फ्रान्स–मोरोक्को खेलका लागि सबै रेफ्री अर्जेन्टिनाका, फ्रान्सेली खेलाडीले यसो भने

3.3k
Shares

एजेन्सी । विश्वकपको क्वार्टरफाइनलअघि फ्रान्स र मोरक्कोबीचको खेलका लागि फिफाले सबै अर्जेन्टिनी रेफ्रीहरूको टोली नियुक्त गरेपछि ठूलो बहस र विवाद उत्पन्न भएको छ ।

फ्रान्स र अर्जेन्टिनाबीचको हालैको तनावपूर्ण इतिहास र अर्जेन्टिना आफैँ पनि फ्रान्सका लागि प्रतियोगिताको मुख्य प्रतिस्पर्धी भएकाले यो निर्णयले फुटबल जगतमा आश्चर्य पैदा गरेको छ ।

फिफाले ४४ वर्षीय रेफ्री फकुन्डो टेलो र उनको टोलीले बोस्टन स्टेडियममा हुने यो खेल सञ्चालन गर्ने पुष्टि गरेको छ ।

२०२६ को विश्वकपमा एउटै राष्ट्रका अधिकारीहरूले मात्र कुनै खेलको पूर्ण जिम्मेवारी सम्हाल्न लागेको यो पहिलो पटक हो ।

टेलोलाई सहायक रेफ्रीहरू जुआन पाब्लो बेलाट्टी र गेब्रियल चाडेले साथ दिनेछन् भने डारियो हेरेरा चौथो अफिसियलका रूपमा रहनेछन् ।

यो ‘अल-अर्जेन्टाइन’ टोलीमा क्रिस्चियन नाभारो ‘रिजर्भ असिस्टेन्ट रेफ्री’को रूपमा रहनेछन् । फिफाले सबै अधिकारीहरू योग्यता र क्षमताका आधारमा छानिएको बताए पनि फ्रान्सको मुख्य प्रतिद्वन्द्वी राष्ट्रका रेफ्रीहरू छनोट गरिनुले आशंका उब्जाएको छ ।

फ्रान्सेली खेलाडीहरूले के भने?

फ्रान्सेली टोलीले भने यो समाचारलाई खासै ठूलो विषय बनाएको छैन । टोली रेफ्रीको राष्ट्रियताभन्दा पनि मोरक्को विरुद्धको खेलमा केन्द्रित देखिन्छ । बायर्न म्युनिखका डिफेन्डर डायोट उपामेकानोले रेफ्रीको बारेमा भइरहेको चर्चालाई खारेज गर्दै भने, ‘रेफ्री को हुनेछन् भन्नेमा म ध्यान दिने छैन । हामीले कहिल्यै त्यसो गरेका छैनौँ, हाम्रो पूरा ध्यान मोरक्कोमाथि हुनेछ ।’

त्यस्तै, फ्रान्सका तेस्रो रोजाइका गोलकिपर रोबिन रिसरले पनि आफ्ना सहकर्मीहरूलाई कुनै पनि प्रकारको भ्रम वा शंकामा नपर्न आग्रह गरेका छन्। उनले भने, ‘गत फाइनलदेखि दुई देशबीच केही तीतोपन छ, तर त्यो खेलकै हिस्सा हो । यदि यी रेफ्रीहरू यहाँ छन् भने, तिनीहरू यो स्तरको प्रतिस्पर्धाका लागि योग्य भएरै आएका हुन् ।’

सामाजिक सञ्जालमा फ्यानहरूको आक्रोश

खेलाडीहरू शान्त देखिए पनि फुटबल समर्थकहरूले भने यो निर्णयको कडा आलोचना गरेका छन् । सामाजिक सञ्जालमा समर्थकहरूले फिफाको तर्कमाथि प्रश्न उठाएका छन् ।

एक समर्थकले सोधेका छन्, ‘के सबै अफिसियलहरू एउटै राष्ट्रको हुनु सामान्य कुरा हो?’ अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘फिफाले के सोचेर यस्तो निर्णय गर्यो होला ? ‘ केहीले त यसलाई ठट्टाको रूपमा लिँदै ‘यो गम्भीर हुनै सक्दैन’ र ‘यस्तो निर्णयले रुवाबासी नै चल्छ’ भन्दै टिप्पणी गरेका छन् ।

२०२२ को त्यो तीतो याद

यो नियुक्ति झन् संवेदनशील हुनुको कारण सन् २०२२ को कतार विश्वकपको फाइनल हो, जहाँ अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराएको थियो। त्यसयता अन्तर्राष्ट्रिय फुटबलमा यी दुई राष्ट्रबीचको सम्बन्ध केही चिसिएको छ।
रेफ्रीको बारेमा जतिसुकै चर्चा भए पनि प्रशिक्षक डिडियर डेश्याम्प्स र उनको टोलीले मैदानमा ध्यान दिनु जरुरी छ । मोरक्कोले २०२२ मा र अहिले २०२६ मा पनि आफू कमजोर टोली नभएको प्रमाणित गरिसकेको छ। त्यसैले फ्रान्सका लागि अर्को एउटा ठूलो चुनौती पक्कै हुनेछ ।