
सन् २०२६ को विश्वकपले दोस्रो त्रैमासिक अवधिमा मात्रै करिब १०.५ अर्ब डलर बराबरको थप विश्वव्यापी विज्ञापन खर्च सिर्जना गरिरहेको छ।
अचम्मको कुरा के छ भने, त्यसमध्ये अधिकांश पैसा अझै पनि पुरानै शैलीका विज्ञापनमा खर्च भइरहेको छ । जस्तै- एउटा मुख्य ‘हिरो भिडियो’ बनाउने र प्रतियोगिता सुरु हुनुअघि धेरैको ध्यान तान्न चर्चित सेलिब्रेटीहरूको सूची सार्वजनिक गर्ने ।
यद्यपि, विश्वभरका मार्केटर्सहरूले यसपटक विश्वकपका लागि त्यो परम्परागत शैलीभन्दा धेरै पर पुगेर काम गरेका छन् । केही अभियानहरूले त सामान्य विज्ञापनलाई ‘स्पोन्सरसिप ह्याक्स’ (प्रायोजनका चलाखी), डिजिटल प्लेटफर्मको गजबको प्रयोग र किट डिजाइनको यस्तो नमुनासँग मिसाएका छन् जसले रेफ्रीको ड्रेसलाई नै ठट्टा र चर्चाको विषय बनाइदियो ।
एडिडासको हलिउड शैलीको उत्पादन ‘ब्याकयार्ड लेजेन्ड्स’
एडिडासको मुख्य भिडियोमा हलिउड अभिनेता टिमोथी शालामेले ३० वर्षसम्म अपराजित रहेको भनिएको एक पौराणिक त्रिकोणीय टोलीविरुद्ध टोलको ‘स्ट्रीट-फुटबल’ म्याच आयोजना गरेको देखाइएको छ । यसलाई मार्क मोलोयले निर्देशन गरेका हुन् भने स्मगलरले निर्माण गरेको हो ।
यसमा अत्याधुनिक सीजीआई प्रविधि प्रयोग गरेर डेभिड बेकह्याम, जिनेदिन जिदान र एलेसान्द्रो डेल पिएरो जस्ता सुपरस्टारहरूलाई उनीहरूको युवा अवस्थाको रूपमा देखाइएको छ । भिडियोमा वर्तमानका स्टारहरू लियोनेल मेस्सी, लामिन यामल, जुड बेलिङ्घम र ट्रिनिटी रोडम्यान पनि समावेश छन् ।
यस अभियानको मुख्य सफलता यसको समयमा लुकेको छ ।
एडिडासले खेल सुरु हुनुभन्दा अगाडि नै सन् २०२६ को विश्वकपसँग सम्बन्धित करिब २९२ मिलियन डलर बराबरका सामानहरू बेचिसकेको थियो । यसको अर्थ, विज्ञापनले मैदानमा एउटा पनि खेल नहुँदै जर्सीहरू बेचिरहेको थियो ।
नाइकीको ‘रिप द स्क्रिप्ट’ र १२ हप्ताको ब्रह्माण्ड
मुख्य विज्ञापनले ध्यान त तान्छ, तर नाइकीले गरेको चलाखीपूर्ण कदम भने त्यसको वरपरका कुराहरू हुन् । नाइकीले मे महिनामा कुनै कथा विनाका ‘लो-फाई पोलारोइड’ तस्बिरहरूको श्रृंखला सार्वजनिक गरेर मानिसहरूमा कौतुहलता जगायो । त्यसपछि जुन महिनामा ६ मिनेटको ‘रिप द स्क्रिप्ट’ भिडियो सार्वजनिक गरियो ।
त्यो भिडियोले अहिले प्रतियोगिताको अवधिभर चल्ने करिब १८५ वटा साना फलो-अप भिडियोहरू जोडेको छ, जसलाई कम्पनीले आन्तरिक रूपमा ‘युनिभर्स अफ नाइकी फुटबल’ नाम दिएको छ ।
