शुलभको बयान-‘ब्रोकरमार्फत् लिएको ६२ करोड व्यवसायीक सापटी हो, गैरकानुनी कार्य गरेको छैन’

217
Shares

काठमाडौं । व्यवसायी शुलभ अग्रवालले आफूले हिमालयन रिइन्स्योरेन्स कम्पनीको रकम प्रत्यक्ष रूपमा नलिएको र ब्रोकरमार्फत लिइएको ६२ करोड रुपैयाँ केवल सापटी रकम भएको दाबी गरेका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा दिएको बयानमा उनले आफूले कुनै गैरकानुनी कार्य नगरेको तथा कसुरजन्य सम्पत्तिको व्यवस्थापन वा शुद्धीकरण गर्ने उद्देश्यले कुनै गतिविधि नगरेको बताएका छन् ।

अग्रवालले आफ्नी श्रीमती शुभी अग्रवालले भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नं. ५५) मार्फत धितोपत्र कारोबार गर्दै आएको र विभिन्न समयमा ब्रोकरबाट रकम सापटी लिएको स्वीकार गरेका छन् । उनका अनुसार हालसम्म शुभी अग्रवालले ब्रोकरलाई तिर्न बाँकी रकम २१ करोड ३१ लाख रुपैयाँ रहेको छ । उनले ब्रोकरबाट लिइएको रकम कहाँबाट आएको हो भन्ने जानकारी आफूलाई नभएको र त्यसको जिम्मेवारी आफू वा आफ्नी श्रीमतीको नभएको जिकिर गरेका छन् ।

बयानमा अग्रवालले शुभी अग्रवालको नाममा भएका सम्पूर्ण शेयर कारोबार आफूले नै गरेको स्वीकार गरेका छन् । २०८१ फागुन १२ गतेदेखि ६० करोडदेखि १ अर्ब ३८ करोड रुपैयाँसम्म प्रयोग गरी शेयर खरिद तथा अग्रिम रकम लिइएको भए पनि कारोबारका क्रममा कुनै गैरकानुनी काम नभएको उनको दाबी छ । उनले ब्रोकरसँग कारोबारसम्बन्धी सम्झौता समेत भएको र हिमालयन रिइन्स्योरेन्स कम्पनीबाट ब्रोकरको खातामा आएको रकम आफ्नी श्रीमतीले प्रयोग नगरेको बताएका छन् ।

उनले ब्रोकरले पछिल्लो दुई महिनादेखि रकम फिर्ता माग गरिरहेको उल्लेख गर्दै आफूले लिएको ६२ करोड रुपैयाँ व्यावसायिक प्रयोजनमा प्रयोग गरिएको बताएका छन् । ब्रोकरले प्रयोग गरेको रकमको स्रोतबारे आफूलाई जानकारी नभएको र त्यसका लागि आफू जिम्मेवार नहुने उनको भनाइ छ । ‘दिन नहुने रकम दिएको रहेछ भने त्यो ब्रोकरकै गल्ती हो,’ भन्ने धारणा पनि उनले बयानमा राखेका छन् ।

अग्रवालले सम्पत्ति शुद्धीकरण गर्ने उद्देश्यले कुनै कम्पनी स्थापना नगरेको, तेस्रो पक्ष प्रयोग नगरेको तथा कुनै ‘विशेष प्रयोजन साधन’ (स्पेशल पर्पोज भेहिकल) का रूपमा ब्रोकरलाई प्रयोग नगरेको दाबी गरेका छन् । आफूले हिमालयन रिइन्स्योरेन्सबाट प्रत्यक्ष रकम नलिई केवल ब्रोकरमार्फत सापटी लिएको र उक्त रकम कसुरजन्य स्रोतबाट आएको भन्ने जानकारी नभएको उनको भनाइ छ ।

सेयर कारोबारसम्बन्धी आरोपहरू पनि उनले अस्वीकार गरेका छन् । जगदम्बा स्टिल्स आफ्नो कम्पनी नभएको र त्यससँग आफ्नो कुनै सरोकार नरहेको बताउँदै उनले जगदम्बा स्टिल्स र सौर्य सिमेन्टको आईपी एड्रेस, टिएमएस वा पासवर्ड प्रयोग गरी कसैको नाममा सेयर खरिद–बिक्री नगरेको जिकिर गरेका छन्। आफ्नी श्रीमतीको नाममा भएको सेयर खरिद भने आफ्नै निर्देशनमा कर्मचारीमार्फत भएको स्वीकार गरे पनि अन्य कारोबारबारे जानकारी नभएको बताएका छन् ।

