विद्रोही र्‍यापर बालेनको प्रधानमन्त्री यात्रा, के होला भविष्य?


‘देशको रक्षा गर्ने जति सबै चुकिया छन्, नेता जति सबै चोर देश लुटी खा’छन् ।’

र्‍यापमार्फत बालेन्द्र शाह ‘बालेन’ले नेताहरूलाई ठाडै ‘चोर’ भन्दै देश लुटेको आरोप लगाएका थिए । जो र्‍यापमार्फत सत्ता र नेतालाई प्रहार र प्रश्न गर्थे, अहिले उनै बालेन सत्ताको नेतृत्व सम्हाल्दै छन् ।

काठमाडौं महानगरको मेयर बन्नुअघि बालेन नाम नेपाली हिप–हप संगीतको विधा (जनर) मा सीमित थियो । र्‍यापर तथा इन्जिनियरका रूपमा बालेन आज परम्परागत राजनीतिक शक्तिको किल्ला भत्काउँदै प्रभावशाली राजनेताका रूपमा उभिएका छन् ।

पुर्ख्यौली घर मधेश प्रदेशको महोत्तरी जिल्ला (एकडारा) भएका बालेन शाह २०४७ वैशाख १४ गते काठमाडौंको नरदेवीमा जन्मिए, काठमाडौंमै हुर्किए । उच्च मध्यमवर्गीय परिवारका बालेनले आफ्नो प्रारम्भिक शिक्षा काठमाडौंकै विद्यालयबाट पूरा गरे।

उनका पिता डा. रामनारायण शाह वरिष्ठ आयुर्वेद चिकित्सक थिए । २०४३ सालमा सरकारी सेवा प्रवेश गरेका रामनारायणले आयुर्वेद विभागमा निमित्त महानिर्देशकको रूपमा र नरदेवी आयुर्वेद अस्पतालमा पनि केही समय जिम्मेवारी निर्वाह गरेका थिए।

हुनेखाने परिवारकै भएकाले बालेनले आम नेपालीले जस्तो दुःख–कष्ट भोग्नु परेन ।

बालेनको शैक्षिक पृष्ठभूमि निकै बलियो छ । हिमालयन ह्वाइट हाउस इन्जिनियरिङ कलेजबाट उनले सिभिल इन्जिनियरिङमा स्नातक गरेका हुन् । त्यसपछि पढ्न भारतको कर्नाटक गए । जहाँ निट्टे मीनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजी (एनएमआईटी) बाट स्ट्रक्चरल इन्जिनियरिङमा मास्टर्स पूरा गरे । उनले स्ट्रक्चरल इन्जिनियरिङ विषयमा एमटेक गरेका छन् । अहिले बालेनलाई पढाएका एनएमआईटीका प्राध्यापकहरू आफ्ना पूर्वविद्यार्थी नेपालको एक प्रमुख राजनीतिक व्यक्तित्वका रूपमा उदाएको देख्दा गौरवान्वित छन् ।

बालेनमा राजनीतिक चेत भने बाल्यकालदेखि नै थियो, जसलाई उनी र्‍यापबाट प्रस्तुत गर्थे । र्‍याप अर्थात् रिदम एन्ड पोइट्री । सानैदेखि कविता लेख्थे, गाउँथे पनि । ठूलो भएपछि चर्चित र्‍यापर बने । र्‍याप ब्याटलमा उनको प्रस्तुति अहिले पनि सबैले हेर्छन् । पछिल्लो समय चर्चामा आएका र्‍याप उनले त्यतिबेलै बनाएका हुन्, जतिबेला उनी राजनीतिमै थिएनन् ।

१२ वर्षअघि नेपाल प्रहरीले काठमाडौंमा अपराध र गुण्डागर्दी नियन्त्रण गर्न लामो कपाल पाल्नेको कपाल काटिदिने अभियान चलाएको थियो । त्यस समयमा बालेन पनि ‘मेरो लामो कपाल छ, म अपराधी होइन’ भन्ने अभियान चलाउँदै प्रतिकारमा उत्रिएका थिए । उनले ‘प्रहरी प्रतिकार’ शीर्षकको र्‍याप नै बनाएका थिए ।

प्रहरीले लामो कपाल पाल्नेको केश काटिदिने अभियान चलाउँदा बालेनले प्रहरीको विरोध गर्दै यस्तो गीत लेखे र गाए-