नाइकीकी एक प्रवक्ताका अनुसार यो भिडियो नाइकीको इतिहासकै सबैभन्दा बढी सेयर गरिएको सोसल मिडिया पोस्ट बनेको छ, जसलाई २५ करोडभन्दा बढी पटक हेरिएको छ ।
नाइकी फिफाको आधिकारिक प्रायोजक नभएकाले यसले प्रतियोगिताको ब्रान्डिङ प्रयोग गर्न पाउँदैन । तर उसले यही कानुनी प्रतिबन्धलाई नै रचनात्मक आधार बनायो र आधिकारिक ‘स्क्रिप्ट’ लाई बेवास्ता गर्ने बारे एउटा अभियान बुन्यो । यसलाई एउटा विज्ञापनको सट्टा १२ हप्तासम्म चल्ने कन्टेन्ट स्ट्रिमको रूपमा वितरण गरियो ।
रेक्सोनाको रेफ्री किटमा असामान्य लोगो
रेक्सोनाले आफ्नो लोगो म्याच अफिसियल (रेफ्री) हरूको जर्सीको काखीमुनि राखेको छ । सामान्य खेलको समयमा यो लुकेको हुन्छ, तर जब चौथो अफिसियलले ‘एडेड टाइम’ वा खेलाडी परिवर्तनको संकेत गर्न दुवै हातले बोर्ड उठाउँछन्, तब लोगो प्रस्ट देखिन्छ ।

यो एक यस्तो महत्त्वपूर्ण क्षण हो जुन टेलिभिजन स्क्रिनमा केही सेकेन्ड मात्र देखिन सक्छ, तर क्यामेराको ध्यान तान्ने कुरामा निश्चित जस्तै हुन्छ ।
यो दोहोरिने झर्कोलाग्दो विज्ञापनभन्दा पनि एउटा ‘कन्टेक्स्टुअल प्लेसमेन्ट’ (सन्दर्भ अनुसारको स्थान) हो। रेक्सोनाले एउटा यस्तो मानवीय कार्यलाई छान्यो जुन उसको उत्पादन (डिओडोरेन्ट) को प्रयोगसँग ठ्याक्कै मेल खान्छ ।
यस्तै अवधारणा ब्राजिलमा पनि चलेको थियो जब ‘अभान्सो’ डियोडोरेन्टले कोरिन्थियन्स क्लबको जर्सीको काखीमा विज्ञापन गरेको थियो । तर रेक्सोनाको यो प्रयास विश्वव्यापी प्रतियोगिताको मञ्चमा पहिलो हो ।
यसले यति धेरै चर्चा पायो कि युनिलिभर कम्पनीले यसको स्पष्टीकरण नै दिनुपर्यो । रेक्सोनाका भाइस प्रेसिडेन्टले बताए अनुसार, यसको उद्देश्य ती चौथो अफिसियलहरूतर्फ ध्यान आकर्षित गर्नु थियो जो सामान्यतया चर्चामा हुँदैनन् तर खेलको महत्त्वपूर्ण क्षणमा संलग्न हुन्छन् ।
भिसाको ‘ट्याप इन’ र स्थानीय बजारमा पहुँच
भिसाले कार्डको ‘ट्याप’ पेमेन्ट र फुटबलको सबैभन्दा सजिलो फिनिसिङ ‘ट्याप-इन गोल’ बीचको शब्दको खेलमा आधारित अभियान बनायो ।
यसमा जेसन सुडेकिससँगै लामिन यामल, एर्लिङ हालान्ड, क्रिस्टियन पुलिसिक जस्ता स्टारहरू र कमेन्ट्रेटर आन्द्रेस कान्टर रहेका छन् ।
यो शब्दको खेल चर्चित त भइरहेकै छ, तर यसको मुख्य व्यावसायिक निर्णय अर्कै छ । भिसाले ‘ट्याप इन्टु इम्प्याक्ट’ अभियान पनि चलाइरहेको छ, जसअन्तर्गत आयोजक सहरका साना व्यवसाय र उद्यमीहरूलाई ६ लाख डलर सहयोग गर्ने प्रतिबद्धता गरिएको छ।