उनले कुनै पब्लिक लिमिटेड कम्पनीको टिएमएस वा पासवर्ड अनधिकृत रूपमा प्राप्त गरी कारोबार नगरेको तथा त्यसबाट अनुचित लाभ नलिएको दाबी गरेका छन् । दीपक भट्ट, अमित मोरलगायत व्यक्तिहरू आफ्नो कम्पनीमा आउने–जाने गरे पनि कसले आईपी एड्रेस प्रयोग गर्‍यो भन्ने विषयमा आफूलाई जानकारी नभएको उनको भनाइ छ ।

नेपाल रिइन्स्योरेन्सको २ करोड १४ लाख कित्ता सेयरमध्ये १४ लाख १ हजार ३३२ कित्ता सेयर आफू वा आफ्नो समूहले खरिद नगरेको पनि अग्रवालले बताएका छन् । आफूभित्र कारोबार गरी सेयरको मूल्य बढाउने, बजारमा प्रभाव कायम गर्ने वा धितोपत्र बजारलाई प्रभावित पार्ने उद्देश्यले कुनै गतिविधि नगरेको उनको दाबी छ । कुनै कम्पनीको सेयर मूल्यमा कृत्रिम उतारचढाव ल्याएको आरोप पनि उनले अस्वीकार गरेका छन् ।

अग्रवालले थप बयानमा दीपक भट्टले आफ्नो सेयर कारोबार आफैं गरेको र निजको डिम्याट, टिएमएस, युजर वा पासवर्ड आफूकहाँ नभएको बताएका छन् । हिमालयन लाइफ इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णसँग आफ्नो कुनै व्यक्तिगत आर्थिक कारोबार नभएको पनि उनले उल्लेख गरेका छन् । नेपाल रिइन्स्योरेन्सको सेयर खरिदसम्बन्धी निर्णय भने बिमा प्राधिकरणको अनुमति, लगानी समितिको निर्णय र सञ्चालक समितिमा भएको सामान्य छलफलका आधारमा भएको उनको भनाइ छ ।

उनका अनुसार मनोज कुमार लाल कर्ण भृकुटी स्टक ब्रोकिङ कम्पनी सञ्चालक परिवारसँग सम्बन्धित रहेको भन्ने विषयमा आफूलाई जानकारी नभएको र नेपाल रिइन्स्योरेन्सको सेयर खरिद–बिक्रीसम्बन्धी व्यक्तिगत गतिविधिबारे पनि आफू अनभिज्ञ रहेको बताएका छन् ।

