लेखामान बोर्डको अध्यक्षमा वरिष्ठ सीए रमेश धिताल नियुक्त

105
Shares

काठमाडौं । सरकारले नेपाल लेखामान बोर्ड (एकाउन्टिङ स्ट्यान्डर्ड बोर्ड–एएसबी) को अध्यक्ष पदमा सिन्धुपाल्चोकको चौतारा नगरपालिकाका वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट (सीए) रमेश कुमार धिताललाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐन, २०५३ बमोजिम लेखाव्यवसाय र वित्तीय प्रतिवेदन प्रणालीलाई थप सुव्यवस्थित, पारदर्शी र नियमन गर्न धिताललाई यो जिम्मेवारी सुम्पेको हो ।

अर्थ मन्त्रालय स्रोतका अनुसार नवनियुक्त अध्यक्ष धितालसँग लेखापरीक्षण, वित्तीय क्षेत्रको परामर्श, जोखिम व्यवस्थापन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा वित्तीय प्रतिवेदन मान (एनएफआरएस/आईएफआरएस) कार्यान्वयनको क्षेत्रमा २० वर्षभन्दा बढीको गहन अनुभव रहेको छ ।

नेपालमा लेखामानको कार्यान्वयन, बैंक तथा वित्तीय संस्थामा एनएफआरएस एवं इसीएल कार्यान्वयनमा नेतृत्वदायी भूमिका खेल्दै उनले सूचना प्रविधि लेखापरीक्षणलाई समेत परिष्कृत एवं विशिष्टीकृत बनाउन उल्लेख्य योगदान दिएका छन् । धितालले आफ्नो व्यावसायिक यात्रा विश्वको प्रतिष्ठित ‘बिग ४’ मध्येको एक वित्तीय परामर्शदाता कम्पनी ‘अन्स्र्ट एण्ड यंग’, मुम्बईबाट सुरु गरेका थिए ।

उनले नेपालका प्रतिष्ठित संस्थाहरू जस्तै नेपाल राष्ट्र बैंक, नेपाल विद्युत् प्राधिकरण, नेपाल एयरलाइन्स, बीमा प्राधिकरण लगायतका दर्जनौँ बैंकिङ, वित्तीय तथा बहुराष्ट्रिय कम्पनीहरूको लेखापरीक्षण तथा कन्सल्टी सेवाको नेतृत्व गरिसकेका छन् ।

साथै, उनले एसियाली विकास बैंकका विभिन्न परियोजनाहरूमा समेत विभिन्न भूमिका र जिम्मेवारीमा कार्य गरिसकेका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट संघमा उपाध्यक्ष तथा महासचिवका रूपमा सफलतापूर्वक जिम्मेवारी पूरा गरिसकेका धितालले यसअघि लेखामान बोर्ड र लेखापरीक्षणमान बोर्ड (अडिटिङ स्ट्यान्डर्ड्स बोर्ड) मा सल्लाहकारका रूपमा समेत प्राविधिक योगदान दिइसकेका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको अनुशासन समिति लगायत विभिन्न समितिमा रहेर कार्य गरिसकेका धिताल हाल परीक्षा समिति सदस्यका रूपमा कार्यरत छन् । उनले संस्थाको विभिन्न तहका अध्ययन सामग्री तयारीमा अमुल्य योगदान दिनुका साथै विभिन्न विश्वविद्यालय तथा प्रशिक्षण केन्द्रहरूमा संकाय सदस्यका रूपमा समेत सेवा पुर्‍याउँदै आएका छन् ।

शैक्षिक र व्यावसायिक योग्यताका हिसाबले धितालले नेपाल र भारत दुवै देशबाट चार्टर्ड एकाउन्टेन्सी (एफसीए) गरेका छन् । उनीसँग पूर्वाञ्चल विश्वविद्यालयबाट एमबीए, अमेरिकाको इसाकाबाट सिसा र बेलायतको एसीसीएबाट डिपआईएफआर जस्ता उच्च प्राविधिक योग्यताहरू रहेका छन् ।

नेपालको वित्तीय प्रणालीलाई अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास (इन्टरनेशनल बेस्ट प्राक्टिसेज) सँग जोड्न र नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) लाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन धितालको प्राविधिक विशेषज्ञता र नेतृत्वले बोर्डलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले धितालको विज्ञता र क्षमताको आधारमा उनी बोर्डको नेतृत्वका लागि पूर्ण योग्य देखिएकाले सरकारले नियुक्त गरेको बताए ।