
रौतहट । सेवामूलक उद्योगमा उल्लेख्य सफलता हासिल गरेको आईएमई समूह उत्पादनमूलक क्षेत्रमा प्रवेश गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका व्यवसायी चन्द्र ढकालको अगुवाइमा रौतहटमा डेढ अर्ब लगानीमा फाइबर सिमेन्ट बोर्ड र महोत्तरीमा दुई अर्ब रुपैयाँभन्दा बढीको लगानीमा कागज उद्योग खोलिएको छ।
महोत्तरीको गौशाला नगरपालिकाको गौशाला-१ इँटाटार गाउँमा देशकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा आएको छ । २०७८ मा शिलान्यास भएको उक्त उद्योगको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गर्दैछन् ।
नेपालमा कागज उत्पादन हुने उद्योग नभएकाले आयात गर्नुपर्ने अवस्थालाई हटाउन र स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले कागज उद्योग स्थापना गरेको ढकालले बताए ।
स्वदेशी कच्चापदार्थ र जनशक्तिको प्रयोग गरी उच्च गुणस्तरीय कागज उत्पादन गर्ने लक्ष्य लिएको ढकालले बताए । उद्योगले प्रत्यक्ष रूपमा ५०० जनालाई रोजगारी दिएको छ । नेपालमा वार्षिक झण्डै डेढ लाख मेट्रिक टन कागज खपत हुने भए पनि देशमा कागज उद्योगको अभावका कारण सम्पूर्णकागज आयात गर्नुपर्ने अवस्था छ ।
विद्यालय तथा कलेजमा प्रयोग हुने कापी, फोटोकपी पेपर, ट्वाइलेट पेपर, टिस्यु पेपर जस्ता उत्पादनहरूका लागि नेपाल पूर्ण रूपमा आयातमा निर्भर छ। नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज सञ्चालनमा आएपछि कूल मागको करिब ३० प्रतिशतभन्दा बढी कागज स्वदेशमै उत्पादन हुने ढकाल बताउँछन् ।
भन्सार विभागकाको तथ्यांकअनुसार गत आर्थिक वर्ष नेपालले ८ अर्ब १४ करोड रुपैयाँ बराबरको कागज आयात गरेको थियो । चालु आर्थिक वर्षकोपहिलो सात महिनामा ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको कागज आयात भएको तथ्यांक छ ।

हाल उद्योगको दैनिक कागज उत्पादन क्षमता ७५ मेट्रिक टन रहेको छ । उद्योगले केही समयभित्रै क्षमता वृद्धि गर्दै दैनिक १५० मेट्रिक टन कागजउत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ । पेपर मिलमा १२ किमी टाढा रहेको पूर्व-पश्चिम राजमार्गस्थित विद्युत् स्टेशनबाट बिजुली ल्याइएको छ ।
त्यस्तै करिब डेढ अर्ब रुपैयाँ लगानीमा खोलिएको फाइबर सिमेन्ट बोर्ड उद्योग रौतहटको फतुवा विजयपुर नगरपालिका-६ स्थित फतुवा पेटभर्वामा छ । फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने यो नेपालकै पहिलो उद्योग हो, जसले करिब १ महिनाभित्र उत्पादन थाल्नेछ ।
‘हाम्रो ग्रुपले यसभन्दा अघि खास गरी सर्भिस र फाइनान्सियल सेक्टरमा बढी लगानी विस्तार गरिरहेको थियो । अब उत्पादनमूलक उद्योग सुरु गरेका छौं । नेपालमा धेरै चिजहरु आयात भइरहेको छ,’ ढकालले भने, ‘आयात गरिरहनुपर्ने चिजलाई नेपालकै सामग्री प्रयोग गरेर बनाउन हामीले यो काम गरेका हौं । यहीँको कच्चा पदार्थले बोर्ड बन्छ । जसले आयात प्रतिस्थापनमा सहयोग पुग्छ।’
