नेपाल वायुसेवा निगमको जहाजको सम्पूर्ण मर्मत (सिचेक) गर्न दुई वर्ष अगाडि इटाली पठाउँदा भएको कमजोरीको विषयमा सरकारी समितिले तयार पारेको प्रतिवेदन नै गुपचुप छ । पर्यटन मन्त्रालयले नियामक र सेवाप्रदायक दुबै निकायमा उक्त प्रतिवेदन नपठाएको र सम्बन्धित निकायलेसमेत औपचारिक जानकारी नभएको बताउनुले यो प्रतिवेदन अझै मन्त्रालयकै दराजमा थन्किइरहेको छ ।

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले सरकारी अध्ययन समितिकै प्रतिवेदनलाई लत्याएर फेरि अविश्वसनीय संस्थामै वाइडबडी मर्मतको लागि पठाउँदै छ । निगमको एक वाइडबडी एयरबस ए३३०–२०० नामक ९एन–एएलवाई कलसाइनको (अन्नपूर्ण) जहाज असार २३ (जुलाई ७) मा सम्पूर्ण मर्मत सी-चेकको लागि इटाली जाँदै छ ।
निगमले यो जहाज २० दिनभित्रमै मर्मत सकेर ल्याउने र यो जहाज आएपछि साउन ११ (जुलाई २७) मा अर्को ९एन–एएलजेड (मकालु) नामको वाइडबडी जहाज इटालीकै एटीटेक एसपीएमा सी-चेकको लागि जाने गरी तालिका तयार भएको छ ।
निगमका यी दुई जहाज दुई वर्ष अगाडि पनि जम्मा एक महिनाका लागि इटालीमै सी-चेकका लागि गएका थिए । २०८१ को असार ८ मा गएको जहाज ८० दिनपछि र भदौ १२ मा गएको अर्को जहाज ८३ दिनपछि मात्रै काठमाडौं फर्किएको थियो ।
निगमको जहाज त्यतिबेला मर्मतमा पठाउँदा भएको कमजोरी सुधार गर्न र यसअघिको गल्ती नदोहोऱ्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा एक समिति बनाएको थियो ।
उक्त समितिले त्यतिबेलै निगमको जहाज इटालीको एटीटेकमा मर्मत गर्ने गरी गरिएको ठेक्का प्रक्रिया नै त्रुटिपूर्ण भएको औंल्याएको थियो । उक्त त्रुटिलाई सच्याएर विद्यमान प्रावधान बमोजिम प्रक्रिया अवलम्बन गर्नुपर्ने गरी दिएको सुझावलाई लत्याएर वायुसेवा निगमले फेरि दुई वर्ष अगाडि १६३ दिन थन्काइदिएकै कम्पनीमा फेरि निगमको जहाज मर्मतमा जाँदै छ ।
निगमको जहाज मर्मतमा जाँदा यसअघि भएको कमजोरी सच्याएको र फेरि कुनै कमीकमजोरी नहुने आश्वस्त वातावरण तय भएको जानकारीसमेत निगमले दिएको छैन । त्यतिबेलै छानबिन समितिलाई कागजात उपलब्ध नगराएको र छानबिनमा असहयोग गरेको निगमले तालुक निकायले तयार पारेको प्रतिवेदनको विषयमा समेत कुनै जानकारी पाएको छैन ।
वायुसेवा निगमका अनुसार २ वर्ष अगाडि नै नेपाल नागरिक उड्डयन प्राधिकरणबाटै अनुमति पाएर मर्मत सम्भार गरेको र सोही कम्पनीमा दुईवटा जहाज मर्मत सकेर आएकोले अहिले पनि सोही कम्पनीमा जहाज पठाउन लागिएको छ ।

