छन् । फुटबल खेल्छन् तापनि यसलाई पेशेवर बाध्यताको रूपमा उनले सार्वजनिक रूपमा प्रस्तुत गरेका छैनन् ।

क्रिस्टियानो रोनाल्डो जुनियर: बुबासँगै मैदानमा उत्रने सपना नजिकिँदै

रोनाल्डो परिवारमा सबैभन्दा चर्चित नाम हो,क्रिस्टियानो रोनाल्डो जुनियर, ‘क्रिस्टियानिन्यो’ ।

हाल १६ वर्षका भएका रोनाल्डो जुनियर बुबाले खेलिरहेको साउदी लिग क्लब अल नासरका लागि फर्वार्डको रूपमा खेल्छन् ।

जुनियर लिगमा प्रदर्शन: अप्रिल २०२६ मा अल नासर यू-१६ का लागि अल फायाविरुद्ध ४-३ को जितमा उनले ह्याट्रिक गरेका थिए ।

उनले पन्ध्र वर्षकै उमेरमा तीनवटा अन्तर्राष्ट्रिय युवा ट्रफी जितिसकेका छन्, जुन बुबाले सोही उमेरमा हासिल गरेको संख्यालाई समेत उछिन्छ ।

रोनाल्डो जुनियर पोर्चुगल अन्डर-१६ टिमको तर्फबाट पहिलोपटक बोलाइएका छन् र अन्टाल्यामा हुने फेडेरेसन्स कपमा उनी पर्ने सम्भावना उच्च रहेको जनाइएको छ ।

रोनाल्डो जुनियरको ६ फिट १ इन्च उचाइले सिनियर स्तरको फुटबलमा आवश्यक हेड उपस्थिति र शारीरिकता दिने विश्वास गरिएको छ ।

बुबासँगै खेल्ने सम्भावना: यो सिजनको सबैभन्दा ठूलो चर्चा नै यही हो। अल नासरले २०२६/२७ सिजनमा उनलाई सिनियर टिमको तालिममा समावेश गर्ने विचार गरिरहेको फब्रिजियो रोमानो लगायत पत्रकारहरूले पुष्टि गरेका छन् ।

रोनाल्डो सिनियरको सम्झौता जुन २०२७ सम्म रहेकाले आगामी सिजन दुवैले कानुनी रूपमा एकसाथ खेल्न सक्ने उपयुक्त समय हो।

मार्च २०२६ मा उनले रियल मड्रिडको अन्डर-१६ स्क्वाडसँग ला फाब्रिका एकेडेमीमा औपचारिक तालिम पनि लिएका थिए, यद्यपि यो अल नासरसँगको सम्झौता कायमै राखेर गरिएको छोटो मूल्याङ्कन चरण मात्र थियो । रिपोर्टहरूका अनुसार रियल मड्रिड, बायर्न म्युनिख र पीएसजी जस्ता युरोपका ठूला क्लबहरूको चासो पनि उनीमा छ । जसले सम्भवतः बुबासँगै खेल्ने सपना पूरा नहुन सक्ने अवस्था पनि सिर्जना गर्न सक्छ ।

क्रिस्टियानो रोनाल्डोले छोरालाई दबाब दिन नचाहेको बताएका छन् र छोरा व्यवसायी खेलाडी बने खुसी हुनेछन् भनेर बताएका छन् ।

कै रूनी: म्यानचेस्टर युनाइटेडमा उदीयमान तारा

वेन रूनीका जेठा छोरा कै रूनी १६ वर्षका भए । म्यानचेस्टर युनाइटेडको अन्डर-१८ टिममा उनी खेल्ने गर्छन् ।

क्लबले उनलाई हालसालै प्रतिष्ठित नम्बर ७ जर्सी दिएको छ, जुन डेभिड बेकम र क्रिस्टियानो रोनाल्डोले पहिले लगाएका थिए।

२०२० मा सफल ट्रायलपछि उनी रेड डेभिल्ससँग जोडिएका थिए र सुरुमा बुबाकै नम्बर १० जर्सी पाएका थिए । हाल उनी सिनियर टिममा पदार्पण गर्ने पर्खाइमा छन् ।

