पोखरामा अहिलेसम्मकै धेरै भारतीय पर्यटकः सबै होटल खचाखच, गल्लीगल्लीमा भेटिन्छन्

469
Shares

काठमाडौं । भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै पर्यटकीय नगरी पोखरा यतिबेला भरिभराउ बनेको छ । लेकसाइड क्षेत्रमा पर्यटकको चहलपहल बढ्दा डुंगा सयरदेखि ट्रेकिङ गतिविधिसम्म अत्यधिक व्यस्त देखिएको हो ।

फेवातालमा एकै दिन ५ हजारभन्दा बढी पर्यटकले डुंगा सयर गरेको डुंगा व्यवसायीहरूले बताएका छन् । तालमा दिनभर डुंगाको आवतजावत बाक्लो रहँदा व्यवसायीहरू उत्साहित बनेका छन् । त्यस्तै, अन्नपूर्ण क्षेत्रलगायत आसपासका पदमार्गहरूमा पनि भारतीय पर्यटकको उल्लेख्य उपस्थिति देखिएको छ ।

पर्यटकको बढ्दो चापसँगै पोखराका अधिकांश होटल भरिभराउ भएका छन् । होटलहरू पर्यटकले भरिएपछि व्यवसायीहरू खुसी देखिएका छन् । भारतीय पर्यटकको अत्यधिक चापका कारण लेकसाइड तथा मुख्य पर्यटकीय क्षेत्रमा पार्किङ व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । सडक किनारमा सवारीसाधनको भीड बढ्दा ट्राफिक व्यवस्थापनमा समेत दबाब परेको छ ।

नेपालमा वर्षाको समय अर्थात् ‘अफसिजन’ मानिनेमा पनि भारतीय पर्यटकहरूको उल्लेख्य उपस्थिति देखिएको छ । ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले यसलाई नेपालको पर्यटन क्षेत्रका लागि सुखद र सकारात्मक संकेतका रूपमा चित्रण गरे ।

छिमेकी मुलुक भारतमा बढ्दो गर्मी र त्यहाँ भइरहेको बिदाका कारण अहिले ठूलो संख्यामा भारतीयहरूले नेपाललाई आफ्नो प्रमुख गन्तव्य बनाएका छन् । विशेषगरी धार्मिक आस्थाका कारण मुक्तिनाथ र पशुपतिनाथ दर्शन गर्न आउनेहरूको संख्या उल्लेख्य रहेको छ ।

‘हिन्दु धर्ममा जन्मिएपछि एकपटक मुक्तिनाथ दर्शन गर्नुपर्छ भन्ने धार्मिक विश्वास र पछिल्लो समय मिडियाका कारण सिर्जित सकारात्मक सन्देशले पर्यटकको आगमन बढेको हो,’ अध्यक्ष आचार्यले भने ।

अहिले नेपाल आउने भारतीय पर्यटकहरूमध्ये युवा पुस्ता विशेषगरी साहसिक पर्यटनतर्फ आकर्षित देखिएका छन् । मर्दी हिमाल, अन्नपूर्ण आधार शिविर (एबीसी) र उपल्लो मुस्ताङजस्ता क्षेत्रमा भारतीय युवाहरूको बाक्लो उपस्थिति रहेको आचार्यले जानकारी दिए । उनका अनुसार पदमार्गहरूमा पर्यटकको चाप यति धेरै छ कि ‘अफसिजन’ मा पनि बास बस्नका लागि कोठा पाउनसमेत कठिन भइरहेको छ । युवाहरू पदयात्रा र बाइकिङमा रमाउँदा पाको उमेरका पर्यटकहरू भने धार्मिक स्थलहरूको भ्रमणमा केन्द्रित छन् ।

पर्यटकको संख्या बढ्नु उत्साहजनक भए पनि उनीहरूको व्यवस्थापनमा देखिएका केही चुनौतीहरूतर्फ पनि आचार्यले सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । विशेषगरी बसमा सामूहिक रूपमा यात्रा गर्ने पर्यटकहरूले सडक किनारमै खाना पकाउने र खानपान गर्ने गर्दा दृश्य छरपस्ट देखिने गरेको उनले बताए ।

