
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले नेपाल मोबिलिटी एक्स्पो २०२६ साउन २६ गतेदेखि ३१ गतेसम्म आयोजना गर्ने भएको छ । नाईमाले आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा दोस्रो नाईमा मोबिलिटी एक्स्पो आयोजना गर्ने भएको हो ।
नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनीका रूपमा आयोजना हुने यस कार्यक्रममा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च रहनेछन् । एक्स्पोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, व्यावसायिक सवारी साधन (कमर्सियल भेहिकल), इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी समाधान, प्रविधि, सेवा तथा मोबिलिटीसँग सम्बन्धित अन्य उत्पादनहरू समेटिनेछन् ।
पत्रकार सम्मेलनमा नाइमा अध्यक्ष रितु सिंह वैद्यले नाइमा एक वर्षअघि नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरू समेट्ने २१ सदस्य कम्पनीबाट सुरु भएको र हाल ३६ प्रमुख सदस्य कम्पनीमा विस्तार भएको जानकारी दिइन् । उनका अनुसार, यो वृद्धि उद्योग क्षेत्रले नाइमाप्रति देखाएको विश्वास, एकीकृत मञ्चको आवश्यकता र नेपालको मोबिलिटी क्षेत्रको जिम्मेवार आवाजका रूपमा नाइमाको बढ्दो भूमिकाको स्पष्ट प्रतिविम्ब हो ।
नाइमा एक्स्पोको विषयमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा नाईमा अध्यक्ष वैद्यले भनिन्, ‘देशकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा स्थापित हुँदै गएको नाइमा नेपाल मोबिलिटी एक्स्पोप्रति उद्योग क्षेत्रबाट प्राप्त उत्साहजनक सहभागिताले यसको महत्व थप पुष्टि गरेको छ । एक्स्पोलाई प्रदर्शनीमा सीमित नराखी नेपालमा आधुनिक, दिगो र सर्वसुलभ गतिशीलता प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्ने नाइमाको उद्देश्य रहेको छ ।’
यस्तै, नाइमा नेपाल मोबिलिटी एक्स्पो योजना समितिका संयोजक गौरव शारडाले चार पांग्रे सवारी ब्रान्डहरूमा टाटा, किया, डेन्जा, आमोडा, एमजी लगायत चार पाङ्ग्रे, दुइपाङ्ग्रे ब्रान्ड सहभागी हुने जानकारी दिए ।
साथै, गत वर्षको तुलनामा यस वर्षको नाइमा एक्स्पो थप उत्साहपूर्ण हुने उनले बताए । उनका अनुसार नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सवारी साधन, मोबिलिटी समाधान, प्रविधि तथा नवप्रवर्तनका नवीनतम प्रवृत्तिहरू प्रदर्शन गरिनेछन् ।
एक्स्पोमा अग्रणी ब्रान्डहरूको सहभागिता, नयाँ उत्पादन सार्वजनिकरण, अत्याधुनिक प्रविधिको प्रदर्शन तथा समानान्तर ज्ञानमूलक सत्रहरू समावेश हुनेछ । सोमबार आयोजित पत्रकार सम्मेलनमा नाईमाले प्रायोजक, सहप्रायोजक, टिकटिङ पार्टनर लगायतलाई पनि सहभागिता गराएको थियो ।






प्रतिक्रिया