रोमियो बेकम: फुटबलदेखि मोडलिङसम्मको यात्रा

डेभिड बेकमका दोस्रो छोरा रोमियोको बाटो भने बढी घुमाउरो रहेको छ । आर्सेनल एकेडेमीबाट २०१५ मा बाहिरिएपछि उनले टेनिस रोज्ने निर्णय गरे र एन्डी मरेसँगै तालिम पनि लिएका थिए, तर पाँच वर्षपछि फेरि फुटबलमा फर्किए । पछि उनले बुबाकै क्लब इन्टर मायामीमा जोडिए र जनवरीमा गैर-प्रतिस्पर्धी सिनियर डेब्यु पनि गरे । त्यसपछि ब्रेन्टफोर्डको बी टिममा गए । हालसालैका रिपोर्टहरूका अनुसार भने उनी अहिले मोडलिङतर्फ बढी आकर्षित भइरहेका छन्, जसले उनको फुटबल भविष्यमाथि प्रश्नचिह्न खडा गरेको छ।

जिदान परिवार: चारै छोरा फुटबलमा

जिनेदिन जिदानका चारै छोरा फुटबलमा सक्रिय छन्, जुन आफैंमा एउटा दुर्लभ उदाहरण हो । थियो जिदान रियल मड्रिड क्यास्टिलामा मिडफिल्डरको रूपमा खेल्छन्, एन्जो फुएनलाब्राडामा र लुका गोलकिपरको रूपमा एइबारमा खेल्छन् ।

लुकाले गोलकिपर बन्ने निर्णय गरेर बुबासँगको प्रत्यक्ष तुलनाबाट बच्ने बुद्धिमानी देखाएको मानिन्छ, किनभने बुबा जिनेदिन विश्वकै उत्कृष्ट खेलाडीहरूमध्ये गनिन्छन् ।

लुकाले यसपटकको विश्वकपमा अल्जेरियाबाट विश्वकप खेलेका थिए । लुका फ्रान्समा जन्मेका हुन् र सुरुमा फ्रान्सको युवा टिमहरूको तर्फबाट खेलेका थिए, तर सिनियर टिमको लागि कहिल्यै खेलेनन्। बुबातिरका हजुरबुबा-हजुरआमा अल्जेरियाको काबिली क्षेत्रबाट फ्रान्स आएकाले उनी अल्जेरियाको लागि योग्य थिए।

सेप्टेम्बर १९, २०२५ मा फीफाले उनको राष्ट्रियता परिवर्तनलाई स्वीकृति दियो र अक्टोबर १४, २०२५ मा युगान्डा विरुद्धको विश्वकप छनोट म्याचबाट उनले अल्जेरियाको तर्फबाट डेब्यु गरे।

अरू को को छन् ?

लुइस सुआरेजका छोरा बेन्जामिन सुआरेज इन्टर मियामी एकेडेमीमै थियागो मेसीसँगै खेल्छन् र मेसी आफैं उनको च्याम्पियनसिप हेर्न मैदानमा पुगेका थिए ।

इटालियन फुटबलका उदाहरण: सफलता र संघर्ष दुवै

डेनियल माल्दिनी (पाओलो माल्दिनीका छोरा) यस सूचीमा सबैभन्दा सफल उदाहरणमध्ये पर्छन् । एसी मिलानकै एकेडेमीबाट माथि उठेर उनी १८ वर्षकै उमेरमा सिनियर स्क्वाडमा समावेश भई सिनियर डेब्यु गरेका थिए । उनका हजुरबुबा चेजारे माल्दिनीले पनि मिलानसँगै च्याम्पियनसिप जितेका थिए जसले माल्दिनी परिवारको लगातार तीन पुस्ता मिलानसँग जोडिएको इतिहास बनाउँछ ।

म्याक्सिमिलियन र भिन्सेन्ट इब्राहिमोभिच (ज्लाटान इब्राहिमोभिचका छोराहरू)