नेपाल वायुसेवा निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनले भने, ‘सरकारले अनुमति दिएको र नियामक निकायबाट स्वीकृति पाएकै संस्थामा जहाजको मर्मत सम्भार हुँदै छ । यसअघि लामो समय मर्मतमा लागेको समयलाई यसपटक सच्याउने सर्तमा निगमले आफ्ना दुवै वाइडबडी जहाज यसअघि नै मर्मत गरेको इटालीको एटीटेकमै पठाउँदै छ ।’
निगमको जहाज मर्मतमा जाने भएकोले सोही अनुसारको उडान तालिका मिलाएको जानकारी पुनले दिए । उनका अनुसार जहाज मर्मतमा जाने भएकोले उडान तालिका कम गरेर मिलाइएको छ । जहाज आउँदा फेरि पुरानै अवस्थामा पूर्ण क्षमतामा उडान गर्ने गरी निगमले योजना बनाएको छ ।
उनका अनुसार सरकारी अध्ययन प्रतिवेदनले दिएको सुझाव र औंल्याएका विषय निगमको औपचारिक जानकारीमा छैनन् । सञ्चारमाध्यममा समाचार आएको देखिएको भए तापनि निगममा उक्त प्रतिवेदन आइनपुगेको र त्यसमा के लेखिएको छ र निगमले के गर्नुपर्छ भन्ने जानकारीसमेत नभएकोले विगतकै मर्मत सम्भारकै कम्पनीमा नियमित मर्मतको लागि पठाउन लागिएको हो ।
यसअघि इटालीमा जहाज मर्मतमा पठाउँदा गैरकानुनी र त्रुटिपूर्ण कार्य गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमका तत्कालीन अध्यक्ष युवराज अधिकारीसहितलाई कारबाही गरेको थियो । निगमले आर्थिक विनियमावली २०६५ को विनियम २१६ विपरीत कार्य गरेको सरकारी अध्ययन समितिको निष्कर्ष छ ।
निगमले नियामक निकायको अनुमति नभएको संस्थामा मर्मत गर्न पठाउँदा दुई वर्ष अगाडि नै झन्झट व्यहोर्नुपरेको थियो । त्यतिबेला सरकारी अध्ययन समितिले निगमले सार्वजनिक खरिद ऐन २०६३ को दफा १४ को उपदफा ३ र सार्वजनिक खरिद नियमावली २०६४ को नियम ४९ क अनुसार हुनुपर्ने पारदर्शी बोलपत्र नभएको उल्लेख गरेको छ ।
सरकारी अध्ययन समितिले निगमले जहाजको मर्मत गर्न पठाउने कम्पनीसँग खुला प्रतियोगिता र पारदर्शिताको सिद्धान्त विपरीतको कार्य गरेको ठहर गरेको थियो । यसै प्रतिवेदनले निगमले गरेको त्रुटिपूर्ण कार्यलाई सच्याएर मात्रै जहाज मर्मतको लागि पठाउनुपर्ने सुझाव दिएको थियो ।
पर्यटन मन्त्रालयले तयार पारेको यो प्रतिवेदन न त नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा पुग्यो, न वायुसेवा निगममा नै ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले पनि सरकारी निकायले अध्ययन गरेको उक्त प्रतिवेदनको औपचारिकताको विषयमा कुनै जानकारी नभएको बताए ।
सेवा प्रदायक निकायसँग सम्बन्धित उक्त प्रतिवेदन नियामक निकाय समक्ष पुग्नुपर्ने र नियामकको पनि केही दायित्व र जिम्मेवारीका काम हुने भए तापनि आफूहरूलाई जानकारी नै नभएको दाबी पनि प्राधिकरणका सूचना अधिकारी भुलले गरे ।
वायुसेवा निगमका तत्कालीन अध्यक्ष युवराज अधिकारीले जहाज मर्मतमा भएको ढिलाइ र निगमलाई भएको हानि–नोक्सानी विरुद्ध क्षतिपूर्ति दाबी गर्ने प्रतिक्रिया दिएका थिए । तर निगमले न त एटीटेकबाट कुनै क्षतिपूर्तिको दाबी गर्न सक्यो, न त आफ्नै कमजोरी नै सच्याउन सक्यो ।
पर्यटन मन्त्रालयका प्रवक्ता जयनारायण आचार्य निगम स्वायत्त निकाय भएकाले उसले गर्ने निर्णयबारे आफूहरू जानकार नहुने बताउँछन् । ‘निगम स्वायत्त निकाय हो । त्यसैले उसले कहिले विमान बनाउने कहाँ बनाउने भन्ने निर्णय गर्न सक्छ यसबारे हामीलाई थाहा हुने कुरा होइन,’ उनले भने । अध्ययन प्रतिवेदनका विषयमा भने सम्बन्धित विभागले नै काम गरिरहेको हुनुपर्ने उनको भनाइ छ ।






प्रतिक्रिया