कुवेतले १५ वर्षे लगानीकर्ता आवासीय अनुमतिका लागि मापदण्ड घोषणा गर्यो


एजेन्सी । कुवेतले आफ्नो १५ वर्षे लगानीकर्ता आवासीय अनुमतिका लागि आधिकारिक रूपमा योग्यताका मापदण्डहरू निर्धारण गरेको छ ।

यसले भारतीय लगायत अन्य विदेशी लगानीकर्ता र वरिष्ठ कार्यकारीहरूका लागि यस खाडी राष्ट्रमा दीर्घकालीन बसोबासको बाटो प्रशस्त गरेको छ ।

सन् २०१३ को कानून नम्बर ११६ अन्तर्गत पहिलोपटक ल्याइएको यो आवासीय अनुमतिलाई जनवरी २०२६ मा पहिलेको अवधिबाट बढाएर १५ वर्ष पुर्याइएको थियो । तर, सरकारले योग्यताका शर्तहरू सूचित नगरेसम्म यो योजना व्यवहारमा लागू हुन सकेको थिएन । पछिल्ला नियमहरूसँगै अब यो कार्यक्रम पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

यो आवासीय अनुमति कुवेतमा योग्य लगानी संस्थाहरूसँग आबद्ध विदेशी नागरिकहरूका लागि उपलब्ध छ, जसमा लगानी संस्थाका मालिक, व्यापारिक साझेदार, निर्देशक, वरिष्ठ व्यवस्थापन, योग्य परिवारका सदस्य (पति/पत्नी, छोराछोरी र आमाबाबु सहित) पर्छन् ।

निवेदकहरूसँग हुनुपर्ने योग्यताहरूमा कम्तीमा ६ महिनाको वैधता भएको मान्य राहदानी र कुनै आपराधिक रेकर्ड नभएको प्रमाणपत्र हुनुपर्छ ।

योग्य हुनका लागि लगानी संस्थाले निम्न मापदण्डहरू पूरा गर्नुपर्छः प्रत्यक्ष लगानीका लागि कुवेतमा स्थापित कम्पनी (वा विदेशी कम्पनीको शाखा) हुनुपर्ने, कुवेत प्रत्यक्ष लगानी प्रवर्धन प्राधिकरणद्वारा जारी गरिएको मान्य लगानी इजाजतपत्र हुनुपर्ने, कुवेतको स्थानीयकरण सम्बन्धी आवश्यकताहरू पूरा गरेको हुनुपर्ने ।

न्यूनतम लगानी मूल्य ५० लाख कुवेती दिनार हुनुपर्ने जुन वर्तमान विनिमय दरअनुसार करिब ४ अर्ब ७० करोड रुपैयाँभन्दा बढी हुन आउँछ ।

कम्तीमा १० लाख कुवेती दिनार (करिब ९४ करोड नेपाली रुपैयाँ) को चुक्ता पुँजी कुवेती बैंक खातामा जम्मा भएको हुनुपर्ने ।

कुवेतमा दीर्घकालीन उपस्थिति खोजिरहेका विदेशी उद्यमी र कम्पनीहरूका लागि यी नयाँ नियमहरू महत्त्वपूर्ण छन् ।

रोजगारीमा आधारित परम्परागत कार्य भिसाहरू जस्तो नभई यो लगानीकर्ता आवासीय अनुमतिले १५ वर्षसम्मको बसोबासको सुविधा प्रदान गर्छ ।

यसले लगानीकर्ता, व्यवसायी र वरिष्ठ कार्यकारीहरूलाई देशमा स्थापित हुन थप स्थायित्व प्रदान गर्छ । परिवारका सदस्यहरूलाई पनि सामेल गराउन सकिने हुनाले यो कार्यक्रम परिवारसहित बसाइँ सर्न चाहनेहरूका लागि आकर्षक छ ।

‘लगानीकर्ता आवासीय अनुमतिले योग्य विदेशी नागरिकहरूलाई १५ वर्षसम्मको दीर्घकालीन बसोबास प्रदान गरेर कुवेतलाई लगानी गन्तव्यको रूपमा थप आकर्षक बनाउन खोजेको छ,’ अध्यागमन फर्म फ्रागोमेनले एक नोटमा भनेको छ ।

खाडी मुलुकहरूले विदेशी पुँजी र दक्ष जनशक्ति आकर्षित गर्न अध्यागमन र लगानी नीतिहरूलाई निरन्तर उदार बनाउँदै लगेका छन् । यसै सन्दर्भमा फ्रागोमेनले थप जानकारी दिँदै ६ वटै खाडी सहयोग परिषद् सदस्य राष्ट्रहरूमा पहुँच दिने जीसीसी ग्रान्ड टुर्स एकीकृत पर्यटक भिसाको विकास पनि तीव्र गतिमा भइरहेको जनाएको छ ।

यो भिसा सन् २०२६ मै सुरु हुन सक्ने अपेक्षा गरिएको छ ।

कुवेतको यो पछिल्लो लगानीकर्ता आवासीय नियमले देशलाई दीर्घकालीन व्यावसायिक गन्तव्यको रूपमा विचार गरिरहेका विदेशी लगानीकर्ताहरूका लागि आवश्यक स्पष्टता प्रदान गरेको छ ।