‘म नेपाल प्रहरी, जनतालाई ठोक्छु म । बाटो बाटो हिँड्छु म, मान्छेलाई टोक्छु म ।
म नेपाल प्रहरी, जनतालाई ढाँट्छु म । गर्न केही आउँदैन, कपाल काट्छु म । नेपाल प्रहरी अब कपालको सेवामा ।’

समाजको बेथिति मात्र होइन, दलगत हस्तक्षेप र सरकारको गीतमार्फत खुलेरै विरोध गर्थे बालेन । ६ वर्षअगाडि बालेनले ल्याएको ‘बलिदान’ शीर्षकको र्‍यापमा गरिबको मन छुने शब्द राखेका छन् । पञ्चायतको दमनविरूद्धको जनताको आवाज बनेको रामेश/रायनको बहुचर्चित गीत ‘गरिबको चमेली बोलिदिने कोही छैन’ लाई कोरसमा राख्दै उनले जनताका समस्या, भ्रष्टाचार, राजनीतिक र सामाजिक विकृतिमाथि प्रश्न उठाए ।

आफैँले लेखेको र्‍यापमा बालेन गाउँदै भन्छन्ः

‘मलाई बोल्न दे सरकार, अपराध होइन ।
मन खोल्न दे, दरबारको म सराप होइन ।
मन खराब छैन, सही बोल्न डराउँदैन ।
कानुन पो लाग्छ कि, आवाज उठाउँदैमा !
बलिदानको गीतामा मेरो शब्दको सलामी,
गाउँ गाउँबाट उठ युवा कलम थामी ।’

यसरी ‘बलिदान’ जस्ता गीतहरूमार्फत उनले देशको अस्थिरता, भ्रष्टाचार र नेताहरूको कार्यशैलीमाथि कडा प्रहार गरेका थिए । कांग्रेस, एमाले, माओवादी मिलेर देश लुटिरहेको संज्ञा दिए । युवा पुस्तासँगको सञ्जाल जो परम्परागत दलहरूसँग असन्तुष्ट थिए, यही र्‍यापमार्फत उनले देशभरका युवा जमातसँग सम्बन्ध बनाए ।

नेता र प्रहरीलाई मात्र होइन, कर्मचारीतन्त्रमा रहेको विकृति–विसंगतिलाई पनि बालेनले तिखो प्रहार गरे ।

देशको कर्मचारी शक्तिशाली सरकारी,
३० हजारको तलब, ३० वटा घरबारी,
बीचबजारको सडक, २० वटा खाल्डो पारी
खल्ती भारी, बैंक मारी, ७ तहको अधिकारी,
कस्ले तिर्ने सात समुद्र पारी देशको ७ उधारी ।

सामान्यतः र्‍याप भन्नाले मनोरञ्जन र उच्छृंखलताको सम्मिश्रणका रूपमा बुझ्ने गरिन्छ । उनको एक र्‍याप ब्याटल त एउटा पुस्ताले सुन्नै नमिल्ने भल्गर थियो । युवासँग सम्बन्ध बनाउन र्‍याप ब्याटल अचुक उपाय बन्यो ।

तर, विस्तारै बालेनले र्‍यापलाई पुनः परिभाषित गरे । र्‍याप केवल मनोरञ्जन होइन, प्रतिरोध र क्रान्तिको भाषा पनि हो भन्ने बुझाए । विरोध गर्न बालेनले र्‍यापको त्यही भाषालाई रोजे । युवापुस्ता र्‍यापमा रम्न थालेको मौकामा सामाजिक र राजनीतिक विकृति बुझाउन उनले र्‍यापलाई माध्यम बनाए । र्‍यापमार्फत बालेन यति चर्चित भए कि उनले युवाहरूको मन-मस्तिष्कै कब्जा गरे ।

बालेनको ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ बोलको गीत जसमा देशमा बढ्दै गएको भ्रष्टाचार, अत्याचार, अपराध र असमझदारीलाई समेटिएको छ । यसैगरी २ महिना अगाडि मात्र सार्वजनिक भएको ‘आम नेपाली बुबा’ गीतमार्फत बालेनले कर्मचारीतन्त्र र व्यवस्थाप्रति चर्को आलोचना र असन्तुष्टि पोखेका छन् । गीतमा बेथितिसँगै इमानदार कर्मचारीको पीडा पनि पोखिएको छ ।

