
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायात क्षेत्रमा व्याप्त विकृति र विसंगतिहरूलाई तत्काल सुधार गर्न मातहतका निकाय, व्यवसायी र मजदुरहरूलाई निर्देशन दिएको छ।
काठमाडौं उपत्यकासहित देशभर सञ्चालित सार्वजनिक सवारी साधनहरूमा यात्रुहरूबाट व्यापक जनगुनासो आएपछि महासंघले यस्तो कदम चालेको हो।
महासंघले सूचना जारी गर्दै यातायात क्षेत्रमा देखिएका दर्जनौं बेथितिहरूको सूची सार्वजनिक गरेको छ। जसमा यात्रुलाई गन्तव्यसम्म नपुर्याउने, तोकिएको भन्दा बढी भाडा लिने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने र यात्रुहरूसँग अभद्र व्यवहार गर्ने जस्ता कार्यहरू तत्काल बन्द गर्न भनिएको छ।
यस्तै, बसपार्क बाहिर जथाभावी यात्रु चढाउने र ओराल्ने, यात्रु तानातान गर्ने, सवारी साधनमा सरसफाइ नगर्ने तथा डस्टबिनको व्यवस्था नगर्ने कार्यप्रति पनि महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
राजमार्गमा चल्ने सवारी साधनले गुणस्तरीय खाना खुवाउने ठाउँको निश्चित नगरी जहाँतहीँ रोक्ने, तीव्र गतिमा सवारी चलाउने, ट्राफिक नियम पालना नगर्ने र सवारीका कागजपत्र दुरुस्त नराख्ने जस्ता लापरबाहीले गर्दा समग्र यातायात क्षेत्र नै बदनाम हुन पुगेको महासंघको ठहर छ।
महासंघका महासचिव डेकनाथ गौतमद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘खर्बौंको लगानी र राज्यलाई अर्बौं राजस्व बुझाउँदै आएको यो मर्यादित पेशालाई केही व्यक्तिका गलत क्रियाकलापले गर्दा आम सर्वसाधारणले अपहेलित नजरले हेर्ने गरेका छन्। यस्ता कार्यहरूले लगानीमैत्री र यात्रुमैत्री वातावरण बिगारेको हुनाले तत्काल सुधार गरी आधुनिक प्रविधिमैत्री सेवा सञ्चालन गर्न सचेत गराइन्छ।’
महासंघले यदि कसैले यस्ता गलत कार्य जारी राखेको पाइएमा त्यस्ता सवारी साधन, व्यवसायी र मजदुरहरूलाई सम्बन्धित निकायमार्फत कडा कानुनी कारबाही गरिने चेतावनी समेत दिएको छ। यातायात क्षेत्रलाई सम्मानित र मर्यादित बनाउन सबै सरोकारवालाहरूलाई जिम्मेवार बन्न महासंघले अपील गरेको छ।






प्रतिक्रिया