दुवै भाइ बुबाकै क्लब एसी मिलानको युवा टिममा जोडिएका थिए, ठूला दाजु म्याक्सिमिलियन यू१७ मा र भाइ भिन्सेन्ट यू १५ मा।

म्याक्सिमिलियन १९ वर्षका भए र उनी मिलान फुतुरोमा खेल्दैछन् । उनी बुबाकै अर्को पुरानो क्लबमा सर्ने कुराकानी चलिरहेको छ ।

क्रिस्तियान तोत्ती (फ्रान्सेस्को तोत्तिका छोरा) को कथा भने दुःखद छ ।

बुबासँगको तुलना र दबाबका कारण जम्मा १९ वर्षकै उमेरमा उनले व्यवसायीक फुटबल छाडेका छन् । यसले प्रसिद्ध नाम बोक्नु सधैं वरदान मात्र होइन, ठूलो मानसिक दबाब पनि हो भन्ने देखाउँछ ।

दक्षिण अमेरिकी दिग्गजका सन्तान

जोआओ मेन्देस (रोनाल्डिन्होका छोरा)

मेन्देसले बार्सिलोना छाडेर इङ्गल्याण्डको बर्नलीसँग दुई वर्षे सम्झौता गरे, तर हालसम्म च्याम्पियनसिपमा एक मिनेट पनि खेल्न पाएका छैनन् ।

उनले क्लबको युवा टिमको लागि खेलेको प्रमाण समेत भेटिँदैन। उनी आफूलाई ‘जोआओ नै हुन चाहन्छु, अरू केही भन्दा पनि पहिले’ भन्ने गर्छन्, तर करियर अन्योलमै छ।

लुका सेलिको लेइते (काकाका छोरा)

रोनाल्डो जुनियर र मेसीका छोराहरूभन्दा अलग्गै आफ्नै पहिचानका साथ चर्चामा आएका छन् ब्राजिलियन पूर्वस्टार काकाका छोरा लेइते । मिलान फ्यानहरूले उनलाई भविष्यको तारा मान्न थालेका छन्।

डेभी मेलो (फेलिपे मेलोका छोरा)

बुबाकै क्लब फ्लुमिनेन्सेमा मिडफिल्डरको रूपमा खेल्छन्, १९ वर्षका छन् र यसै वर्ष तीनवटा म्याचमा सिनियर स्क्वाडमा समावेश भएका थिए ।

आइज्याक द्रोग्बा (डिडियर द्रोग्बाका छोरा)

करियर निकै घुमाउरो रहेको छ । सुरुमा चेल्सी एकेडेमीबाट बुबाकै पुरानो क्लब फ्रान्सको गिङ्गाम्पमा गएका थिए तर २०२४ देखि कुनै क्लब नभएपछि हालै मात्र आर्मेनियाको दोस्रो डिभिजन क्लब एफसी हायाकसँग सम्झौता गरेका छन् जुन बुबाको उचाइभन्दा निकै तल्लो स्तर हो र यसले ‘प्रतिभाशाली बुबाका छोरा सधैं सफल हुँदैनन्’ भन्ने यथार्थ पनि देखाउँछ ।

के उनीहरूले बुबाको उचाइ छुन सक्लान्?

फुटबल विशेषज्ञहरूको साझा मत के छ भने, प्रतिभा र सम्भावना छँदाछँदै पनि यी छोराहरूले बुबाको तहसम्म पुग्नु अत्यन्तै कठिन चुनौती हो । यसका केही प्रमुख कारणहरू छन् ।

थियागो मेसी र क्रिस्टियानो रोनाल्डो जुनियर दुवैले आफ्नो उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । ट्रफीहरू जितेका छन्, राष्ट्रिय युवा टिमहरूमा ठाउँ बनाएका छन् र अन्तर्राष्ट्रिय स्तरका क्लबहरूको चासो पाएका छन् । यो उमेरमा यस्तो प्रदर्शन सामान्यतया राम्रो संकेत मानिन्छ, तर किशोरावस्थादेखि सिनियर स्तरसम्मको यात्रामा धेरै प्रतिभाशाली खेलाडीहरू पनि हराउने गरेका छन् ।

