
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत आफूमाथि भएको दुर्व्यवहारको भिडियो सार्वजनिक गर्ने ऋतु खनालको साहसको प्रशंसा गर्दै दोषीलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
ऋतु खनालले सार्वजनिक गरेको भिडियोप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताउँदै गृहमन्त्रीले उक्त घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाए ।
गृहमन्त्री गुरुङले कुनै पनि महिलामाथि हुने यौन दुर्व्यवहार र उत्पीडन सभ्य समाजका लागि किमार्थ स्वीकार्य नहुने उल्लेख गरेका छन् । पीडितले आफ्नो पीडा पुष्टि गर्नका लागि भिडियो नै सार्वजनिक गर्नुपर्ने अवस्था आउनुलाई राज्य र समाजका लागि चिन्ताको विषय भएको उल्लेख गरे ।
‘यस्ता घटनाको म घोर भर्त्सना गर्दछु,’ गृहमन्त्रीले भने, ‘दोषी जोसुकै भए पनि कानूनको कठघरामा ल्याई कडा कारबाही गर्न म दृढतापूर्वक उभिनेछु । प्रत्येक महिलाले सुरक्षित महसुस गर्ने वातावरण सुनिश्चित गर्नु राज्य र समाज दुवैको साझा जिम्मेवारी हो।’
गृहमन्त्री गुरुङले सबै यौन हिंसा पीडितहरूलाई ढुक्क भएर आवाज उठाउन र अन्याय सहेर नबस्न आग्रह गरेका छन् । उनले यस्ता घटना भएमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा उजुरी दिन अनुरोध गर्दै, यदि प्रहरीले उजुरी लिन अस्वीकार गरे वा कुनै असहजता सिर्जना गरेमा सिधै जिल्ला प्रहरी परिसर वा गृह मन्त्रालयमा जानकारी गराउन निर्देशन दिए ।
पीडितको गुनासोलाई बेवास्ता गर्ने वा उजुरी लिन आलटाल गर्ने प्रवृत्तिलाई पनि मन्त्रालयले कडाइका साथ हेर्ने र त्यस्तो प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ छ ।






प्रतिक्रिया