यस्तो छ बयानः
हिमालयन इन्स्योरेन्स कम्पनी लिमिटेडको म कुनै पनि जिम्मेवारीमा रहेको छैन । ५५ नम्बर ब्रोकरबाट को कसले के कति रकम लिएका छन् भन्ने कुरा मलाई थाहा जानकारी छैन । तर मेरो श्रीमती शुभी अग्रवालले लिएको रकमका हकमा उक्त ब्रोकरसँग विगतदेखि नै कारोबार हुँदै आएकोमा हाल ब्रोकरलाई मेरो श्रीमतीले विभिन्न मितिमा लिएको रकम समेत गरी रु. २१ करोड ३१ लाख रकम ब्रोकर नं. ५५ लाई तिर्न बाँकी रहेको छ ।
ब्रोकर नम्बर ५५ बाट मेरो श्रीमतीले लिएको रकम उक्त ब्रोकरले के कहाँबाट रकम ल्याएको हो भन्ने बारेमा मलाई थाहा जानकारी छैन । मेरो श्रीमतीले हिमालयन रिइन्सुरेन्स कम्पनी लिमिटेडको खाताबाट रकम लिएको नभई ब्रोकर नम्बर ५५ सँग सापटी लिएको रकम हो । ब्रोकरले के कहाँबाट रकम प्राप्त गरेका हुन् भन्ने बारेमा मलाई थाहा छैन । मेरो श्रीमती शुभी अग्रवालले मिति २०८१/६/२२ देखि भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा. लि. मा धितोपत्रको कारोबार गर्दै आएकोमा २०८१/११/१२ देखि निरन्तर रूपमा ६० करोडदेखि १ अर्ब ३८ करोडसम्मको रकम प्रयोग गरी शेयर खरिद र विभिन्न मितिमा अग्रिम समेत लिएको ठीक हो ।
मेरो श्रीमतीको नाममा सम्पूर्ण कारोबार म आफैले गरेको हो । कारोबारका क्रममा कुनै गैरकानुनी कार्य भएको छैन । ब्रोकरसँग शेयर कारोबारका क्रममा सम्झौता समेत भएको छ । हिमालयन रिइन्सुरेन्स कम्पनी लिमिटेडबाट ब्रोकरको खातामा आएको रकम मेरो श्रीमतीले प्रयोग गरेको होइन । मेरो श्रीमतीले ब्रोकरबाट लिएको रकम निजले के कुन स्रोतबाट ल्याएका हुन् भन्ने म र मेरो श्रीमती समेतको जिम्मेवारीको कुरा होइन ।
उक्त ब्रोकरले रकम फिर्ता दिनुप¥यो भनी विगत २ महिनादेखि रकम माग गरिरहेको छ । उक्त ६२ करोड रकम सापटी लिएको रकम हो । सो रकम मैले व्यावसायिक प्रयोजनका लागि लिएको सापटी रकम भएकोले सो रकमको उपयोग पनि व्यावसायिक रूपमा नै भएको छ । हाल ब्रोकरले सो रकम फिर्ता माग गरिरहेको अवस्था छ । मैले हिमालयन रिइन्सुरेन्स कम्पनी लिमिटेडको रकम ब्रोकरको खातामा ल्याई सोही रकम मैले मेरो श्रीमतीका नाउँमा सापटी लिन मैले जान्ने कुरा लगाई प्रयोग गरेको होइन ।
मैले यसरी कुनै संस्थाको रकम लिने गलत मनसायले सो कारोबार गरेको पनि होइन । के कस्तो स्रोतको रकम प्रयोग गरी ब्रोकरले मलाई रकम दिएको हो भन्ने कुरा होइन । तसर्थ मैले सम्पत्ति शुद्धीकरणको कसुर गर्ने कार्य गरेको छैन भन्ने समेतका व्यहोराको बयान ।
मेरो श्रीमती शुभी अग्रवालले ब्रोकरबाट लिएको रकम मैले व्यावसायिक कार्यमा प्रयोग गरेको ठीक हो । तर मैले कसुरजन्य सम्पत्तिको व्यवस्थापनका लागि विभिन्न कम्पनीहरू खडा गर्ने, तेस्रो पक्षको प्रयोग गर्ने, ब्रोकर नं. ५५ लाई अपराध गर्ने योजना सहित विशेष प्रयोजन साधन को रूपमा प्रयोग गर्ने समेतका कार्यहरू भए गरेको छैन । मैले जानीजानी कुनै कसुरजन्य कार्य गरेको छैन । मैले सम्पत्ति शुद्धीकरण गर्ने मनसायले कम्पनी खडा गर्ने वा लगानी गर्ने समेतका कुनै पनि कार्यहरू गरेको छैन ।
मैले हिमालयन रिबाट प्रत्यक्ष रूपमा कुनै रकम लिएको छैन । ब्रोकरमार्फत रकम लिएको हुँ । सापटी लिएको रकम कसुरजन्य कार्यबाट प्राप्त रकम होइन भन्ने मलाई लाग्छ । दिन नहुने रकम दिएको रहेछ भने ब्रोकरको गल्ती हो भन्ने लाग्छ । जगदम्बा स्टिल्स मेरो कम्पनी होइन । यस कम्पनीमा मेरो कुनै सरोकार छैन । सौर्य सिमेन्ट पब्लिक लिमिटेड कम्पनी हो । मैले जगदम्बा स्टिल्स र सौर्य सिमेन्टको आईपी एड्रेस बाट नेपाल रिइन्सुरेन्स, हिमालयन रिइन्सुरेन्स कम्पनी लिमिटेड, हिमालयन लार्ज क्याप समेतको शेयर कारोबारमा प्रयोग हुने टिएमएस र पासवर्ड प्रयोग गरी मैले कोही कसैका नाउँमा खरिद कारोबार गरेको छैन ।
