अर्जेन्टिना र इजिप्टको खेल विवादबारे फिफाका रेफ्री प्रमुखले यसो भने

2.4k
Shares

एजेन्सी । फिफाका चिफ रेफ्री अफिसर पियरलुइगी कोलिनाले २०२६ विश्वकपको रेफ्रीको गुणस्तरको बचाउ गरेका छन् ।

उनले आफ्ना अधिकारीहरू कुनै पनि बाह्य कारक वा व्यक्तिबाट प्रभावित नहुने कुरामा जोड दिँदै अर्जेन्टिनासँगको राउन्ड अफ १६ को खेलमा इजिप्टको गोल किन रद्द गरियो भन्ने स्पष्टीकरण दिएका छन् ।

२०१७ देखि फिफा रेफ्री समितिको अध्यक्षका रूपमा कार्यरत इटालीका दिग्गज पूर्वरेफ्री कोलिनाले २०२६ को विश्वकपमा भइरहेको रेफ्रीका सम्बन्धमा आएका गुनासोहरूपछि सार्वजनिक वक्तव्य जारी गर्ने निर्णय गरेका हुन् ।

उत्तर अमेरिकामा भइरहेको २०२६ को प्रतियोगितामा रेफ्री, रेड कार्ड र बाह्य प्रभावका आरोपहरूसँग सम्बन्धित धेरै चर्चित घटनाहरू सार्वजनिक भएका छन् ।

अमेरिकाका फोलारिन बालोगनले पाएको रेड कार्ड, राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई सिधै फोन गरेपछि विवादास्पद रूपमा उल्टाइएको थियो ।

त्यस्तै, अर्जेन्टिना विरुद्धको खेलमा ३-२ को हार बेहोरेपछि इजिप्टको टोलीले पनि रेफ्रीको स्तरलाई लिएर कडा गुनासो गरेको थियो ।

विशेषगरी दोस्रो हाफमा इजिप्टलाई तीन गोलको अग्रता दिलाउन सक्ने गोल रद्द गर्ने निर्णयप्रति उनीहरू आक्रोशित थिए ।

एक अन्तर्वार्तामा कोलिनाले आफ्ना रेफ्रीहरूको बचाउ गर्दै भनेका छन्, ‘समग्रमा हामी खुसी छौं ।’

उनले अधिकारीहरूमाथि कुनै बाह्य दबाब नभएको दाबी गर्दै इजिप्टको गोल रद्द गर्ने निर्णय किन सही थियो भनेर व्याख्या गरेका छन् ।

विवादास्पद निर्णयहरूबारे कोलिनाको भनाइ:

हामीले कतार २०२२ को तुलनामा अहिलेसम्म ५०% बढी खेलहरू खेलिसकेका छौं र अझै आठ ठूला खेलहरू बाँकी छन् ।

समग्रमा हामी खुसी छौं । यद्यपि, छोटो अवधिमा धेरै खेलहरू हुँदा केही कुराहरू सोचे जस्तो नहुनु सामान्य हो । त्यस्तो बेला रेफ्रीहरू अर्को खेलका लागि पूर्ण रूपमा तयार हुन अझ कडा परिश्रम गर्न तयार हुन्छन् ।

निर्णयहरूका बारेमा रचनात्मक छलफल हुनु फुटबलको हिस्सा हो, तर निराधार आरोपहरूको हाम्रो खेलमा कुनै स्थान छैन। कसैले पनि फिफा विश्वकपका म्याच अधिकारीहरूको निष्ठामा प्रश्न उठाउन सक्दैन । यसो गर्दा उनीहरू र उनीहरूका परिवार विरुद्ध धम्की आउन सक्छ, जुन गलत हो । त्यस्तै, फिफाको रेफ्री टोली कसैबाट प्रभावित हुन सक्छ भन्ने दाबी कसैले गर्न सक्दैन, फिफा अध्यक्षबाट पनि हुँदैन । उहाँले हामीलाई पूर्ण स्वतन्त्रताका साथ काम गर्न विश्वास गर्नुभएको छ । रेफ्रीहरूले इमानदार निर्णय गर्छन् र खेलाडी वा प्रशिक्षक जस्तै उनीहरू पनि सधैं आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्छन् ।

अर्जेन्टिना र इजिप्ट खेलको बारेमा स्पष्टीकरण:

सामान्यतया प्रतियोगिताको बीचमा हामी विशिष्ट घटनाहरूमा केन्द्रित हुन चाहँदैनौं । तर, आक्रमणकारी खेलाडीले विपक्षी गोलकिपरलाई रोक्ने प्रयास गर्दा रेफ्रीले के हेर्छन् भन्ने कुरा हामीले भर्खरै स्पष्ट पारेका थियौं, त्यसैले यस बहसको विषयलाई पनि स्पष्ट पार्न चाहन्छौं ।

हरेक गोलपछि, भीएआरले ‘अट्याकिङ पोजेसन फेज’ जाँच गर्छ। यदि गोल हुनुभन्दा अघिको प्रक्रियामा फाउल भेटियो र त्यसले गोलमा प्रभाव पारेको देखियो भने, भारले अन-फिल्ड रिभ्यूको लागि सिफारिस गर्छ । यसका लागि गोल र घटना बीचको दूरी वा समयको कुनै निश्चित सीमा हुँदैन ।

अर्जेन्टिना र इजिप्टको खेलमा इजिप्टका नम्बर १९ मारवान अटियाले अर्जेन्टिनाका नम्बर ६ लिसान्ड्रो मार्टिनेजको खुट्टामा स्पष्ट रूपमा कुल्चिएका थिए । हाम्रो मान्यता छ कि फाउल भनेको फाउल नै हो । फाउल ‘स्पष्ट’ देखियोस् वा नदेखियोस्, यदि मैदानमा रेफ्रीले देखेनन् भने भीएआरले हस्तक्षेप गर्न सक्छ । त्यस्तै, यदि गोल हुनुअघि कुनै फाउल देखिएन भने भीएआरले रेफ्रीलाई सोही अनुसार सल्लाह दिन्छ । विपक्षीको खुट्टामा टेक्नु फाउल हो, तर यदि डिफेन्डरले पहिले बल छुन्छ र त्यसपछि सामान्य कन्ट्याक्ट हुन्छ भने त्यो फाउल होइन । यसै खेलको अन्त्यमा मोहम्मद सलाह र जुलियन अल्भारेज बीचको सम्पर्कलाई रेफ्री र भीएआरले ‘नर्मल फुटबल कन्ट्याक्ट’ मानेका थिए । पक्कै पनि, केही निर्णयहरूमा व्यक्तिगत दृष्टिकोण हुन सक्छ, तर यो सिद्धान्त जसरी प्रतियोगिताभर लागू गरिएको छ, त्यसमा हामी खुसी छौं ।