
काठमाडौं । नेपाली राजनीति यतिबेला एउटा ऐतिहासिक र अभूतपूर्व मोडमा आइपुगेको छ । दशकौँदेखि सीमित नेता र प्रवृत्तिहरूको वरिपरि घुमिरहेको सत्ताको साँचो अन्ततः नागरिकको आक्रोश र आशाको जगमा एउटा नयाँ पुस्ताको हातमा पुगेको छ ।
अनपेक्षित तर अर्थपूर्ण राजनीतिक उचाइ हासिल गर्दै बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बनेका छन् । सोमबार बालेनले हिन्दू र बुद्ध धर्मको संस्कारलाई शपथका क्रममा प्रयोग गरे । साइत हेरेर शपथ र पदभार ग्रहण गरेका बालेनले ‘अब के गर्लान् ?’ भन्ने तिक्ष्ण चक्षु सिंहदरबार र बालुवाटारतिर सोझिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झण्डै दुई-तिहाइ शक्तिका साथ सिंहदरवार प्रवेश गर्नु र बालेनले त्यसको नेतृत्व सम्हाल्नु केवल सत्ता परिवर्तन मात्र होइन । यो नेपाली समाजको बदलिँदो चेतना र समयको बलियो संकेत पनि हो ।
नेपाली राजनीतिमा पछिल्ला दुई दशकलाई दुई/तीन प्रमुख पात्रले डोहोर्याए । कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को वरिपरि राजनीति घुम्यो । तर, २०८२ सालपछि ती पुराना विरासतहरूमाथि अप्रत्याशित ग्रहण लागेको छ र ३६ वर्षीय युवा बालेनको उदय भएको छ ।
बालेनका लागि यो कार्यकाल केवल पाँच वर्षको सरकार चलाउने अवसर मात्र होइन, बरु आगामी एक दशकसम्म देशको नेतृत्व गर्ने ‘बालेन दशक’ स्थापित गर्ने मौका पनि हो । उनीसँग नयाँ पुस्ताको आँट, आतुरता र अहिलेसम्म परीक्षण हुन बाँकी ‘नैतिक बल’ छ ।
नागरिकले उनलाई केवल एउटा वैकल्पिक नेताका रूपमा मात्र होइन, बरु परम्परागत दलहरूको असफलताको जवाफका रूपमा सिंहदरवार पठाएका हुन् ।
यो परिवर्तनको जग २०७९ को स्थानीय निर्वाचन र त्यसपछिका राजनीतिक घटनाक्रमले हालेका हुन् । विशेषगरी, भदौ २३ र २४ गतेको ‘जेनजी’ को विद्रोहले स्थापित गरिदिएको मनोविज्ञान नै आजको सत्ताको मुख्य ऊर्जा हो ।
बालेनको नेतृत्वमा रास्वपाले प्राप्त गरेको दुई-तिहाइ निकटको बहुमत केवल अंकगणित मात्र होइन, यो सुशासन, डेलिभरी र रोजगारीका लागि भोको नेपाली समाजको ‘सुनामी’ हो ।
मधेशी समुदायबाट पहिलो प्रधानमन्त्री बनेर बालेनले नेपालको सामाजिक विविधता र समावेशी लोकतन्त्रको नयाँ तस्बिर पनि प्रस्तुत गरेका छन् । शुक्रबार उनले गठन गरेको मन्त्रिपरिषद्मा देखिएको समावेशिता र युवाहरूको संलग्नताले पनि ‘देश बदल्ने’ बालेनको अग्रसरतामा पहिलो इँट्टा राखेको छ ।
मुख्य चुनौती: ठूलो अपेक्षा
बालेनका सामु अवसर जति छन्, चुनौतीहरू त्योभन्दा कैयौँ गुणा बढी देखिन्छन् । नागरिकका अपेक्षा नै उनका लागि सबैभन्दा ठूलो चुनौती हुन् । रास्वपाको वाचापत्रमा उल्लेख भएअनुसार २०४६ सालयताका सार्वजनिक पदधारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नु र भ्रष्टाचारले संक्रमित समाजको उपचार गर्नु बालेनको पहिलो प्राथमिकता हुनुपर्छ । त्यस्तै कर्मचारीतन्त्रमा सुधार उनको अर्को चुनौती हो । नेपालको कर्मचारीतन्त्र प्रक्रियामुखी र ढिलासुस्तीका लागि चिनिन्छ । यसलाई नतिजामुखी बनाउन र नयाँ ढङ्गले परिचालन गर्न कर्मचारीतन्त्रभित्रैबाट हुन सक्ने ‘प्रतिरोध’ लाई चिर्नु बालेनको ठूलो सामर्थ्यको परीक्षा हुनेछ ।
