अमेरिकाबाट फिर्ता गरिएका १३औं र १६औं शताब्दीका दुई ऐतिहासिक मूर्ति नेपाल सरकारलाई हस्तान्तरण


काठमाडौं । नेपालको पुरातत्त्व विभागमा सोमबार आयोजित एक विशेष समारोहका बीच अमेरिकाबाट फिर्ता ल्याइएका दुई महत्त्वपूर्ण सांस्कृतिक सम्पदाहरू नेपाललाई हस्तान्तरण गरिएको छ ।

फिर्ता गरिएका ती बहुमूल्य वस्तुहरूमा १३औं शताब्दीको सुनले जलप लगाइएको कास्यको पद्मपाणि (लोकेश्वर) र १६औं शताब्दीको विभिन्न रंगले सजिएको काठको नृत्यदेवीको मूर्ति रहेका छन् ।

सांस्कृतिक सम्पदाको अवैध ओसारपसार विरुद्ध लड्न र पवित्र धार्मिक वस्तुहरूलाई उनीहरूकै मूल समुदायमा पुनःस्थापित गर्न अमेरिका र नेपालबीच वर्षौंदेखि हुँदै आएको घनिष्ठ सहकार्यको परिणामस्वरूप यी मूर्तिहरू स्वदेश फर्काइएका हुन् ।

हालै कार्यान्वयनमा आएको अमेरिका–नेपाल सांस्कृतिक सम्पत्ति सम्झौताले यस साझेदारीलाई अझ मजबुत बनाएको छ । यस सम्झौताले भविष्यमा गरिने संयुक्त अनुसन्धान, तस्करी रोकथाम र नेपालको समृद्ध सांस्कृतिक सम्पदाको सुरक्षाका लागि एउटा बलियो कानुनी र कूटनीतिक ढाँचा प्रदान गर्ने विश्वास लिइएको छ ।

समारोहमा बोल्दै अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्करले भने, ‘हालसम्म अमेरिकाबाट १२७ वटा नेपाली पुरातात्त्विक वस्तुहरू उनीहरूको वास्तविक घर नेपालमा फिर्ता भइसकेका छन् । यी दुई पवित्र मूर्तिहरूको फिर्तीले हाम्रो सहकार्यको रेकर्डलाई अझ बलियो बनाएको छ ।’

हार्करले थप स्पष्ट पार्दै यी प्रयासहरूले कसरी फौजदारी अनुसन्धान, कूटनीतिक समन्वय र सामुदायिक वकालतले मिलेर पुरातात्त्विक वस्तुहरूको तस्करी गर्ने सञ्जाललाई ध्वस्त पार्न सक्छ भन्ने सफल उदाहरण प्रस्तुत गरेको बताए ।

नयाँ सम्झौताले दुवै देशलाई आगामी दिनमा हुने अनुसन्धानमा सहयोग पुर्याउन र नेपालको पवित्र सम्पदालाई अवैध बजारमा पुग्नबाट रोक्न अझ बलियो आधार दिने हार्करले उल्लेख गरे ।

अमेरिकाले यो महत्त्वपूर्ण उपलब्धिमा नेपाल सरकार र नेपाली जनतालाई बधाई ज्ञापन गरेको छ । साथै, सांस्कृतिक सम्पदाको संरक्षण गर्न, विधिको शासनलाई कायम राख्न र नेपालको गौरवपूर्ण इतिहासलाई भावी पुस्ताका लागि जोगाउन नेपालसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता समेत दोहोर्याएको छ ।