
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशका विभिन्न स्थानमा गरेको बजार अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने होटल, रेस्टुरेन्ट तथा खाद्य उद्योगहरूमाथि कडाइ गरेको छ ।
सर्लाही र काभ्रेका विभिन्न स्थानमा गरिएका छुट्टाछुट्टै अनुगमनका क्रममा ३१ वटा व्यावसायिक फर्महरूमाथि निरीक्षण गरी कुल ९ लाख ४७ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
विभागका प्रवक्ता डा. बालकुमारी शर्माकाअनुसार मधेश प्रदेशका गृह सञ्चार तथा कानून मन्त्री फकिरा महतोको उपस्थितिमा सर्लाहीको मलंगवा नगरपालिकामा संयुक्त अनुगमन गरिएको थियो । मलंगवाका १० वटा होटल तथा पानी उद्योगको निरीक्षण गर्दा अधिकांशमा सरसफाइको कमी र कृत्रिम रङको प्रयोग पाइएको छ ।
अनुगमनका क्रममा ‘बेम्बो कटेज क्याफे’ र ‘न्यू हार्ट अफ मलंगवा’ लाई जनही १५ हजार रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, ‘होटल नवरंग’, ‘महेन्द्र होटल’ र ‘न्यू अन्नपूर्ण होटल’ लाई २०–२० हजार रुपैयाँ जरिवाना गरिएको छ । सबैभन्दा बढी जरिवाना ‘कुसुम होटल एण्ड पार्टी प्यालेस’ लाई १ लाख ५ हजार रुपैयाँ गरिएको छ । अनुगमनका क्रममा म्याद नाघेका खाद्य वस्तु, लेबल नभएका फ्रोजन मःमः र मापदण्ड विपरीतको ‘फ्राइङ आयल’ (टीपीएम ५० सम्म पुगेको) नष्ट गरिएको छ।
यस्तै सर्लाहीकै लालबन्दी, हरिवन र बरहथवा क्षेत्रका १४ वटा व्यवसायमा अनुगमन गरिएको थियो। सो क्रममा कुल ३ लाख ९७ हजार रुपैयाँ जरिवाना संकलन भएको छ ।
कारबाहीमा पर्नेहरूमध्ये ‘लालबन्दी युनाइटेड होटल’ र ‘सीता प्यालेस’ लाई १–१ लाख रुपैयाँ जरिवाना गरिएको छ। ‘सीता प्यालेस’ मा म्याद नाघेका मसला, ढुसी लागेको अचार र अखाद्य रङ पाइएको थियो । यस्तै, ‘सम्राट स्टाफ लाइन होटल’, ‘लभ्ली स्वीट एण्ड साल्ट’ र ‘होटल अन्नपूर्ण’ लाई २०–२० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
अनुगमन टोलीले कतिपय होटलमा पकाउने भान्छा र भाँडा माझ्ने ठाउँ एउटै भएको, मरेको झिँगा र मौरी परेको मिठाई (रसवरी) समेत फेला पारेको थियो ।
यसैगरी काभ्रेको नमोबुद्ध नगरपालिका, भकुण्डेबेंसीमा गरिएको अनुगमनमा ७ वटा व्यवसाय कारबाहीमा परेका छन्। यहाँ कुल ३ लाख रुपैयाँ जरिवाना गरिएको छ ।
काभ्रेमा सबैभन्दा गम्भीर लापरबाही रोयल मःम एण्ड नेवारी खाजा घर’ मा पाइएको छ। विगत डेढ वर्षदेखि दर्ता नगरी सञ्चालन भएको, भान्छामा साङ्ला र झिँगाको सङ्क्रमण रहेको तथा काँचो मासु र सलाद एउटै चपिङ बोर्डमा काट्ने गरेको पाइएपछि उक्त होटललाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
यस्तै, ‘नेवारी खाजा एण्ड भान्छा घर’ लाई २५ हजार र ‘उत्सव चिकेन हाउस’ लाई १५ हजार रुपैयाँ जरिवाना गरिएको छ । अनुगमनका क्रममा म्याद नाघेका हल्का पेय पदार्थ (कोक, बियर) र अखाद्य रङ प्रयोग गरिएका केकहरू नष्ट गरिएको छ ।






प्रतिक्रिया