यसरी सामाजिक विसंगति र राजनीतिज्ञमाथि र्‍यापबाटै तिखो प्रहार गर्ने उनका गीतहरू अचेल बच्चादेखि वृद्धसम्म लोकप्रिय छन् । उनका र्‍यापहरूमा मनोरञ्जन मात्र छैन, समाजका विसंगति, भ्रष्टाचार र राजनीतिक नेतृत्वप्रति आक्रोश छ ।

‘तथ्य’, ‘बलिदान’, ‘नेपाल हाँसेको’, ‘आम नेपाली बुबा’ जस्ता गीतहरूमा उनले अस्थिरता, भ्रष्टाचार र कर्मचारीतन्त्र तथा नेताहरूको कार्यशैलीमाथि कडा प्रहार गरे । परम्परागत दलहरूसँगको असन्तुष्टि सबैले बुझ्ने भाषामा प्रस्तुत गरे ।

आज फर्केर हेर्दा यी गीतहरू उनको राजनीतिक एजेन्डाका ‘प्रारम्भिक मस्यौदा’ का रूपमा बुझ्न सकिन्छ । जब बालेनले २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिए, उनका यिनै गीतका भावहरु चुनावी एजेन्डा बने । प्रतिनिधि सभा निर्वाचन २०८२ मा पनि बालेनका यिनै गीत प्रचारको माध्यम बने ।

हुन त अरू राजनीतिक दल या नेताहरूका गीत नभएका होइनन् । तर, ती गीत चुनावी आकर्षणका लागि मात्र बन्थे । उनीहरूका गीतमा दलका आन्दोलन, बलिदान र प्राप्त उपलब्धिहरूको प्रशंसा गरिएको हुन्छ । ती गीत पार्टी र नेता वरिपरि घुम्छन्, जसले एउटा निश्चित समूह, आवाज वा विचारधारा मात्रै बोक्छन् ।

बालेनका र्‍याप फरक यसमाने पनि छन् कि त्यहाँ व्यक्तिगत विद्रोह र थिति नभएको प्रणालीप्रतिका प्रश्नहरू छन् । ती गीतहरूले समाजका तीता सत्य छर्लङ्ग पार्छन् । बेरोजगारी, भ्रष्टाचार र विकृतिलाई सिधै प्रहार गर्छन् ।

दलका गीतले ‘हामीले परिवर्तन ल्यायौँ’ भनिरहँदा बालेनका गीतले अझै धेरै परिवर्तन खोजे । ती र्‍यापमा युवाका आक्रोश, सपना र भरोसा झल्किए ।

यसरी र्‍यापबाटै युवा पुस्ताको मन जित्न सफल बालेन राजनीतिमा उदय हुँदा देशैभरका युवा उनको साथमा उभिए । त्यही साथले २०७९ सालको स्थानीय तह निर्वाचनमा बालेन काठमाडौंमा अप्रत्याशित मत ल्याएर विजयी भए । त्यतिबेला उनले ६१ हजार ७६७ मत ल्याएका थिए ।

मेयरको जिम्मेवारी सम्हालेपछि उनले सहरी सुन्दरतामा विशेष काम गरे । सधैँ पोस्टरले कुरुप देखिने सडकका भित्तामा संस्कृति झल्कने पेन्टिङ गराए । उनले अस्तव्यस्त पार्किङ र सडक पेटीमा हुने व्यापारलाई व्यवस्थित बनाउन भूमिका खेले । होडिङ बोर्डले कुरुप बनेको सहरलाई हेर्न लायक बनाएको श्रेय बालेनलाई नै जान्छ । उनले सार्वजनिक स्थानको व्यवस्थापन गरे, डिजिटल प्रशासन र सुशासनलाई प्राथमिकतामा राख्ने कार्य गरे । नगरसभाको बैठक लाइभ गरेर पारदर्शिता देखाए । खोलाको मापदण्ड कायम गर्ने, अवैध संरचना र नक्सा पासबिना बनाइएका संरचना भत्काउने जस्ता काम गरे ।

र्‍यापमा निमुखाको आवाज बोल्ने उनै बालेनले महानगर प्रमुख बनेपछि सुकुम्बासी बस्तीमा डोजर चलाउने, ठेलागाडा र फुटपाथमा व्यापार व्यवसाय गरी गर्जो टार्नेको गरिखाने भाँडो खोसेको भन्दै आलोचना व्यहोरे तर उनी त्यसबाट ‘ब्याक’ भएनन्।

