
काठमाडौं । त्रिवेणी स्पिनिङ मिल्सले एकै वर्ष साढे ३ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ३ अर्ब ४८ करोड १० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२४ मा २ अर्ब ४३ करोड ४० लाख रुपैयाँ र सन् २०२३ मा २ अर्ब ३८ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीको कारोबार गत आवमा ४३ प्रतिशतले वृद्धि भएको छ । कम्पनी अनुसार गत आवमा भारतमा निर्यात उच्च हुँदा कारोबार वृद्धि भएको उल्लेख छ । कम्पनीले गत आवमा कारोबार गरेको मध्ये भारत र टर्कीमा निर्यातको हिस्सा ८४ प्रतिशत रहेको छ । सन् २०२४ मा ७२ प्रतिशत थियो ।
त्यस्तै, कम्पनीले चालू आवको १० महिनाको अवधिमा २ अर्ब ६४ करोड ९० लाख रुपैयाँको कारोबार गरिसकेको छ । कम्पनीले गत आवमा ४.०४ प्रतिशत सञ्चालन नाफा कमाएको छ । सन् २०२४ मा २.११ प्रतिशत थियो । तर, कम्पनीले भने खुद घाटा व्यहोरेको छ । कम्पनी अनुसार सन् २०२४ र गत आवमा उच्च ब्याजदर खर्चका कारण कम्पनीले खुद घाटा व्यहोरेको हो । साथै, कम्पनीको कुल नगद सञ्चय पनि नकारात्मक रहेको छ ।
गत आवसम्ममा कम्पनीको पुँजी संरचना उच्च ऋणभारयुक्त अवस्थामा थियो । कम्पनीको समग्र गियरिङ अनुपात ३.७८ गुणा पुगेको छ । सन् २०२४ मा २.८५ गुणा थियो । सन् २०२४ र सन् २०२५ मा निरन्तर घाटाका कारण ट्यान्जिबल नेटवर्थमा आएको ह्रासको परिणाम रहेको कम्पनीले जनाएको छ ।
कम्पनीको ब्याज भुक्तानी क्षमता ०.७१ गुणा रहेको छ । सन् २०२४ मा ०.३८ गुणा थियो । कम्पनीको ऋण भुक्तानीमा केही सुधार देखिए पनि ब्याज दायित्व वहन गर्ने क्षमता मध्यम स्तरमै छ ।
सन् १९९५ मा स्थापना भएको कम्पनी सन् २०२३ मा पब्लिक कम्पनीमा परिणत भएको थियो । सङ्घाई परिवारद्वारा सञ्चालित कम्पनीले पोलिस्टर, भिस्कोस एन्ड एक्रेलिक ब्लेन्डेड यार्न उत्पादन गर्दै आएको छ । वार्षिक १८ हजार मेट्रिक टन उत्पादन क्षमता रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ३ करोड ७० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ३० करोड २६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ७३ करोड ४३ लाख रुपैयाँको रेटिङ गराएको हो ।
कम्पनीका अध्यक्ष रामचन्द्र संघई हुन् ।
कम्पनीले सन् २०१६ को अगस्टदेखि सन् २०१८ को अप्रिलसम्मको अवधिको समर्पित फिडर शुल्कबापत अतिरिक्त विद्युत् महसुल सन् २०१९ मा नेपाल विद्युत् प्राधिकरणले दाबी गरेको थियो । सोही अनुसार प्राधिकरणले कम्पनीसँग ८६ करोड ९० लाख रुपैयाँ माग गरेको थियो ।
त्यसपश्चात् प्राधिकरणसँगको पत्राचारका आधारमा २८ सेप्टेम्बर २०२५ सम्म उक्त सम्भावित दायित्व पुनर्मूल्याङ्कन गरी ३२ करोड १० लाख रुपैयाँ कायम गरिएको छ । सो रकम २८ किस्तामा भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ । कम्पनीले धरौटीस्वरूप एक किस्ताबापत १ करोड १४ लाख रुपैयाँ हिमालयन बैंकमार्फत भुक्तानी गरिसकेको छ ।









प्रतिक्रिया