
काठमाडौं । नेपालको घरजग्गा कारोबारमा सामान्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको ‘घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति’ प्रतिवेदन अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा घरजग्गा कारोबारको संख्या, क्षेत्रफल र रकममा पनि सुधार देखिएको हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रमा सुधार देखिएको हो । तेस्रो त्रैमासमा देशभरको कुल घरजग्गा कारोबार संख्या ६.४२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । गत आवको यही अवधिमा यस्तो कारोबार ४.५२ प्रतिशतले घटेको थियो ।
१८३ अर्बको कारोबार हुँदा राजस्व २३ प्रतिशतले बढ्यो
राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार माघदेखि चैतसम्म देशभर कुल १ खर्ब ८३ अर्ब ८० करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८३ अर्बभन्दा बढीले बढेको हो । गत वर्षको तेस्रो त्रैमासमा १ खर्ब ७ करोड रुपैयाँको मात्र कारोबार भएको थियो ।
कारोबार बढेसँगै सरकारको राजस्व संकलनमा पनि सकारात्मक प्रभाव परेको छ । घरजग्गा कारोबारबाट संकलन हुने राजस्व २३.७२ प्रतिशतले वृद्धि भएको छ । पुँजीगत लाभकर संकलनमा ३१.४२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । जसले घरजग्गाको मूल्यमा भएको वृद्धि वा धेरै नाफा हुने क्षेत्रमा कारोबार केन्द्रित भएको संकेत गर्ने प्रतिवेदनमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने घरजग्गा कर्जा (आवासीयसहित) ५.५५ प्रतिशतले बढेको छ ।
बागमती प्रदेशमा उच्च वृद्धि, मधेशमा घट्यो
प्रादेशिक रूपमा हेर्दा बागमती प्रदेशमा घरजग्गा कारोबार उच्च देखिएको छ । बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबार संख्या सबैभन्दा धेरै ३३.०१ प्रतिशतले बढेको छ । तर, मधेश प्रदेशमा भने कारोबारमा ४.७९ प्रतिशतको गिरावट देखिएको छ । मधेश बाहेकका अन्य सबै प्रदेशमा कारोबार संख्या बढेको प्रतिवेदनले देखाउँछ ।
क्षेत्रफलका आधारमा गण्डकी प्रदेशमा सबैभन्दा धेरै २४.८४ प्रतिशतले कारोबार भएको जग्गाको क्षेत्रफल बढेको छ । मधेश प्रदेशमा ९.३३ प्रतिशतले घटेको छ । कारोबारको कुल मूल्यका आधारमा पनि बागमती प्रदेश नै अगाडि छ । बागमतीमा कुल मूल्यका आधारमा १३१.५२ प्रतिशतको वृद्धि देखिएको छ । सबै सातै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा धेरै किनबेच भएको पाइएको छ ।
गत आवमा मधेश प्रदेशमा २० आनाभन्दा बढीका प्लटहरूमा सबैभन्दा धेरै कारोबार भएको थियो भने अन्य सबै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा धेरै कारोबार भएको थियो ।
देशका ६ वटा महानगरपालिकाहरूमध्ये काठमाडौं महानगरपालिकामा घरजग्गाको कारोबार सबैभन्दा उच्च देखिएको छ । काठमाडौंमा घरजग्गा कारोबार संख्या १०८.४२ प्रतिशतले बढेको छ । काठमाडौंपछि पोखरामा ८२.१५ प्रतिशत, ललितपुरमा ७३.८१ प्रतिशत, वीरगञ्जमा ३१.०७ प्रतिशत, भरतपुरमा २९.२१ प्रतिशत र विराटनगरमा २७.९२ प्रतिशतले कारोबार संख्या बढेको छ ।
कारोबार भएको कुल क्षेत्रफल र कुल मूल्यका आधारमा पनि काठमाडौं नै शीर्ष स्थानमा छ । काठमाडौं महानगरमा घरजग्गा कारोबारको कुल मूल्य २२३.१२ प्रतिशतले बढेको छ ।
उपमहानगरपालिकाहरूको हकमा लुम्बिनी प्रदेशका सहरहरूमा आकर्षण देखिएको छ । बुटवल उपमहानगरपालिकामा घरजग्गा कारोबार संख्या सबैभन्दा धेरै ५६.७९ प्रतिशतले बढेको छ । कलैया उपमहानगरमा भने कारोबार संख्या ६.९५ प्रतिशतले घटेको छ ।
कारोबार भएको कुल मूल्यको आधारमा दाङको तुलसीपुर उपमहानगरपालिका अग्रस्थानमा देखिएको छ । तुलसीपुरमा घरजग्गा कारोबारको कुल मूल्य १३४.४६ प्रतिशतले वृद्धि भएको छ । तर, नेपालगञ्ज उपमहानगरपालिकामा भने कारोबार भएको कुल क्षेत्रफलमा ६८.२९ प्रतिशतको ठूलो गिरावट आएको छ ।






प्रतिक्रिया