न्युरोडमा फुटपाथ विस्तारका क्रममा वडाअध्यक्षहरूसँग विवाद हुँदा उनी संघीय सरकारका मन्त्रीसँग पनि झुकेनन्, जसको परिणाम आजको दिनमा न्युरोड जाँदा सडक पेटीमा सजिलै हिँड्न सक्ने भएको छ । नेवारी समुदायसँग नजिक भएका उनले लोप भएका र पुरिएका ढुंगेधाराहरूको उत्खनन गरे, सडक पेटीमा सवारी कुर्नेहरूका लागि सांस्कृतिक फल्चा निर्माण गरे ।

यसैबीच भदौ २३ र २४ गते देशभर जेनजी आन्दोलन भएपश्चात् देशको राजनीतिले फरक मोड लियो । तत्कालीन केपी ओली सरकार ढल्यो र सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार बन्यो । जेनजी आन्दोलनलाई बालेनको पनि समर्थन थियो ।

सिंहदरबार जल्नुको पछाडि एक कारक उनैलाई मानियो । प्रेगनेन्ट भएकी पत्नी सबिना काफ्ले चढेको गाडी ट्राफिक प्रहरीले कोटेश्वरमा रोकेको झोंकमा फेसबुकमा ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ लेखेका थिए । जेनजी विद्रोहको पहिलो दिन सकिने बेला बालेनले फेसबुकमा लेखेको स्ट्याटसले पनि जनआक्रोशको आगोमा घिउ थपेको थियो । २४ गते सिंहदरबार, संसद भवन आदि जलिरहँदा बालेन नेतृत्वको महानगरले तुरून्तै दमकल नपठाएको आरोप लाग्ने गरेको छ ।

आन्दोलनलगत्तै प्रधानमन्त्री बन्न बालेनलाई अफर पनि गरियो, तर उनी मौन बसे र सामाजिक सञ्जालबाटै सुशीला कार्कीलाई समर्थन गरे । त्यतिबेला प्रधानमन्त्री बन्न गरिएको प्रस्तावलाई उनले अस्वीकार गर्नुको पछाडिको कारण उनी चुनाव जितेर पूरा कार्यकालको शक्तिशाली प्रधानमन्त्री बन्न चाहन्थे ।

२०८२ फागुन २१ मा उनको त्यो सपना पूरा भयो ।

संसद्को चुनाव लड्न २०८२ माघमा उनले मेयर पदबाट राजीनामा दिए । स्वतन्त्र मेयरको छवि बनाएका बालेन उम्मेदवार बन्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेर औपचारिक राजनीतिक यात्रा सुरू गरे । रास्वपाका सभापति रवि लामिछानेसँग उनले भावी प्रधानमन्त्रीको सम्झौता गर्दै राजनीतिक पाइला अघि बढाए ।

रास्वपाले बालेनलाई वरिष्ठ नेता र भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै झापा–५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनायो । त्यहाँ उनले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीसँग प्रतिस्पर्धा गरे । ओलीसँग चुनाव लड्ने बालेनको निर्णयलाई धेरैले आलोकाँचो निर्णय भएको टिप्पणी गरे ।

झापा विद्रोहबाट स्थापित भएर पटक-पटक सांसद र प्रधानमन्त्री बनिसकेका तथा शक्तिशाली संगठन भएको एमालेका अध्यक्षलाई चुनौती दिने कुरा चानचुने थिएन । तर, बालेनले हिम्मत गरे । झापा-५ मा जनताले बालेनको आँटलाई सम्मान गर्दै इतिहासकै सर्वाधिक ६८ हजार ३४८ मत दिएर विजयी गराउँदा ओलीले जम्मा १८ हजार ७३४ मत मात्र पाए ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा विभिन्न अदालतमा विचाराधीन अवस्थामा रहेकाले सभापति रवि लामिछानेको क्रेज खस्किरहेको अवस्थामा बालेनको प्रवेश रास्वपाका लागि सञ्जीवनी बुटी बन्यो । निर्वाचन प्रचारप्रसारका क्रममा बालेन ५० भन्दा धेरै जिल्ला घुमे । ५ ठाउँमा जम्माजम्मी २७ मिनेट मात्र भाषण गरे । भाषणका क्रममा उनले कसैप्रति नकारात्मक टीकाटिप्पणी गरेनन् । सम्भावनाहरू देखाए र आफू काम गर्ने व्यक्ति भएको भन्दै काम गर्ने अवसर दिन मतदातासँग आग्रह गरे ।

