चन्द्र ढकालको नेपाल पल्प एन्ड पेपरको रेटिङ सुधारियो, कति गर्‍यो व्यापार ?

2k
Shares

काठमाडौं । आईएमई ग्रुपको लगानी रहेको नेपाल पल्प एन्ड पेपर इन्डष्ट्रिजले साढे ३ महिनामा ३० करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षको साढे ३ महिनाको अवधिमा ३० करोड २० लाख रुपैयाँको कारोबार गरेको हो ।

सन् २०२१ मा दर्ता भएको कम्पनीले प्रिन्टिङ पेपर प्लान्ट स्थापना गरी वार्षिक २१ हजार मेट्रिक टन क्षमतामा उत्पादन गर्ने जनाएको छ । कम्पनीले सुरुमा उत्पादनको परीक्षणका रूपमा सन् २०२५ को अप्रिलबाट कारोबार सुरु गरेको थियो । त्यसैगरी, कम्पनीले सन् २०२५ को मध्य जुलाईबाट पूर्ण क्षमतामा कारोबार सुरु गरेको हो।

कम्पनीले गत आवको साढे ३ महिनाको अवधिमा ५० प्रतिशत क्षमता उपयोग गरेको थियो । कम्पनीले सुरुमा १ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरेको थियो । तर, उक्त लागत बढेर २ अर्ब २० करोड रुपैयाँमा उद्योग निर्माण भएको थियो ।

कम्पनीका अनुसार सुरुमा बनाएको योजनाभन्दा बढी र नयाँ मेसिनहरू जडान गर्दा लागत बढेको हो । कम्पनीले गत आवको साढे ३ महिनाको अवधिमा ७.१ प्रतिशत सञ्चालन नाफा कमाएको छ ।

आईएमई ग्रुपले एभरेष्ट ग्रुप र अन्य उद्योगीहरूसँग सहकार्य गरी कम्पनी चलाएको हो । कम्पनीमा वान क्यापिटल होल्डिङ प्रालिको ३६ प्रतिशत, सुलोचना देवी सराफको २० प्रतिशत, होमनाथ ज्ञवालीको १६ प्रतिशत, सुनिलगोपाल श्रेष्ठको १५ प्रतिशत र बाँकी १३ प्रतिशत तीन जना व्यक्तिको स्वामित्व छ ।

वान होल्डिङ साढे ३ वर्षअघि आईएमई ग्रुपले खोलेको कम्पनी हो । यो कम्पनीमार्फत् ग्रुपले ५ अर्ब लगानी गर्ने लक्ष्य राखेको छ ।

चन्द्रप्रसाद ढकाल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ९९ करोड ७० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ५६ करोड १० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४३ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको हो । कम्पनीको रेटिङ बी माइनसबाट अपग्रेड भएर बीप्लस भएको छ । इक्राका अनुसार रेटिङ अपग्रेड हुनुको मुख्य कारण पहिले कर्जा भुक्तानीमा ३० दिनसम्मको ढिलाइ हुने गरेकोमा अहिले नियमित भएको उल्लेख छ ।

सेवामूलक उद्योगमा उल्लेख्य सफलता हासिल गरेको आईएमई समूह उत्पादनमूलक क्षेत्रमा एक वर्षअघि प्रवेश गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष व्यवसायी चन्द्र ढकालले रौतहटमा डेढ अर्ब लगानीमा फाइबर सिमेन्ट बोर्ड र महोत्तरीमा दुई अर्ब रुपैयाँभन्दा बढीको लगानीमा कागज उद्योग खोलेका हुन् ।

बैंक, वित्तीय संस्था, बिमा, रेमिट्यान्स, पर्यटन, पूर्वाधार, अटोमोबाइल, सूचना प्रविधि, हाइड्रोपावर लगायतका सेवा क्षेत्रमा स्थापित व्यावसायिक घराना आईएमई ग्रुप यही उद्योगमार्फत पहिलोपटक उत्पादनमूलक उद्योगमा प्रवेश गरेको थियो ।

महोत्तरीको गौशाला नगरपालिकाको गौशाला–१ इँटाटार गाउँमा सञ्चालित नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज देशकै सबैभन्दा ठूलो कागज उद्योग हो । २०७८ मा शिलान्यास भएको उक्त उद्योगको उद्घाटन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ फागुन २२ गते गरेका थिए ।

नेपालमा कागज उत्पादन हुने उद्योग नभएकाले आयात गर्नुपर्ने अवस्थालाई हटाउन र स्वदेशमै रोजगारी सिर्जना गर्न ढकालले कागज उद्योग स्थापना गरेको बताएका थिए । यो उद्योगमार्फत स्वदेशी कच्चापदार्थ र जनशक्तिको प्रयोग गरी उच्च गुणस्तरीय कागज उत्पादन गर्ने लक्ष्य लिइएको छ । उद्योगले प्रत्यक्ष रूपमा ५०० जनालाई रोजगारी दिइरहेको छ ।

नेपालमा वार्षिक झण्डै डेढ लाख मेट्रिक टन कागज खपत हुने भए पनि देशमा कागज उद्योगको अभावका कारण सम्पूर्ण कागज आयात गर्नुपर्ने अवस्था रहेकामा यो माग र आपूर्तिको खाडल पुर्ने प्रयास ढकालले गरेका थिए । विद्यालय तथा कलेजमा प्रयोग हुने कापी, फोटोकपी पेपर, ट्वाइलेट पेपर, टिस्यु पेपर जस्ता उत्पादनहरूका लागि नेपाल पूर्ण रूपमा आयातमा निर्भर थियो । नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिजले कुल मागको करिब ३० प्रतिशतभन्दा बढी कागज स्वदेशमै उत्पादन गर्ने जनाएको छ ।

हाल नेपाल पल्प एन्ड पेपरको दैनिक कागज उत्पादन क्षमता ७५ मेट्रिक टन रहेको छ । उद्योगले क्षमता वृद्धि गरेर दैनिक १५० मेट्रिक टन पुर्‍याउने तयारी गरेको छ ।