मेरो श्रीमतीका नाउँमा कारोबार भएको शेयर मेरो स्टाफले मैले भनेबमोजिम खरिद गरेको हो । यस बाहेक अन्य शेयर खरिद कारोबारको हकमा केही थाहा जानकारी छैन । मैले अनधिकृत तबरले कुनै पनि पब्लिक लिमिटेड कम्पनीको टिएमएस र पासवर्ड प्राप्त गरी कुनै शेयर खरिद कारोबार गरी नाजायज तरिकाले लाभ लिई सोबाट कुनै कसुरजन्य कार्य गरेको छैन ।
मेरो कम्पनीमा दीपक भट्ट, अमित मोर, समेतका मानिसहरू आउने जाने गर्दथे । को कसले आईपी एड्रेस प्रयोग गरेका हुन् भन्ने बारेमा मलाई थाहा छैन । मैले मेरो नाउँमा कुनै पनि शेयर खरिद गरेको छैन । मैले धितोपत्र बजारलाई प्रभावित पार्ने, आफ्नो पकड कायम गर्ने, धितोपत्र बजारलाई आफ्नो नियन्त्रणमा राखी लाभ लिने मनसायले केही गलत र गैरकानुनी काम गरेको छैन । नेपाल रिइन्सुरेन्सको २ करोड १४ लाख कित्ता शेयरमध्ये १४०१३३२ कित्ता शेयर म समेतले खरिद गरेको होइन । आफूभित्र कारोबार गरी शेयरको मूल्य वृद्धि गराएको नभई सम्बन्धित पक्षको कारोबार होला । कुनै कम्पनीको शेयरको मूल्य उतारचढाव गराएको छैन भन्ने समेतका व्यहोराको थप बयान ।
शेयर खरिदको कार्य दीपक भट्ट स्वयंले गरेको हो । निजको डिम्याट, टिएमएस लगायतका शेयर खरिदका युजर र पासवर्ड समेत मसँग हुने कुरा होइन । ब्रोकरसँग उसले के कति खरिद बिक्री गरेको मलाई थाहा छैन । मेरो मनोज कुमार लाल कर्णसँग कुनै व्यक्तिगत आर्थिक कारोबार छैन । उनी म अध्यक्ष रहँदा हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए ।
भृकुटी स्टक ब्रोकिङ कम्पनी उनको श्रीमतीको हो भन्ने कुरा मलाई थाहा भएन । उनले नेपाल रिइन्स्योरेन्सको शेयर आफ्नो नाममा खरिद गरी हिमालयन लाइफ इन्स्योरेन्स लगायतका कम्पनीलाई बिक्री गरेको कुरा मलाई थाहा भएन । मेरो संस्थाले बीमा प्राधिकरणबाट अनुमति प्राप्त गरी नेपाल रिइन्सुरेन्सको सेयर खरिद लगानी समितिको निर्णय र हिमालयन लाइफ इन्स्योरेन्सको सञ्चालक समितिमा सामान्य छलफल गरी निर्णय गरेको सम्म हो भन्ने समेतका व्यहोराको बयान ।
मेरो श्रीमतीले ब्रोकर नम्बर ५५ बाट सापटी लिएको ६२ करोड रुपैयाँ हो । म आफू संलग्न भई कहीँ कतै बीमा व्यवसायमाथि जालझेल गरेको छैन । भृकुटी ब्रोकरले के कुन स्रोतबाट रकम ल्याएका हुन् भन्ने कुरा मलाई थाहा छैन । मेरो श्रीमती शुभी अग्रवालले ब्रोकर नम्बर ५५ बाट लिएको रकम मैले व्यावसायिक कार्यमा प्रयोग गरेको ठीक हो । तर मैले कसुरजन्य सम्पत्तिको व्यवस्थापनका लागि विभिन्न कम्पनीहरू खडा गर्ने, तेस्रो पक्षको प्रयोग गर्ने, ब्रोकर नम्बर ५५ लाई अपराध गर्ने योजना सहित विशेष प्रयोजन साधन को रूपमा प्रयोग गर्ने समेतका कार्यहरू भए गरेको छैन । मैले जानीजानी कुनै कसुरजन्य कार्य गरेको छैन ।
मैले सम्पत्ति शुद्धीकरण गर्ने मनसायले कम्पनी खडा गर्ने वा लगानी गर्ने समेतका कुनै पनि कार्यहरू गरेको छैन । मैले हिमालयन रिबाट प्रत्यक्ष रूपमा कुनै रकम लिएको छैन । ब्रोकरमार्फत रकम लिएको हुँ । सापटी लिएको रकम कसुरजन्य कार्यबाट प्राप्त रकम होइन भन्ने मलाई लाग्छ । दिन नहुने रकम दिएको रहेछ भने ब्रोकरको गल्ती हो भन्ने लाग्छ भन्ने समेतका व्यहोराको थप बयान ।