वार्षिक ५ लाख युवा श्रम बजारमा आउँदा केवल ६० हजारले मात्र आन्तरिक रोजगारी पाउने वर्तमान अवस्था भयावह छ । विदेशिएका युवालाई स्वदेश फर्काउने र यहीँ सम्भावना देखाउने ठोस योजना नै यो सरकारको सफलताको कसी हुनेछ । रेमिट्यान्समा आधारित अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन स्रोतको सीमितता अर्को तगारो बन्ने देखिन्छ ।
विगतको अनुभवले दुई-तिहाइ बहुमतका सरकारहरू बाह्य दबाबले भन्दा पनि आन्तरिक कलहले ढल्ने गरेको पाइन्छ ।
तत्कालीन नेकपाको एकता र कांग्रेसको बहुमत पनि आन्तरिक ‘इगो’ कै कारण टिकेनन् । बालेनका लागि रास्वपा सभापति रवि लामिछानेसँगको सहकार्यलाई स्वार्थरहित ढंगले अघि बढाउनु अनिवार्य छ ।
रवि लामिछानेले बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर जुन त्याग र राजनीतिक कुशलता देखाए त्यसलाई सत्ता सञ्चालनको अवधिभर कायम राख्नुपर्नेछ ।
शीर्ष नेताहरूबीचको टकरावले देशकै भविष्य अन्धकारमा धकेलिने विगतको तीतो अनुभवबाट सिकेर बालेन र रविले आपसी समन्वय र विनम्रता देखाउनु जरुरी छ ।
बालेन यस्तो समयमा प्रधानमन्त्री बनेका छन् जतिबेला विश्व राजनीति अत्यन्तै अस्थिर छ । पश्चिम एसिया तनाव र त्यसले इन्धनको मूल्य तथा रेमिट्यान्समा पार्ने प्रभाव सिधै नेपालीको भान्सासम्म आइपुग्ने निश्चित छ । अर्कोतिर, छिमेकी राष्ट्रहरू भारत र चीनसँगको सन्तुलन मिलाउँदै टाढाको मित्र अमेरिकाकी चासोलाई सम्बोधन गर्नु बालेन सरकारको कूटनीतिक कुशलताको परीक्षा हुनेछ ।
जवाफदेहिताको प्रश्न
र्यापर र मेयरका रूपमा बालेनले ‘मौन’ रहने र सामाजिक सञ्जालमार्फत सिधै संवाद गर्ने शैली अपनाएका थिए । तर, प्रधानमन्त्रीको कुर्सीमा बसेपछि उनी केवल आफ्ना समर्थकप्रति मात्र होइन, संसद् र प्रेसप्रति पनि उत्तिकै जवाफदेही हुनुपर्छ ।
प्रेस ब्रिफिङ, संसद्मा उपस्थित र प्रश्नहरूको सामना गर्ने परिपाटीले मात्रै उनको लोकतान्त्रिक छवि बलियो बनाउनेछ। विगतमा उनीमाथि लाग्दै आएको ‘प्रेसलाई छल्ने’ आरोपलाई चिर्नु उनको व्यक्तित्व व्यवस्थापनको मुख्य पाटो हुनेछ । कसैका कुरा नसुन्ने र कसैलाई नभेट्ने शैलीलाई उनले खुकुलो बनाउँदा हितकर हुन सक्छ ।
बालेन शाह यतिबेला इतिहासको यस्तो घडीमा छन्, जहाँ उनले चाहेमा दशकौँदेखि बिग्रिएको नेपालको पद्धतिलाई सुधार गर्न सक्छन् । उनीसँग बहुमतको बल छ, युवाको साथ छ र पुराना दलहरू असफल भएको प्रमाण छ । तर, सत्ताको दम्भमा संविधानको मर्मलाई भुल्ने वा आफ्नै ‘सनक’ मा चल्ने गल्ती गरेमा नागरिकको निराशा झन् घातक हुन सक्छ ।
शासक होइन, सेवक सरकारको चाहना राखेका नागरिकलाई डेलिभरी र सुशासनको महसुस गराउन सकेमा मात्रै यो ‘बालेन युग’ सार्थक हुनेछ । नेपालले खोजेको परिवर्तनको यो बिहानीलाई सफल बनाउनु बालेन, रास्वपा र सिंगो संसद्को ऐतिहासिक दायित्व हो ।
बालेनले आमा मान्ने निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले भनेको जस्तो बालेनलाई- ‘जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस् ।’








प्रतिक्रिया