नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जना प्रतिस्पर्धामा

0
Shares

काठमाडौं । नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि आवेदन दिएका उम्मेदवारहरूको नामावली सार्वजनिक भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूचना जारी गर्दै रीतपूर्वक आवेदन दिएका ६ जना उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

मन्त्रालयको सिफारिस समितिको असार १ गतेको निर्णयानुसार असार २ गते सूचना प्रकाशन गरी रिक्त रहेको कार्यकारी निर्देशकको लागि आवेदन माग गरिएको थियो ।

निगमको कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले गत् बैशाख ३० गते आफ्नो पदबाट राजीनामा दिएका थिए। त्यसपछि उक्त पद रिक्त रहेको थियो ।

मन्त्रालयका अनुसार प्युठानको झिमरुक गाउँपालिकाका छवि राज पोखरेल र प्युठान नौबहिनी गाउँपालिकाका कौशल केसी, सप्तरी राजविराजका सञ्जिव कुमार देव, धनुषा नगराइनका सीए नागेन्द्र साह, महोत्तरी एकडारा गाउँपालिकाका सरोजकुमार शर्मा, सप्तरी राजविराजका दिपेन्द्रकुमार देवको नाम उम्मेदबारको सूचीमा प्रकाशित गरिएको छ ।

कार्यकारी निर्देशकको लागि उम्मेदवारी दिनेमध्ये सीए साह यसअघि निगमको नायब कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए ।

कार्यकारी निर्देशक चण्डिका भट्टले राजिनामा दिएपछि निगमको निमित्त कार्यकारी निर्देशकको रुपमा सिए साहले जेठको दोश्रो सातासम्म जिम्मेवारी निभाएका थिए । सेवा अवधीको कारण साह जेठ अन्तिम साता अवकाश पाएका थिए ।

मन्त्रालयका अनुसार छनोटमा परेका उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता प्रक्रियाबाट कार्यकारी निर्देशक छनौट गरिने छ ।