छानबिन आयोगका अध्यक्ष कार्कीमाथि नै छानबिन गर्न सिफारिस

252
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको हिंसा र मानव अधिकार उल्लंघनको घटनामा सरकारले गठन गरेको न्यायिक छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्की माथि नै अनुसन्धान गर्न सिफारिस गरेको छ । आयोगको प्रतिवेदनले कार्कीलाई आन्दोलनकारीलाई उत्तेजित बनाउने र हिंसा भड्काउन भूमिका खेल्ने संदिग्धहरूको सूचीमा राख्दै उनीमाथि सूक्ष्म अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको हो ।

नेपाल सरकारले भदौ २३ र २४ को घटना छानबिन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो । तर, मानव अधिकार आयोगको प्रतिवेदनमा कार्कीलाई प्रदर्शनका आह्वानकर्ता र आन्दोलनलाई उत्तेजित पार्ने व्यक्तिको रूपमा सूचीबद्ध गरिएको छ ।

प्रतिवेदनका अनुसार कार्कीले सामाजिक सञ्जालमार्फत दिएका अभिव्यक्तिहरूले प्रदर्शनकारीहरूलाई आक्रोशित र उत्तेजित बनाएको थियो । सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम उनी लगायतका व्यक्तिहरूबाट भए/नभएको र त्यसले प्रदर्शनमा कस्तो असर पार्यो भन्ने विषयमा सूक्ष्म अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न आयोगले सिफारिस गरेको छ ।

सरकारले गठन गरेको कार्की नेतृत्वको आयोगले भदौ २३ गतेको घटनालाई मात्र समेटेर प्रतिवेदन बुझाएको थियो । तर, मानव अधिकार आयोगले भदौ २४ गते भएको व्यापक हिंसा, आगजनी र सरकारी भवनहरूमाथिको आक्रमणलाई कार्कीको प्रतिवेदनले उपेक्षा गरेको संकेत गरेको छ । कार्की आफैं आन्दोलनको पक्षधर देखिएको अवस्थामा उनको प्रतिवेदन निष्पक्ष नभएको भन्दै प्रतिपक्षी दलहरूले पनि विरोध गर्दै आएका थिए ।