यस प्रकारका पर्यटकहरूलाई व्यवस्थित गर्न प्रमुख पर्यटकीय र धार्मिक मार्गहरूमा विश्राम केन्द्र (सेन्टर) हरू निर्माण गर्नुपर्ने उनको सुझाव छ । पर्यटकहरूलाई उचित स्वागत र व्यवस्थापन गर्नु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै अध्यक्ष आचार्यले यसबाट अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन क्षेत्रबारे सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे । उनले धार्मिक र साहसिक दुवै प्रकारका पर्यटकलाई आवश्यक न्यूनतम पूर्वाधार र सुविधा उपलब्ध गराउन ढिलाइ गर्न नहुनेमा जोड दिए ।

‘धार्मिक पर्यटकहरूका लागि ठाउँ–ठाउँमा उचित व्यवस्थापन भएका केन्द्रहरू निर्माण गर्न सके उनीहरूले त्यहीँ खाना पकाउने, नुहाउने र कपडा धुनेजस्ता कार्यहरू व्यवस्थित रूपमा गर्न सक्थे,’ उनले भने ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार विगत ३२ वर्षकै इतिहासमा यस वर्ष सबैभन्दा बढी भारतीय पर्यटकहरू नेपाल भित्रिएका छन् । नेपाली नयाँ वर्षको आसपासदेखि सुरु भएको पर्यटकको चाप जेठको अन्तिमसम्म पनि निरन्तर रहेको छ । यस अवधिमा पोखराका होटलहरूको अकुपेन्सी ९० प्रतिशतको हाराहारीमा पुगेको संघले जनाएको छ । पोखरा मात्र नभई गण्डकी प्रदेशका अन्य धार्मिक तथा पर्यटकीय स्थलहरू जस्तै मुक्तिनाथ र विभिन्न पदयात्रा मार्गहरूमा समेत भारतीय पर्यटकको संख्या उत्साहजनक देखिएको छ ।

अध्यक्ष सुवेदीका अनुसार यस वर्ष भारतीय पर्यटक बढ्नुमा प्रवर्द्धन र सामाजिक सञ्जालको प्रभाव रहेको छ । गत वर्षदेखि फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमार्फत मुक्तिनाथ र नेपालका अन्य पर्यटकीय क्षेत्रहरूको व्यापक प्रचारप्रसार भएकाले भारतीय पर्यटकहरूमा नेपाल भ्रमणको उत्साह बढेको पाइएको छ । भारतमा बढ्दो गर्मी छल्न र बिदाको सदुपयोग गर्नका लागि भारतीय नागरिकहरूले नेपाललाई उपयुक्त र उत्कृष्ट गन्तव्यका रूपमा रोजेका छन् ।

‘मैले पर्यटन क्षेत्रमा ३२ वर्ष बिताएँ । यस अवधिमा यति धेरै भारतीय पर्यटक र यति विविध प्रकारका पर्यटकहरू आएको अवस्था सायद पहिलो पटक देखिएको जस्तो लाग्छ । किनभने यस समयमा हाम्रा होटलहरूको अकुपेन्सी दर ९० प्रतिशतभन्दा बढी, करिब ९० प्रतिशतको हाराहारीमा रहेको थियो । केही दिनयता केही कमी भए तापनि, बीचको समयमा एक महिनाभन्दा बढी अवधिसम्म भारतीय पर्यटकहरूको उल्लेखनीय आगमन रह्यो । हामी नेपाली नयाँ वर्षको समयबाट अहिले जेठ महिनाको अन्तिम चरणसम्म आइपुग्दा, एक महिनाभन्दा बढी समय भारतीय पर्यटकहरू पोखरामा मात्र नभई गण्डकी प्रदेशका विभिन्न स्थानहरू, मुक्तिनाथ लगायतका गन्तव्यहरूमा पुगेका छन्,’ उनले भने, ‘साथै, पदयात्रामा जाने भारतीय पर्यटकहरूको संख्या पनि उल्लेखनीय रूपमा बढेको छ । मैले धेरै भारतीय पर्यटकहरूसँग यो पटक यति धेरै पर्यटक किन आएका हुन् भन्ने विषयमा जिज्ञासा राखेँ । धेरैजसोले गत वर्ष मुक्तिनाथ लगायतका पर्यटकीय स्थलहरूको सामाजिक सञ्जाल–फेसबुक, टिकटक तथा अन्य माध्यमहरूबाट व्यापक प्रवर्द्धन भएको कारण आफूहरू ती स्थानहरू भ्रमण गर्न उत्साहित भएको बताए । साथै, गर्मी छल्न र बिदाको सदुपयोग गर्न नेपाल उपयुक्त गन्तव्य भएकाले यहाँ आएको प्रतिक्रिया पनि प्राप्त भयो ।’

