
काठमाडौं । नेपालका लागि फिलिपिन्सका अवैतनिक वाणिज्यदूत एवं वरिष्ठ उद्योगी सुरज वैद्य ‘अनररी कन्सुलर कर्प्स नेपाल’ (एचसीसीएन) को नयाँ डीनमा निर्वाचित भएसँगै एक वर्षे कार्यकालका लागि महत्त्वाकांक्षी र परिणाममुखी ‘रोडम्याप’ सार्वजनिक गरेका छन् ।
संस्थाको १९औं वार्षिक साधारण सभा तथा चार्टर डे (स्थापना दिवस) को अवसरमा आयोजित एक विशेष समारोहका बीच नेतृत्व हस्तान्तरण गरिएको हो । निवर्तमान डीन एवम् बुल्गेरियाका मानार्थ वाणिज्यदूत भोला विक्रम थापाले वैद्यलाई औपचारिक रूपमा पदभार हस्तान्तरण गरे । नेतृत्व हस्तान्तरणपछि थापाले अब ‘इमिडिएट पास्ट डीन’ (निवर्तमान डीन) को रूपमा संस्थालाई सहयोग जारी राख्नेछन् ।
बिहीबार साँझको एचसीसीएनले आयोजना गरेको सो कार्यक्रममा सम्बोधन गर्दै वैद्यले आफूलाई प्राप्त सुझावहरूको स्मरण गर्दै भने, ‘मलाई धेरैले एक वर्षको मात्र समय छ, धेरै गर्ने प्रयास नगर, सावधानीपूर्वक काम गर भनेका थिए । तर नेपाल धेरै छिटो अघि बढिरहेको छ र यहाँ गर्नुपर्ने कामहरू धेरै छन् । त्यसैले म यो जिम्मेवारीलाई अत्यन्त गम्भीरताका साथ लिन्छु ।’
उनले अघिल्ला नेतृत्वका राम्रा कामहरूलाई निरन्तरता दिँदै नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
सार्वजनिक छविप्रति कडा टिप्पणी गर्दै वैद्यले अवैतनिक वाणिज्यदूतहरूको भूमिका गाडीमा ‘निलो प्लेट’ झुन्ड्याउने वा सुविधा लिनेमा मात्र सीमित हुन नहुने बताए ।
उनले भने, ‘हामी कस्तो देखिन्छौँ भन्दा पनि हामी के हौं भन्ने कुरा महत्त्वपूर्ण हो । हामी कुनै क्लब होइनौं । हामी ६४ देशका प्रतिनिधि हौं र हाम्रो प्रत्येक कार्यप्रति हामी जिम्मेवार छौं । हामीले समाजलाई बुझाउनुपर्नेछ कि हाम्रो भूमिका केवल ‘डेकोरेटिभ’ (सजावटी) मात्र होइन, यो निकै गम्भीर छ ।’ उनले कर्मचारीहरूको तालिम र आन्तरिक सुदृढीकरणमार्फत सेवाको गुणस्तर बढाउने योजना पनि सुनाए ।
वैद्यले एचसीसीएनको सामर्थ्यलाई विश्व अर्थतन्त्रसँग जोड्दै भने, ‘यस हलमा उपस्थित ६४ भन्दा बढी कन्सुलरहरूले विश्वको कुल गार्हस्थ्य उत्पादनको करिब १०० ट्रिलियन डलर र विश्वको २० प्रतिशत जनसङ्ख्याको प्रतिनिधित्व गर्छन् । यो सानो शक्ति होइन ।’ उनले नेपाल सरकारलाई यो नेटवर्कको अधिकतम उपयोग गर्न आग्रह गर्दै आर्थिक कूटनीतिमा निजी क्षेत्रको साझेदारी अपरिहार्य रहेको उल्लेख गरे ।
वैद्यले दक्षिण एसियाका अन्य देशहरू (बंगलादेश, श्रीलंका) संकटमा रहँदा पनि नेपालले न्यून वैदेशिक लगानी प्राप्त गरेकोमा गम्भीर प्रश्न उठाए ।
‘हामीले लगानीको कामना मात्र गरेर हुँदैन, त्यसका लागि काम गर्नुपर्छ । नेपाल सुरक्षित छ भन्ने विश्वास दिलाउन हामी कन्सुलरहरूले विश्वभरि ‘ब्रिज’को काम गर्न सक्छौं,’ उनले भने । उनले परराष्ट्र मन्त्रालयको आर्थिक कूटनीति सेलसँग मिलेर काम गर्न हात फैलाए ।
वैद्यले आफ्नो कार्यकालका लागि स्पष्ट ‘क्यालेन्डर’ नै घोषणा गरेका छन् । जसअनुसार नोभेम्बर अन्त्यमा नेपालबाट उच्चस्तरीय प्रतिनिधिमण्डल फिलिपिन्स जानेछ । त्यहाँको संसदका सभामुख, व्यापार मन्त्री र परराष्ट्र मन्त्रीसँग भेटघाट तय भइसकेको छ । सोही अवसरमा नेपाल र फिलिपिन्सका युवा उद्यमीहरूबीच सम्झौता हुने र ‘नेपाल-फिलिपिन्स ट्राभल ट्रेड एसोसिएसन’ स्थापना गरिनेछ । यसैगरी नेपालमा ३० भन्दा बढी युरोपेली देशका कन्सुलरहरू रहेकाले यसै वर्ष युरोपमा पर्यटन र लगानी प्रवर्द्धनका लागि रोड-शो आयोजना गरिनेछ ।
अप्रिल २५मा दिल्लीस्थित विभिन्न देशका राजदूतहरूलाई नेपाल बोलाएर लगानी र सहकार्यका विषयमा वृहत छलफल गराउने उनको योजना छ । नेपालका विश्वविद्यालयहरूलाई विश्वका उत्कृष्ट विश्वविद्यालयहरूसँग जोड्न र स्वास्थ्य क्षेत्रमा सहकार्य बढाउन पहल गर्ने उनले बताए ।
भारतको आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडूको उदाहरण दिँदै वैद्यले भने, ‘उहाँले आफूलाई मुख्यमन्त्री होइन, राज्यको सीईओ भन्नुहुन्थ्यो । नेपालमा पनि सरकार र निजी क्षेत्रले एउटै टीम भएर काम नगरेसम्म मुलुक समृद्ध बन्दैन ।’ वैद्यले परराष्ट्र मन्त्रालय, लगानी बोर्ड, पर्यटन बोर्ड र निजी क्षेत्रका संस्थाहरूसँग मिलेर काम गर्ने संकल्प गरे ।
टोयोटाको नारा ‘असम्भवबाट सुरू गरौं’ लाई उद्धृत गर्दै वैद्यले भने, ‘जबसम्म हामी असम्भव देखिने काम सुरु गर्दैनौं, तबसम्म त्यो सम्भव हुँदैन । त्यसैले हामीले असम्भवलाई सम्भव बनाउन काम सुरु गर्नुपर्छ ।’
वैद्यले आफ्नो लागि पद वा कुर्सी महत्त्वपूर्ण नभएर परिणाम महत्त्वपूर्ण हुन बताए । ‘अर्को वर्ष यही ठाउँमा उभिँदा हामीले गर्वका साथ भन्न सकौँ कि हामीले केही ठोस काम गरेर देखाएका छौं । हामी जे गर्छौं, हृदयदेखि गर्छौं,’ उनले भने ।





प्रतिक्रिया