
काठमाडौं । सुदूरपश्चिम प्रदेशको कैलालीस्थित टीकापुर र लुम्बिनी प्रदेशको बर्दियास्थित गेरुवा गाउँपालिकालाई जोड्ने कर्णाली नदीको सनकट्टीघाटको पक्की पुल सम्झौता अवधिभन्दा ३ महिना अगावै सम्पन्न भएको छ । पुल निर्माणमा आफ्नो छुट्टै पहिचान बनाएको रसुवा कन्स्ट्रक्सनले निर्धारित समयभन्दा पहिल्यै काम सकेर विकास निर्माणमा उदाहरणीय कार्य प्रस्तुत गरेको हो ।
२०७९ साल पुस १७ गते ठेक्का सम्झौता गरी २०८० साल वैशाख २ गतेबाट पुलको निर्माण कार्य सुरु गरिएको थियो । सम्झौता अनुसार यो पुल २०८३ साल असोज १७ गतेभित्र (४५ महिनामा) सम्पन्न गर्नुपर्ने अवधि तोकिएको थियो । तर, सम्झौता अवधिभन्दा करिब ३ महिना अगावै अर्थात् यसै वर्षको असार मसान्तभित्रै सबै काम सम्पन्न भएको छ ।
कुल १ अर्ब १८ करोड रुपैयाँको लागतमा यो गौरवको आयोजना सम्पन्न भएको हो ।
कुल ७५० मिटर लामो यो पुल कर्णाली नदीमा सुर्खेतभन्दा तल बनेको यो पाँचौं पुल हो । यो पुल ११ मिटर चौडा छ जसको ७.५ मिटर गाडी हिँड्ने बाटो हो भने दुवैतर्फ १.७५ मिटरको फुटपाथ रहेको छ । पुलमा १४ वटा पिल्लर र १३ वटा स्पान छन् । कम्पनीले पुलको दुवै तर्फ कुल ५०० मिटर सडक कालोपत्रे गरेको छ भने कर्णालीमा १०१५ मिटर ग्याबिन तटबन्ध पनि लगाएको छ ।
रसुवा कन्स्ट्रक्सनले यसअघि पनि कर्णाली नदीकै सत्तीघाटमा समय अगावै पुल बनाएर चर्चा कमाएको थियो । कम्पनीले यसअघि रातु पुल (बर्दिबास–लालगढ), कमला पुल (सिन्धुली), मरिन खोला पुल (सिन्धुली) र धनुषाको औरही खोला पुल पनि तोकिएको समयभन्दा पहिल्यै सम्पन्न गरिसकेको छ ।
कम्पनीका प्रतिनिधि प्रभाकर प्याकुरेलका अनुसार कर्णाली नदीलाई दुई चरणमा डाइभर्सन गरेर निर्माण कार्यलाई गति दिइएको थियो । पुल निर्माण सुरु भएदेखि नै सरकारले समयमै भुक्तानी दिएको भए यो पुल करिब ५ महिना अघि नै बनेर सकिने प्याकुरेल बताउँछन् । ‘यद्यपि हामीले ३ महिना अघि काम सकेर केही दिनमा पुल सेक्सन, नेपालगञ्जलाई हस्तान्तरण गर्ने योजना बनाएका छौं । साथै समयम अगावै काम सक्ने हाम्रो छवि पनि कायमै गर्न सफल भएका छौं,’ प्याकुरेलले क्लिकमान्डुसँग भने ।
सनकट्टी घाटमा पुल नहुँदा स्थानीय बासिन्दाहरू वर्षौंदेखि जोखिमपूर्ण डुङ्गाको यात्रा गर्न बाध्य थिए । ११ वर्षअघि यही घाटमा डुङ्गा दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका थिए । अब यो पुल निर्माणसँगै डुङ्गाको जोखिमपूर्ण यात्रा पूर्ण रूपमा विस्थापित हुने भएको छ ।
यो पुल बनेपछि टीकापुर र बर्दियाको शान्ति बजारबीचको व्यापारिक सम्बन्ध बलियो हुनेछ । स्थानीय किसानहरूले आफ्ना उत्पादनहरू (तरकारी, अन्न) सजिलै टीकापुर बजार पुर्याउन सक्नेछन् । बर्दियाको शान्ति बजार क्षेत्रका विद्यार्थीहरूलाई टीकापुरका कलेजहरूमा अध्ययन गर्न र बिरामीहरूलाई टीकापुर अस्पतालमा उपचारका लागि लैजान निकै छिटो र सहज हुनेछ । टीकापुरमा बसोबास गर्ने तर गेरुवा तिर खेतीपाती भएका जग्गाधनीहरूलाई अब आउजाउ गर्न सहज हुनेछ । सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल टीकापुर पार्क र लुम्बिनीको बर्दिया राष्ट्रिय निकुञ्जलाई यो पुलले छोटो दूरीमा जोड्नेछ, जसले आन्तरिक पर्यटनमा टेवा पुग्नेछ । कुनै कारणवश कर्णाली चिसापानीको पुल सेनाले बन्द गरेको वा अवरुद्ध भएको अवस्थामा यो पुलले भरपर्दो वैकल्पिक बाटोको काम गर्नेछ ।
सनकट्टीघाट पुल निर्माण सम्पन्न भएसँगै कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा अब तीनवटा ठूला पुल भएका छन् । २०५० सालमा बनेको चिसापानी पुल र २०७३ मा बनेको सत्तीघाट पुलपछि सनकट्टीको यो पुलले दुई प्रदेशको आर्थिक र सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाउने छ ।






प्रतिक्रिया