भिसा सन् २००७ देखि फिफाको आधिकारिक साझेदार रहँदै आएको छ । यो साझेदारी यति लामो भइसक्यो कि फ्यानहरूका लागि यो सामान्य भइसकेको छ । त्यसैले यो अभियानमार्फत भिसाले आफ्नो १८ वर्ष लामो प्रायोजनलाई केवल सेलिब्रेटी विज्ञापनमा मात्र सीमित नराखी स्थानीय अर्थतन्त्रको प्रतिबद्धतासँग जोड्ने अवसर पाएको छ ।
ब्राजिलियन बियर ब्रह्माको ‘शंका’ मा आधारित विज्ञापन
एक सर्वेक्षणले देखाए अनुसार केवल २८% ब्राजिलियनहरूले मात्र आफ्नो देशले छैटौँ पटक विश्वकप जित्छ भन्ने विश्वास गरेका थिए । त्यो शंकालाई लुकाउनुको सट्टा ‘ब्रह्मा’ बियरले त्यसैमा आधारित अभियान बनायो । एउटा भावनात्मक छोटो भिडियोमार्फत ब्रह्माले तर्क गर्छ- ‘जब विश्वास सबैभन्दा कम हुन्छ, ब्राजिल त्यतिबेला नै सबैभन्दा खतरनाक हुन्छ ।’
यसले विगतका पाँचवटा उपाधिहरू असम्भव परिस्थितिमा जितेको इतिहासलाई सम्झाउँदै कुनै एक खेलाडीलाई मात्र केन्द्रमा राख्नुको सट्टा स्ट्रीट फुटबल, पुराना फुटेजहरू र ‘ब्राजिलकोर’ नोस्टाल्जियालाई मिसाएको छ ।
विज्ञापनको प्रभाव मापन गर्ने ‘सिस्टम वान’ ले यस भिडियोलाई ब्राजिलका प्रभावकारी विज्ञापनहरूको शीर्ष १५% भित्र राखेको छ । यो एउटा दुर्लभ बियर विज्ञापन हो जुन वास्तवमा बियरको बारेमा मात्र छैन।
एटी एन्ड टीको सादगीपूर्ण दृष्टिकोण
एटी एन्ड टीको अभियानले एउटा वास्तविक परिवारले आफ्ना छिमेकीहरूलाई घरमा बोलाएर सँगै फुटबल हेरेको कथा देखाउँछ । यो कुनै पेशेवर कलाकारहरूसँग नभई वास्तविक छिमेकीहरूसँग वास्तविक टोलमा खिचिएको हो । दिग्गज खेलाडी ल्यान्डन डोनोभान यसमा मुख्य भूमिकामा नभई सामाजिक विस्तारको एउटा हिस्साका रूपमा मात्र देखिएका छन् ।
जहाँ प्रत्येक प्रतिस्पर्धीले ठूला स्टारहरू किनिरहेका छन्, त्यहाँ कसैलाई पनि केन्द्रमा नराख्नु एक साहसी बाजी हो । यो यस सूचीको सबैभन्दा जोखिमपूर्ण काम पनि हो, किनकि सादगीले सधैँ नाइकीको भव्य फिल्म जत्तिकै प्रभाव नपार्न सक्छ । त्यसैले यो सफल हुनका लागि ठूलो मिडिया सपोर्टको आवश्यकता पर्छ ।
लेगोको ‘एभ्रिवान वान्न्ट्स अ पिस’
लेगो र विडेन एन्ड केनेडी एम्स्टर्डमले तयार पारेको यो विज्ञापनमा मेस्सी, रोनाल्डो, एमबाप्पे र भिनिसियस जुनियर एउटै टेबुलमा बसेर लेगोबाट विश्वकप ट्रफी बनाइरहेको देखाइएको छ । यसले खेलाडीहरूकै व्यक्तिगत सोसल मिडिया खाताहरूबाट २४ घण्टाभित्र ३१ करोडभन्दा बढी भ्यूज पायो ।

