
विराटनगर । भारतले नेपाली चियाको गुणस्तर परीक्षणका नाममा दु:ख दिएर डेढ महिनादेखि निकासीमा अवरोध पुर्याउँदा उत्पादित वस्तुले बजार नपाएर कुहिने अवस्था र्सिजना भएपछि नेपालका चिया उद्योगीले उद्योग नै बन्द गर्ने घोषणा गरेका छन् ।
सोमबारदेखि इलामका ५६ वटै र बुधबारदेखि झापाका ३० वटा चिया उद्योग बन्द गर्ने निर्णय भएको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए ।
ती उद्योगमा एकलाख मजदुर र किसानका ३० हजार घर परिवार जोडिएका छन् । पराजुलीका अनुसार इलाममा वार्षिक ६५ लाख किलो र झापामा वार्षिक २ करोड किलो चिया उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित चियाको ९० प्रतिशत बजार भारत हो ।
भारतीय चिया बोर्डले नेपाली चियाको गुणस्त परीक्षणका नाममा भारत पुगेको झण्डै दुईलाख किलो चिया बजारमा निकाल्न नदिएर आयतकर्ताको गोदाममै थन्क्याएको र निकासी अवरुद्ध हुँदा १० लाख किलो भन्दाबढी चिया उद्योगमै कुहिने अवस्था आउदा पनि सरकारले निकासी सहजताका लागि कुनै कुटनीतिक पहल नगरेको भन्दै उद्योगीले उद्योग नै बन्दको विकल्प रोजेका हुन् ।
यसैक्रममा इलामको सुर्योदय अर्थोडक्स टी प्रोडुसर्स एशोसिएसनले विज्ञप्ती सार्वजनिक गर्दै असार १ गतेदेखि सूर्योदय नगरपालिका भित्रका सबै अर्थोडक्स चिया उद्योग बन्द हुने घोषणा गरेको छ ।
‘नेपाली चियाले विगतका वर्षहरुदेखि निकासीमा विभिन्न समस्या भोग्दै आएको सर्वविदित नै छ । हालै मात्र भारतीय चिया बोर्डले नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) जारी गरेपछि नेपाली चिया निर्यातमा झन ठुलो बाधा पुगेको छ,’ विज्ञप्तीमा उल्लेख छ ।
‘विभिन्न प्रकारका गुणस्तर जाँच जोखिमपूर्ण र अपारदर्शी नतिजा तथा भण्डारणको अभाव जस्ता जटिल समस्याहरुका कारण नेपालवाट भारततर्फ चिया निकासी हुन सकिरहेको छैन ।’ विज्ञप्तीमा भनिएको छ, ‘जटिल गुणस्तर जाँचका वहानामा भारतीय बजार पुगेको करिव २ लाख किलोभन्दाबढी तयारी चिया भारतीय गोदाममै रोकिएको अवस्था छ ।’
यता नेपालका उद्योगहरुमा १० लाख किलो भन्दा बढी तयारी चिया थन्किएर बसेको छ । भारतीय चिया बोर्डले परीक्षणका लागि लगेको चियाको नमुना रिपोर्ट महिनौ दिनसम्म पनि दिएको छैन । यदि रिपोर्ट आउँदा गुणस्तरहीन देखिएमा उक्त चियालाई भारतीय गोदाममै नष्ट गर्नुपर्ने जस्ता अव्यवहारिक नियमहरू थपिएका छन् ।
यी समस्याका कारण उद्योगहरूले किसानलाई हरियो चियापत्तिको भुक्तानी समेत दिन नसक्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ, ‘यस्तो विसम परिस्थितिमा हामी सम्पूर्ण उद्योगीहरु बाध्य भएर आगामी दिनमा उद्योग सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छौँ र असार १ गतेदेखि सम्पूर्ण उद्योगहरू बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको जानकारी गराउछौँ ।’
एशोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठका अनुसार त्यहाँ साना ठूला गरेर ५३ वटा उद्योग छन् । ‘वार्षिक सरदर साढे चार अर्बको चिया भारत निकासी हुँदै आएको छ । तर निकासी अवरुद्ध भएको डेढ महिना पुग्दा समेत सरकारले कुटनीतिक पहल गरेन,’ चिया उत्पादक संघका अध्यक्ष पराजुलीले भने,’सोमबारदेखि इलामका र बुधबारदेखि झापाका सबै चिया उद्योग बन्द गरेर चरणबद्ध आन्दोलनको तयारी गरेका छौँ ।’
चिया किसान, मजदुर र उद्योगीले सरकारलाई दवाव दिन काँकरभिट्टा नाकाबाट भारतीय उत्पादन भित्रिन नदिने र नाका अवरुद्ध गर्ने लगायतका आन्दोलन गर्ने तयारी गरेको पराजुलीले बताए ।
गत बैशाख १८ देखि भारतीय चिया बोर्डले नेपालबाट भारत जाने चियामा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि २१ दिनसम्म निर्यात ठप्प भएको थियो ।
त्यसको व्यापक विरोधपछि भारतीय पक्षले प्रत्येक ट्रकको परीक्षण नगरी ‘र्यान्डम स्याम्पलिङ’ मात्र गर्ने लिखित जानकारी दिएपछि दुई दिन पुनः निर्यात भएको थियो । तर भारतीय पक्षले निर्यातकर्ताको गोदाममै पुगेर गुणस्तर परीक्षणका नाममा नमुना संकलन गर्दै परीक्षण रिपोर्ट नआएसम्म चिया गोदामबाट बाहिर ननिकाल्न आदेश दिएपछि चिया निकासी पूर्णरुपमा ठप्प भएको र उद्योग नै बन्द गर्नु परेको पराजुलीले बताए ।
चालु आर्थिक वर्षको वैशाखसम्ममा ३ अर्ब ३५ करोड मूल्य बराबरको ११ हजार ४ सय टन नेपाली चिया निर्यात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक छ । गत वर्ष ४ अर्ब ५९ करोड मूल्यको १५ हजार ६ सय टन चिया निकासी भएको निकासी प्रवद्धन केन्द्रको तथ्यांक छ ।









प्रतिक्रिया