उनले आफू नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत रहेकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिएर काम गरिरहेको बताए ।
‘म उद्योग वाणिज्य महासंघको अध्यक्ष पनि हो । उत्पादनलाई प्राथमिकता दिने, रोजगारी सिर्जना गर्ने, आयात प्रतिस्थापन गर्ने, सरकारलाई राजस्वमा योगदान पुर्याउने उद्देश्यले काम गरिरहेका छौं,’ उनले भने, ‘यो गुणस्तरको सिमेन्ट बोर्ड पहिलो पटक उद्योगको रुपमा नेपालमा उत्पादन सुरु गर्न लागेका हौं ।’
यो उद्योगबाट २०० जनाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कयौंले रोजगारी पाउने उनको भनाइ छ । ‘हामीले मधेशमा मानिसहरुले रोजगारी पाउन्, यहीँको स्थानीय कच्चा पदार्थ प्रयोग गर्न पाइयोस् भनेर उद्योग खोलेका हौं, ‘ ढकालले भने ।
यी बोर्डहरु लाइट संरचना र छिटो निर्माण गर्नुपर्ने संरचनाका लागि उपयुक्त हुन्छ । ‘भूकम्प जान्छ, बाढी पहिरो जान्छ । आर्मीका क्याम्प, अस्पताल, घरहरु बानाउन परे, ठूला ठूला पूर्वाधार तुरुन्तै बनाउन पर्छ,’ उनले भने, ‘निर्माणका धेरै काम नेपालमा गर्नुपर्नेछ । त्यसका लागि निकै ठूलो भूमिका यी बोर्डले खेल्छ ।’
यस्ता बोर्डहरु नेपालमा भारत र चीनबाट आयात हुने गरेको छ । वार्षिकरुपमा २ अर्ब रुपैयाँको आयात हुने गर्छ । आयातभन्दा राम्रो बनाउन नेपालमै उद्योग खोलिएको हो । लेटेष्ट प्रविधिको प्रयोग गरेर यो उद्योग स्थापना गरिएको छ । जसमा फुल अटोमेटिक मेसिनहरु प्रयोग गरिएको छ । जसले फिनिसिङ अत्यन्तै राम्रो बनाउने कम्पनीको दाबी छ ।
नेपालमा फाइबर उत्पादन हुँदैन । कागजहरुलाई फाइबर बनाएर त्यसलाई सिमेन्टमा मिलाएर यो बोर्ड तयार पारिन्छ । यो उद्योगले प्रतिदिन १ लाख स्क्वायर फिट बोर्ड उत्पादन गर्न सक्छ ।
अरु पनि विस्तार गर्न सकिने गरी ठाँउ राखिएको छ । कम्पनीका अनुसार केहि साना केहि मेसिन राख्दा ५० प्रतिशतसम्म क्षमता विस्तार गर्न सकिन्छ । ४ विघा क्षेत्रफलमा यो उद्योग फैलिएको छ ।

वालहरु फिनिसिङ गर्न यो अत्यन्त उपयोगी हुने दाबी गरिएको छ । यो बोर्ड प्रयोग गरेपछि प्लाष्टर र रंगरोगन गरिरहन पर्दैन । यस्ता बोर्डका भारतमा विभिन्न खालका फ्याक्ट्रीहरु छन् ।
भारतमा फरक फ्याक्ट्रीका फरक गुणस्तरका छन् । चिनियाँ बोर्डहरु भारतीय बोर्डका तुलनामा राम्रो र गुणस्तरीय छन् । सोही कारण चिनियाँ प्रविधि प्रयोग गरेर बोर्ड उत्पादन गर्न लागिएको हो । यो उद्योगबाट उत्पादन हुने बोर्ड युरोप, चीन पठाउन सक्ने गुणस्तरको रहेको र यसको आयु सिमेन्टकोभन्दा धेरै हुने ढकालले बताए । यो उद्योगले २ मेगावाटसम्म बिजुली खपत गर्छ ।
बैंक वित्तीय संस्था, बिमा, रेमिट्यान्स, पर्यटन, पूर्वाधार, अटोमोबाइल, सूचना प्रविधि, हाइड्रोपावर लगायतका सेवा क्षेत्रमा स्थापित व्यावसायिक घराना आईएमई ग्रुप पहिलोपटक उत्पादनमूल उद्योगमा प्रवेश गरेको हो ।
फोटो-भिडियो: रवि धिताल/क्लिकमान्डु
प्रतिक्रिया