भिडियोको अन्त्यमा एक बच्चाले त्यो ट्रफी बनाइरहेको देखाइन्छ, जसले ठूला सेलिब्रेटीहरूलाई ब्रान्डको वास्तविक उत्पादनसँग पुन: जोड्छ । भ्यूज जतिसुकै धेरै भए पनि अन्तिम दृश्यले ब्रान्डको मर्मलाई जोड दिएको छ । साथै रंगशालाहरूमा लेगो ‘फ्यान जोन’हरू बनाइएका छन्, जहाँ युवा फ्यानहरूले स्टार खेलाडीका लेगो मूर्तिहरूसँग फोटो खिच्न पाउनेछन् ।
ओपन एआईको च्याट जीपीटी हेयर ट्रिक र मेस्सी
ओपन एआईको विश्वकप अभियान मेस्सीले च्याट जीपीटी प्रयोग गरेर आफ्नो कपाललाई अर्जेन्टिनाको झण्डाको रङ (नीलो र सेतो) मा परिवर्तन गरेबाट सुरु भयो । पछि त्यो प्रम्प्टलाई ‘च्याट जीपीटी इमेजेज’ को स्टाइल कलेक्सनमा थपियो ताकि प्रशंसकहरूले आफैँ पनि त्यस्तै लुक बनाउन सकून् ।
रिपोर्ट अनुसार एक हप्तामै विश्वभर १ करोड ७० लाखभन्दा बढी विश्वकपसँग सम्बन्धित प्रम्प्टहरू आएका थिए । यहाँ उत्पादन लागत लगभग शून्य छ र वितरणको माध्यम नै स्वयं उत्पादन हो । यसलाई एक ठूलो सांस्कृतिक कार्यक्रमसँग जोडेर ओपन एआईले आफ्नो पहुँच व्यापक बनाउन सफल भयो ।
लेज र ह्वाट्सएप प्लेटफर्म
लेजले ९० वटा विश्वव्यापी बजारहरूमा ‘वाच-पार्टी’ प्लेटफर्मसँग जोडिएको ह्वाट्सएप च्यानल सञ्चालन गरिरहेको छ । यसमा कलाकारहरूले प्रतियोगिताभर प्रत्यक्ष प्रतिक्रिया र पर्दा पछाडिका सामग्रीहरू सेयर गर्छन् । यसले फ्यानहरूलाई एक समुदायको रूपमा जोड्ने काम गरेको छ ।
यो चार वर्षदेखि चलिरहेको एउटा प्लेटफर्म हो र यसको मुख्य भिडियोभन्दा बढी महत्त्वपूर्ण यसको ह्वाट्सएप च्यानल हो, जसमा अहिले ४० लाख सदस्यहरू छन् । अन्य विज्ञापनहरू प्रतियोगिता सकिएपछि हराउँछन्, तर यो च्यानल भने अर्को विश्वकपको लागि आधार तयार गर्दै समयसँगै बलियो हुँदै जान्छ ।
लिभाइज र हाइन्ज: सेन्सरसिपलाई विज्ञापनमा बदल्दा
फिफाको नियम अनुसार आयोजक स्टेडियमहरूले प्रायोजक बाहेकका सबै ब्रान्डिङ हटाउनुपर्छ । यसैकारण सान्टा क्लारामा रहेको ‘लिभाइज स्टेडियम’ को लोगोलाई त्रिपालले छोपियो र नाम फेरियो। लिभाइजले यसको विरोध गर्नुको सट्टा आफ्नो सोसल मिडिया प्रोफाइलमा त्यही ‘छोपिएको लोगो’ को फोटो राखेर स्वागत गर्यो।

यस्तै नियम प्रेस एरियामा पनि लागू भएपछि स्टेडियम भित्रका ससका बोतलका लेबलहरू टेपले छोपिएका थिए । हाइन्जले यसको जवाफमा कालो लेबल भएको ‘लिमिटेड एडिसन’ बोतल निकाल्यो र यसलाई ‘अनअफिसियल स्टेडियम केचप’ भन्दै मार्केटिङ गर्यो । उनीहरूले आफ्नो प्रसिद्ध स्लोगनलाई टेप लगाइएको सस डिस्पेन्सरसँग जोडेर चलाखीपूर्ण विज्ञापन गरे । यी दुवै ब्रान्डले फिफालाई पैसा नतिरे पनि आधिकारिक प्रायोजकले भन्दा बढी चर्चा कमाए ।








प्रतिक्रिया