
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिहरूलाई तत्काल बजार भाउ घटाउन निर्देशन दिएकी छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित उद्योगी व्यवसायीसहितको बैठकमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने बताइन् ।
बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, फलफूल तथा तरकारी व्यवसायी महासंघ र चामल, दाल, तेल व्यवसायी महासंघका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
छलफलका क्रममा व्यवसायीहरूले हालको व्यवसायिक समस्या र आफ्ना विभिन्न गुनासोहरू मन्त्री समक्ष राखेका थिए।
व्यवसायीका गुनासा सुनेपछि मन्त्री यादवले अहिलेको अनियन्त्रित बजार भाउका कारण सर्वसाधारण नागरिकहरू चरम मारमा परेको उल्लेख गर्दै कुनै पनि बहानामा ढिलाइ नगरी मूल्य घटाउन निर्देशन दिएकी थिइन् ।
उनले भनिन, ‘नुन, तेल, चामलदेखि हरियो तरकारीसम्मका अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरूको बिक्री वितरणलाई सहज बनाउँदै तत्कालै बजारको वास्तविक अवस्था हेरेर भाउ घटाउनुहोस् ।’
सरकार र प्रधानमन्त्रीको समेत यस विषयमा जोडदार चासो रहेकाले बजारलाई यथाशक्य चाँडो उपभोक्ता मैत्री बनाउन मन्त्रालय गम्भीर भएर लागिपर्ने उनको भनाइ थियो ।
मन्त्रीको निर्देशन र बजारको वस्तुस्थितिलाई बुझ्दै बैठकमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले पनि यस विषयमा सकारात्मक प्रतिक्रिया दिएका छन्। उनीहरूले आम उपभोक्तालाई राहत दिने गरी बजार मूल्य घटाउने कार्यमा सरकारलाई पूर्ण सहयोग गर्ने र आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएका छन् ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवहरू तथा आपूर्ति व्यवस्थापन सम्बन्धी संस्थानका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा सहसचिव एवम् प्रवक्ता नेत्र सुवेदीले उपभोक्ता संरक्षण ऐनका प्रावधानका बारेमा संक्षिप्त प्रस्तुति राखेका थिए ।






प्रतिक्रिया