प्रधानमन्त्री भेटेपछि मल्होत्राले भने: व्यवसायीका आधा समस्या आजै समाधान भए, अब देश बन्छ

4.1k
Shares

काठमाडौं । सरकार बनेको १०० दिन कटेपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले पहिलो पटक निजी क्षेत्रसँग छलफल गरेका छन् ।

सरकार गठन भएपछि पूर्ववर्ती सरकारहरूले सुरुदेखि नै भेटघाट र छलफल गर्ने गरेको भए पनि प्रधानमन्त्री बालेनले त्यो ढङ्गको छलफल गरेका थिएनन् ।

बुधबार भने प्रधानमन्त्री शाहले निजी क्षेत्रसँग डेढ घण्टाभन्दा लामो समय बिताए । त्यस क्रममा प्रधानमन्त्रीले अर्थतन्त्र र निजी क्षेत्रले भोगिरहेको समस्याबारे चासो राखेका थिए ।

आधा घण्टाको समय दिए पनि प्रधानमन्त्री बालेनले डेढ घण्टाभन्दा बढी समय निजी क्षेत्रका प्रतिनिधिहरूलाई दिएका थिए ।

बैठकको सुरुमा प्रधानमन्त्रीले उद्योगी व्यवसायीहरूका कुरा सुनेका थिए ।

भेटमा सहभागी नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले प्रधानमन्त्रीसँगको छलफल अत्यन्तै सकारात्मक र सुखद भएको बताए ।

उनले उद्योगी/व्यवसायीको मनोबलमा भएको आधा समस्या आजको छलफलबाट समाधान भएको भन्दै अब देश बन्ने उल्लेख गरे ।

जेनजी आन्दोलनपछि व्यावसायिक वातावरण र मनोबल गुमेको महसुस गरेका व्यवसायी आज प्रधानमन्त्रीसँगको छलफलपछि भने उत्साही देखिएका हुन् । आजको भेटले निजी क्षेत्रको गिरेको मनोबल उक्सिएको उनी बताउँछन् ।

‘जुन किसिमले उद्योगी व्यवसायीहरूको मनोबल खस्किएको छ, प्रधानमन्त्रीज्यूसँगको भेटवार्ताले निजी क्षेत्रको आधा समस्या समाधान भयो,’ भेटवार्तामा सहभागी मल्होत्राले भने, ‘अबउप्रान्त मनोबल बढ्छ, हामी पनि त्यही खालको उत्साहका साथ अगाडि बढ्छौँ भन्ने कुरा नै बढी पिनपोइन्ट भयो, फोकस भयो ।’

प्रधानमन्त्रीले व्यवसायीहरूलाई सुरुमा समस्याहरू राख्न भनेका थिए ।

‘प्रधानमन्त्रीज्यूसँग पहिलो पटक लामो समय छलफल भयो,’ छलफलमा सहभागी व्यवसायी दीपक मल्होत्राले भने, ‘प्रधानमन्त्रीज्यूले सुरुमा हामीसँग अहिले देखिएका समस्याहरू राख्न भन्नुभयो । त्यसपछि उहाँले २०/२५ मिनेट हामीले राखेकै विषयहरूमा रहेर कुराकानी भयो ।’

प्रधानमन्त्री शाहले त्यस क्रममा समस्याहरू मात्र होइन, समाधान पनि लिएर आउन उद्योगी/व्यवसायीलाई आग्रह गरे । प्रधानमन्त्री शाहले त्यस क्रममा सरकारले गर्नुपर्ने कामहरू बुँदागत रूपमा दिन आग्रह गर्दै ती कामहरू गर्न सरकार तयार रहेको बताए ।

‘तपाईंहरू ठोस कुरा पिनपोइन्टका साथ बोल्नुस्, थ्योरिटिकल्ली कुरा गर्नुभयो भने कुराहरू हराउँछन्,’ प्रधानमन्त्री शाहलाई उद्धृत गर्दै मल्होत्राले भने, ‘सरकारले कहाँ के गर्नुपर्‍यो भन्नुस्, हामी त्यो गर्न तयार छौँ, हामी तत्पर छौँ । तपाईंहरू यो ठाउँमा यो गर्नुपर्‍यो, यो ठाउँमा यो गर्नुपर्‍यो भन्नुस्, हामी ती कुराहरूलाई पूरा गर्दै जान्छौँ ।’

सरकारसँग नियमित छलफलका लागि निजी क्षेत्रका तीनवटा सङ्गठनका प्रतिनिधिलाई प्रधानमन्त्रीको सचिवालयसँग नियमित सम्पर्कमा रहने गरी अनौपचारिक समिति बनाउने पनि प्रधानमन्त्रीले आश्वासन दिएका छन् । भेटवार्तामा रहेको सचिवालयको टोलीलाई प्रधानमन्त्रीले निजी क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवाद गर्न निर्देशनसमेत दिए ।

छलफलमा उद्योगी व्यवसायीमाथि सरकारले गरिरहेको धरपकडबारे पनि प्रधानमन्त्रीसँग जिज्ञासा राखिएको थियो । त्यस क्रममा प्रधानमन्त्री शाहले आफूहरूको उद्देश्य उद्योगी/व्यवसायीलाई पक्राउ गर्ने नभएको भन्दै कसैले अपराध गरेको छ भने उसलाई नछाड्ने बताए ।

‘हाम्रो नियत पक्राउ गर्ने होइन । तर, कसैले अपराध गरेको छ भने उसलाई कानुनी दायरामा ल्याउनुपर्छ । यसअघि पनि यस्तो हुँदै आएको थियो । यो अहिले पनि जारी रहन्छ,’ प्रधानमन्त्रीले भने, ‘उद्योगी व्यवसायीलाई सताउने गरी धरपकड गरिएको भन्दै गलत भाष्य बनाउन खोजिएको कुरा सही होइन ।’

प्रधानमन्त्री शाहले छलफलमा लगातार २०/२५ मिनेट भाषण भने गरेनन् । उनले उद्योगी व्यवसायीका कुरा सुन्दै त्यसमा क्रस कोइसन्स गरेका थिए ।

व्यवसायीहरूले मङ्गलबार नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले आफूहरूको माग सम्बोधन गर्न नसकेको भन्दै गुनासो गरेका थिए । उनीहरूको गुनासो सुनेपछि प्रधानमन्त्री शाहले बिहीबार राष्ट्र बैंक, बैङ्कर सङ्घ र निजी क्षेत्रका तीनवटै सङ्गठनका प्रतिनिधिहरूसँग छलफल गरेर समस्याको सम्बोधन गर्ने आश्वासन दिए ।

‘मौद्रिक नीतिले समस्या समाधान नदिएको हाम्रो कुरापछि प्रधानमन्त्रीज्यूले त्यसमा थप छलफल गर्ने आश्वासन दिनुभएको छ,’ उनले भने, ‘भोलि राष्ट्र बैंक, बैंकर संघ र निजी क्षेत्रका तीनवटै संगठनका प्रतिनिधिसँग छलफल गरेर के परिमार्जन गर्न सकिन्छ, के सहज गर्न सकिन्छ भन्ने निर्णयमा पुगौँला भन्नुभएको छ ।’

बैठकमा निजी क्षेत्रको नेतृत्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष अन्जन श्रेष्ठ र महासङ्घको उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघ (सीएनआई)का निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा. घनश्याम ओझा तथा नेपाल चेम्बर अफ कमर्स (एनसीसी)का अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा सहभागी थिए ।

त्यस्तै उद्योगीसमेत रहेकी रास्वपा सांसद विदुषी राणा पनि छलफलमा सहभागी थिइन् ।