भारत सरकारले विदेशी मुद्रा (डलर) सञ्चितिमा जोड दिँदै भारतीय मुद्रा सहजै चल्ने छिमेकी मुलुकहरूको भ्रमण गर्न आफ्ना नागरिकलाई प्रोत्साहित गरेकाले पनि पर्यटकको संख्या बढेको विश्लेषण गरिएको छ । भारतको बिहार लगायतका सीमावर्ती राज्यहरूबाट एकै दिनमा नेपाल प्रवेश गर्न सकिने र छोटो अवधिमा धेरै ठाउँ घुम्न सकिने भएकाले भारतीय युवा पुस्ता नेपालप्रति आकर्षित भएको देखिन्छ ।

विशेषगरी बिहारमा मदिरा निषेध गरिएकाले पनि त्यहाँका युवाहरू मनोरञ्जनका लागि नेपाल आउने गरेको पाइएको छ । भारत सरकारले ज्येष्ठ नागरिकहरूलाई तीर्थाटनका लागि उपलब्ध गराउने विभिन्न सहुलियतका कारण पशुपतिनाथ र मुक्तिनाथ दर्शन गर्न आउने धार्मिक पर्यटकहरूको संख्या पनि उत्तिकै रहेको छ । समग्रमा, प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र सहज यातायातका कारण भारतीय पर्यटकहरूका लागि नेपाल एक पहिलो रोजाइको गन्तव्य बनेको होटल संघ पोखराले जनाएको छ ।

छिमेकी मुलुक भारतमा बढेको अत्यधिक गर्मी छल्न नेपाल आउने पर्यटकका कारण पर्यटकीय नगरी पोखरामा चहलपहल निकै बढेको हो । विशेषगरी फेवातालमा डुंगा सयर गर्ने भारतीय पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएपछि स्थानीय व्यवसायीहरूले राहत महसुस गरेका छन् ।

फेवा डुंगा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीका अनुसार हाल पोखरामा भारतीय पर्यटकको चाप उच्च रहेको छ । भारतबाट आउने पर्यटकहरू पोखरा भ्रमण, फेवातालमा डुंगा सयर र मुक्तिनाथ दर्शनका लागि जाने क्रम बढेको उनले जानकारी दिए । अध्यक्ष गिरीका अनुसार अहिले फेवातालका ८ वटै स्टेसनहरूबाट दैनिक ५ हजारदेखि ७ हजार जनासम्मले डुंगा सयर गरिरहेका छन् ।

‘पर्यटकको यो बाक्लो उपस्थितिले डुंगा व्यवसायीहरूलाई आर्थिक रूपमा ठूलो राहत मिलेको छ र यहाँको चहलपहल पनि निकै उत्साहजनक छ,’ गिरीले भने ।

विगतका वर्षहरूको तुलनामा यस वर्ष भारतीय पर्यटकको आगमनमा वृद्धि भएको व्यवसायीहरूको अनुभव छ । भारतका विभिन्न सहरहरूमा तापक्रम ४४ देखि ४५ डिग्री सेल्सियससम्म पुगेका कारण त्यहाँका नागरिकहरू शीतल र रमणीय वातावरणको खोजीमा नेपाल आउने गरेका हुन् ।

पोखरा आइपुग्ने पर्यटकहरू यहाँको हिमालका शृङ्खला, पहाडी दृश्य र फेवातालको वातावरणबाट निकै प्रभावित हुने गरेको गिरीले बताए । भारतको अत्यधिक गर्मीबाट उम्किएर पोखराको शीतल मौसममा रमाउन पाउँदा पर्यटकहरूले खुसी व्यक्त गर्ने गरेको व्यवसायीहरूले जानकारी दिएका छन् ।