रोनाल्डो जुनियरको हकमा उनको उचाइ र शारीरिक बनावट (६ फिट १ इन्च) पहिले नै वयस्क खेलाडीसरहको देखिन्छ, जुन सिनियर फुटबलमा सर्न सजिलो बनाउने प्रमुख कारक हो । मेसीका छोराहरू भने अझै साना (८-१३ वर्ष) भएकाले शारीरिक विकासको वास्तविक तस्बिर आगामी वर्षहरूमा मात्र स्पष्ट हुनेछ र यहीँनेर एउटा रोचक तथ्य छ: लियोनेल मेसी आफैं सानो उमेरमा वृद्धि हर्मोनको समस्याबाट गुज्रिएका थिए, त्यसैले उनका छोराहरूको शारीरिक विकास हेर्न रोचक हुनेछ ।

शैली फरक, तुलना अपरिहार्य

दुवै परिवारका छोराहरूले आफ्नै फरक खेल शैली विकास गरिरहेका छन् । थियागो मेसी बुबाभन्दा बढी रचनात्मक/डिफेन्सिभ मिडफिल्डर देखिन्छन् भने रोनाल्डो जुनियर विंगर/फर्वार्ड स्थानमा बुबाकै आक्रामक शैली अपनाउँदै छन् । तर नाम र जर्सी नम्बरले सधैं तुलनाको दबाब सिर्जना गरिरहन्छ, जुन मानसिक रूपमा सामना गर्न सजिलो हुँदैन ।

दुवै परिवारका छोराहरूले विश्वकै उत्कृष्ट एकेडेमी सुविधा र प्रशिक्षण पाइरहेका छन् यो सामान्य खेलाडीहरूले नपाउने ठूलो फाइदा हो। तर यही सुविधाले नै कहिलेकाहीं वास्तविक संघर्ष र भोकको कमी ल्याउन सक्छ, जुन बुबाहरूको सफलताको एउटा मुख्य आधार थियो- गरिबीबाट माथि उठ्ने संघर्ष।

फुटबल इतिहासमा दिग्गजका छोराहरूले व्यवसायीक तहसम्म पुगेका थुप्रै उदाहरण छन् (जिदान परिवार, माल्दिनी परिवार, टिमोथी वेह), तर बुबाकै उचाइमा पुगेको उदाहरण विरलै भेटिन्छ ।

एर्लिङ हलान्डका बुबा अल्फे-इन्गे हलान्ड एक सामान्य खेलाडी थिए तर छोराले उल्टै बुबालाई उछिनेका छन् । यसले देखाउँछ कि आनुवंशिकता र वातावरणले मात्र निर्णय गर्दैन व्यक्तिगत लगन र भाग्यले पनि ठूलो भूमिका खेल्छ ।

क्रिस्तियान तोत्तीले दबाबका कारण छोटो उमेरमै फुटबल छाडे, जोआओ मेन्देस (रोनाल्डिन्होका छोरा) र आइज्याक द्रोग्बा (डिडियर द्रोग्बाका छोरा) जस्ता खेलाडीहरू क्लबविहीन भएर तल्लो स्तरका लिगहरूमा संघर्ष गरिरहेका छन् । यसले प्रसिद्ध नाम र उत्कृष्ट सुविधाले मात्र सफलता ग्यारेन्टी गर्दैन, ठूलो नामको दबाब बेहोर्नु आफैंमा ठूलो चुनौती हो भन्ने देखाउँछ ।

हाल स्पष्ट देखिने संकेतका रुपमा थियागो मेसी र रोनाल्डो जुनियर सबैभन्दा उन्नत अवस्थामा छन् । आगामी १-२ वर्षभित्र सिनियर वा उच्च स्तरको खेलमा पदार्पण गर्ने उनीहरूको सम्भावना बढी छ। तर बुबाहरूले हासिल गरेको बालोन डी’ओर, विश्वकप जित्ने र दशकौंसम्म शीर्षमा रहने स्तरसम्म पुग्नु भने अर्कै कुरा हो- त्यो त समयले मात्र बताउनेछ ।