
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दर्जनबढी सांसदहरूमाथि अनुसन्धान गरेर कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको छ ।
आयोगले जेन–जी आन्दोलनमा भएको मानव अधिकार उल्लंघन सम्बन्धमा भएको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्दै रास्वपाबाट सदन पुगेका १३ जना सांसदहरूको भूमिकामाथि अनुसन्धान गरेर कारबाही गर्न सिफारिस गरेको हो।
भदौ २३ र २४ गतेको प्रदर्शनमा मानवीय र भौतिक क्षति समेतका कार्यमा निजहरूको संलग्नता रहे-नरहेको, निजहरूको अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे-नपरेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम निजहरूबाट भए-नभएको वा सोको दुरुत्साहन भए-नभएको सम्बन्धमा अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न आयोगले सिफारिस गरेको हो।
प्रतिवेदनले अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेका रास्वपाका सांसदहरूमा गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, कृष्ण कार्की, डा. तोषिमा कार्की, राजीव खत्री, केपी खनाल, दीपक बोहरा, मनिष झा, पुरुषोत्तम यादव, ज्वाला संग्रौला, सुधन गुरुङ, आशिका तामाङ, सोम शर्मा, शिव यादव, हरि ढकाल रहेका छन् ।
त्यस्तै रास्वपा सभापति रवि लामिछानेलाई कारागारबाट बाहिर निकाल्न क-कसको संलग्नता थियो भन्ने सम्बन्धमा नख्खु कारागारका प्रशासक (जेलर) सत्यराज जोशी र लामिछानेलाई छुटाउन गएका राष्ट्रिय स्वतन्त्र पार्टीका ठूला नेताहरू मनिष झा, हरि ढकाल समेतलाई शंकाको दायरामा राखी सूक्ष्म अनुसन्धान गरी दोषी पत्ता लगाई कानून बमोजिम कारबाहीका लागि आयोगले सिफारिस गरेको हो ।





प्रतिक्रिया