राहदानी विभागको सेवा २ दिन बन्द रहने


काठमाडौं । राहदानी विभागले आफ्नो मौजुदा प्रणालीलाई नयाँ प्रणालीमा स्तरोन्नति गर्ने तयारीका कारण आगामी दुई दिन राहदानी सम्बन्धी सेवाहरू बन्द गर्ने भएको छ ।

विभागले एक सूचना जारी गर्दै २०८३ असार २५ र २६ गते सम्म सेवाहरू बन्द रहने जानकारी दिएको हो ।

विभागका अनुसार असार २९ गते देखि नयाँ प्रणालीबाट राहदानी सेवा सुचारु गर्न लागिएको छ ।

सोही प्रणाली व्यवस्थापनका लागि असार २५ र २६ गते विभागबाट प्रदान गरिने नियमित सेवाहरू स्थगन गरिएको हो ।

यसबारे विभागले असार १९ गते नै सार्वजनिक सूचनामार्फत जानकारी गराएको थियो ।

नियमित सेवाहरू बन्द भए पनि विभागले तयार भइसकेका राहदानी वितरणको काम भने नरोक्ने स्पष्ट पारेको छ ।

विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘राहदानी सम्बन्धी अन्य सेवाहरू बन्द भए तापनि विभागमा तयार रहेका राहदानीहरू वितरण हुने भएकाले आफ्नो मोबाइलमा राहदानी संकलनका लागि एसएमएस प्राप्त गर्नुभएका सेवाग्राहीहरूले विभागमा सम्पर्क गरी राहदानी संकलन गर्न सक्नुहुनेछ ।’

नयाँ प्रणालीमा जाँदा सेवा प्रवाह थप गुणस्तरीय, पारदर्शी र सेवाग्राहीमैत्री हुने विभागको विश्वास छ ।