
महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका-१ स्थित इँटाटार गाउँमा देशकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा आएको छ । ‘नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालि’ २०७८ मा शिलान्यास भएको थियो । उद्योग स्थापना भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उद्घाटन गरे ।
२ अर्ब बढीको लागतमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको अगुवाइमा उद्योग स्थापना गरिएको हो।
फोहोरको रुपमा डढाउने र डिस्पोज गर्ने काजगको प्रयोग गरेर उद्योगबाट उत्पादन हुने कागजले नेपालको आर्थिक गतिबिधिमा पनि सहयोग गर्ने ढकालको भनाइ छ ।
उद्योगले अहिले दैनिक ७५ टन उत्पादन गर्ने जानकारी दिँदै ढकालले अहिले उद्योगमा ३ सय जनाले रोजगारी पाएको उल्लेख गरे । उद्योगमा १५० टन उत्पादन गर्न सकिने गरि पूर्वाधार बनाइएको उनले जानकारी दिए ।
‘हामीले नेपाली फोहोर र फालिने कागजबाट नै कागज तयार गर्ने हो । नेपाली कच्चा पदार्थको प्रयोग हुन्छ,’ ढकालले भने, ‘ बाहिरबाट आयात गर्ने क्वालिटीभन्दा अझै राम्रो दिन्छौं ।’
अध्यक्ष ढकालले नेपालमा खासै केही गर्ने सम्भावना छैन, केही हुँदैन बाहिर नै जानुपर्छ भन्ने नकारात्मक सोचलाई चिर्न उद्योग स्थापना गरिएको भन्दै ढकालले नेपालमा धेरै सम्भावना रहेको बताए ।
‘फोहोर कागजहरु जलाउँदा, डिस्पोज गर्दा वातावरण प्रदुषण हुने अवस्थामा यसलाई युज गरेका छौं,’ ढकालले भने, ‘नेपाललाई चाहिने कागज आयातका लागि अर्बौं खर्च गरिरहेका छौं, त्यसलाई हटाउन हामीले लगानी गरेका हौं ।’
उद्योगले आयात प्रतिस्थापनमा सहयोग पुर्याउने मात्र नभइ विदेश निर्यातमा समेत काम गर्ने र विदेशी मुद्रा सञ्चितिमा पनि योगदान पुर्याउने उनको भनाइ छ ।




















प्रतिक्रिया