मल अभावबारे रास्वपा सांसदले प्रश्न उठाउँदै सोधे: म भात खान्छु, सरकारले के खान्छ ?


काठमाडौं । कृषिप्रधान देशमा किसानहरूले भोग्नुपरेको मल अभावको समस्या र यसले खाद्य सुरक्षामा पार्न सक्ने गम्भीर असरबारे बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष राजवंशीले संसदमा आवाज उठाइएका छन्।

सांसद राजवंशीले सरकारलाई प्रश्न गर्दै बुधबारको संसद बैठकमा भने, ‘म भात खान्छु। सरकारले के खान्छ ? मलाई लाग्छ सरकारले पनि भात नै खान्छ। मलाई त थाहा छ त्यो भात कहाँबाट आउँछ, सरकारलाई थाहा छ कि छैन ? त्यो भात धानबाट आउँछ र धान किसानको खेतमा फल्छ।’

उनले धान फलाउनका लागि मल अनिवार्य रहेको र तर अहिले मलको अभावले किसानहरू ठूलो मर्कामा परेको बताए। कृषिप्रधान देशमा किसानहरूको बिचल्ली कहिलेसम्म हुने भन्दै उनले सरकारको ध्यानाकर्षण गराए। अहिले कृषि मन्त्रालयको जिम्मेवारीमा राष्ट्रिय स्वतन्त्र पार्टीकी गिता चौधरी छन् ।

कृषि मन्त्री चौधरीले किसानले रासायनिक मलको लागि लागि कुनै समस्या नव्यहोरेको र पर्याप्त परिमाणमा मल उपलब्ध रहेको अभिव्यक्ति दिदैं गर्दा उनकै पार्टीका सांसद राजवंशीले यस्तो प्रश्न गरेका छन् । पछिल्लो समयमा मन्त्री चौधरीसहित मन्त्रालयले पर्याप्त मात्रामा रासायनिक मल भएको बताउँदै गर्दा देशभरका किसानले रासायनिक मलको लागि चरम सास्ती व्यहोर्न बाध्य भएका छन् ।

खाद्य सुरक्षासँग जोडिएको यस गम्भीर विषयमा सरकार थप संवेदनशील हुन आवश्यक रहेको उनले औंल्याए। अन्नको भण्डार मानिने पूर्वका झापा, मोरङ र सुनसरी जिल्लाहरूको तथ्याङ्क प्रस्तुत गर्दै उनले भने, ‘अहिले ती जिल्लाहरूमा जम्मा २८ प्रतिशत मात्र रोपाइँ भएको छ, अझै ७२ प्रतिशत रोपाइँ बाँकी छ।’

कृषि मन्त्रालयको सूचना अनुसार दुई हप्तापछि मल आउने कुरा उल्लेख गर्दै उनले उक्त मल समयमै किसानको खेतबारीमा पुग्नुपर्ने माग गरे।

‘मन्त्रालयले भनेको दुई हप्ताभित्र मल आओस् र त्यो मल सिधै किसानको खेतबारीमा पुगोस्। साथै, वितरण प्रक्रियालाई पनि सहज बनाइयोस्,’ उनले थपे।

उनले खाद्य सुरक्षा जस्तो संवेदनशील विषयमा सरकारले ढिलासुस्ती नगरी किसानलाई आवश्यक पर्ने मल र अन्य सुविधाहरू तत्काल उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्।