न्युक्यासल छोडेर टोटेनह्याम गए सान्ड्रो टोनाली, क्लबको इतिहासकै महँगो खेलाडी


टोटेनह्यामले क्लबकै कीर्तिमानी शुल्कमा न्युक्यासलका मिडफिल्डर सान्ड्रो टोनालीलाई अनुबन्ध गरेको छ । यो सम्झौता १०० मिलियन पाउण्ड सम्म पुग्न सक्ने बीबीसीले जनाएको छ ।

२६ वर्षीय यी खेलाडी न्युक्यासलमा तीन सिजन बिताएपछि लन्डन क्लबमा आबद्ध भएका हुन् ।

स्पर्सले सुरुमा राखेको करिब ८० मिलियन पाउण्डको प्रस्ताव न्युक्यासलले अस्वीकार गरेको थियो, तर पछि ९२.५ मिलियन पाउण्ड सुरुवाती भुक्तानी र थप ७.५ मिलियन पाउण्ड ‘एड-अन्स’ (थप शुल्क) दिने गरी सम्झौता भएको हो ।

टोनालीले भने, ‘म यहाँ आउन पाउँदा निकै खुसी छु । मानिसहरूले चार वा पाँचवटा क्लबका बारेमा कुरा गरिरहेका थिए—तर मेरा लागि केवल एउटा (टोटेनह्याम) मात्र थियो ।’

‘मैले मुख्य प्रशिक्षक रोबर्टो डी जर्बीसँग क्लब, समर्थक, रंगशाला र हाम्रो फुटबलका बारेमा करिब दुई घण्टा कुरा गरेँ। यो जादुमय जस्तै थियो किनकि मैले तुरुन्तै थाहा पाएँ कि मैले टोटेनह्यामसँगै सम्झौता गर्नुपर्छ। मैले टोटेनह्याम विरुद्ध केही पटक खेलेको छु र त्यहाँका महान समर्थकहरूले बनाएको उत्कृष्ट वातावरण सधैं अनुभव गरेको छु। म सिजन सुरु गर्न निकै उत्साहित छु,’ उनले भने ।

टोनाली अर्का महँगो खेलाडी माटेउस फर्नान्डेजसँगै टोलीमा सामेल भएका छन्, जो ८५ मिलियन पाउण्डमा वेस्ट ह्यामबाट स्पर्स आएका थिए ।

इटालीका अन्तर्राष्ट्रिय खेलाडी टोनाली सन् २०२३ को जुलाईमा ५५ मिलियन पाउण्डमा एसी मिलानबाट न्युक्यासल आएका थिए।

आगमनको केही समयपछि नै सट्टेबाजी नियमहरू उल्लंघन गरेको आरोपमा उनलाई इटालीको फुटबल महासंघले १० महिनाको प्रतिबन्ध लगाएको थियो ।

तर पुनरागमनपछि उनी एक महत्त्वपूर्ण खेलाडी बने र सन् २०२५ मा न्युक्यासललाई ७० वर्षपछि पहिलो उपाधि (काराबाओ कप) जिताउन मद्दत गरे ।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै टोनालीले न्युक्यासल र म्यानेजर एडी हाउलाई ‘अलविदा भन्ने समय आएको’ बताएका छन्। उनले फ्यानहरूलाई उनीहरूको समर्थनका लागि धन्यवाद दिँदै ‘सही शब्दहरू भेट्टाउन गाह्रो भइरहेको’ उल्लेख गरेका छन् ।

‘ममाथि विश्वास गरेको र मलाई अघि बढ्न मद्दत गरेकोमा कर्मचारी र मेरा टोलीका साथीहरूलाई धन्यवाद,’ उनले लेखेका छन्,’मुख्य प्रशिक्षक एडीका लागि विशेष उल्लेख गर्न चाहन्छु, जो मेरो यो यात्रामा सधैं मार्गदर्शक बने र जसले सधैं मलाई साथ दिए । यो सहरले मलाई फुटबल मात्र दिएन। यसले मलाई एउटा घर, कहिल्यै नबिर्सने क्षणहरू र सधैं कृतज्ञ रहने मानिसहरू दियो। सबैका लागि धन्यवाद।’

स्पर्सका बोस डी जर्बी, जसले मार्चको अन्त्यमा टोटेनह्यामको जिम्मेवारी सम्हालेर क्लबलाई प्रिमियर लिगको रेलिगेसनबाट मुस्किलले जोगाएका थिए, उनले टोनालीलाई एक ‘विशेष खेलाडी’ को रूपमा वर्णन गरे।

गत सिजन प्रिमियर लिगमा १७औं स्थानमा रहँदै रेलिगेसन जोनभन्दा मात्र दुई अंक माथि रहेकाले टोटेनह्यामका लागि यो गर्मीको सिजन निकै व्यस्त रहेको छ ।

डिफेन्डरहरू एन्डी रोबर्टसन र मार्कोस सेनेसी ‘फ्री ट्रान्सफर’मा आएका छन् भने क्लबले सेन्टर ब्याक जान पल भ्यान हेके र मिडफिल्डरहरू फर्नान्डेज र टोनालीमा कुल २३७ मिलियन पाउण्ड खर्च गर्न सक्छ ।