बालेनले चुनावी शैलीलाई नै परिवर्तन गरिदिए । नेपाली राजनीतिक समाजको मानक नै बनेको प्रतिस्पर्धी दलमाथिको गालीगलौज र अनावश्यक लाञ्छनालाई बालेनले रोकेनन् मात्रै, यसको ट्रेन्ड नै परिवर्तन गरिदिए । चुनावी अभियानमा उनले गालीको लागि कुनै शब्द खर्चिएनन् ।

नेताका पट्यारलाग्दा लामा, विपक्षीलाई तल्लो स्तरमा झरेर गालीगलौज गर्ने र ठूला सपना देखाउने भाषणभन्दा रैथाने समस्या र सम्भावना प्रस्तुत गरे । त्यसले बालेनको क्रेज थप बढायो, जसको भरपुर फाइदा रास्वपाले उठायो ।

फागुन २१ गते भएको चुनावमा देशैभर रास्वपाको लहर आयो । रास्वपाले करिब दुईतिहाइ सिट ल्यायो ।

बालेन र रास्वपाबीच भएको सहमति अनुसार अब उनी प्रधानमन्त्री बन्नेछन् ।

गीतमार्फत संघीयतालाई नेताहरूले बाँडिचुँडी खाने माध्यम बनाएको भन्ने बालेनले २०७९ को निर्वाचनमा प्रदेश सभाको चुनावमा भोट हाल्नै अस्वीकार गरे । जसकारण बालेनलाई संघीयताविरोधी भनेर चिनिन्थ्यो । रास्वपाका कतिपय नेताहरूले प्रदेश खारेजीको विषय उठाइरहेका बेला नेताका रूपमा जनकपुरमा गरेको पहिलो राजनीतिक भाषणमा भने बालेनले संघीयतालाई अझै बलियो बनाउने उद्घोष गरे ।

उनले भनेका थिए, ‘मलाई धेरैले संघीयताको बारेमा रास्वपाको धारणा के हो भनेर प्रश्न गरिरहेका छन् । संघीयतालाई अझै बलियो बनाउनुपर्छ । तर त्यो संघीयताबाट हरेक कामको लागि काठमाडौं जानुपर्ने बाध्यता भएको हुनु हुँदैन । मधेशको राजधानी जनकपुर हो भने जनकपुरमै सबै प्रकारको सुविधा उपलब्ध हुनुपर्छ । संघीयता भनेको त्यो हो । अब आन्दोलन गर्न र अधिकार माग्न काठमाडौं जानु पर्दैन । काठमाडौं घुम्न जाने हो, पशुपतिनाथ, स्वयम्भू दर्शन गर्न जाने हो ।’

उनको यो जवाफ ५ वर्षअघि उनले ल्याएको स्याभेज गीतभन्दा विल्कुल फरक छ । २०७९ को प्रदेश सभा सदस्य निर्वाचन बहिष्कार गरेका बालेनले त्यसअघि यस्तो गीत गाएका थिएः

७ घारी समस्याको काटिसके,
७ ओटा सरकारले ७ चोटी ढाँटिसके ।
७ प्रदेशमा देशलाई ७ चोटी बाँडिसके,
नाताहरू काखमा, युवाहरू खाडी परदेश ।

संघीयताका सवालमा बालेन अहिले बदलिएका हुन् वा झुटो भाषण गरेका हुन्, त्यो आगामी दिनमा उनले गर्ने कामबाट प्रमाणित हुन्छ।

बालेनका आलोचकहरूले ‘उनी कम बोल्छन्, सर्वसाधारण र मिडियाका प्रश्न सामना गर्दैनन् र सरोकारवालासँग अन्तरक्रिया गर्दैनन्’ भन्छन् । उनले आफ्ना कुरा सामाजिक सञ्जालमार्फत अभिव्यक्त गर्छन् ।

उनको फेसबुक नै यति शक्तिशाली छ कि, केही कुरा राख्नुपरे सामाजिक सञ्जालमै राख्न सक्छन् । फेसबुकमा करिब ४० लाख फलोअर भएका बालेन सामाजिक सञ्जालमा सर्वाधिक फलो गरिएका व्यक्ति हुन् । बालेनको एउटा पोस्ट गर्नेवित्तिकै लाखौं लाइक आउँछ, हजारौं कमेन्ट आउँछन् । उस्तै संख्यामा सेयर हुन्छन् । सायद त्यसैले पनि उनले मिडिया खोजेनन् ।

धेरैले कमजोरी भनेको बालेनको यो शैली नै अहिले उनको मुख्य तागत बनेको छ ।

चुनावको दौरानमा पनि उनले न मिडियामा अन्तर्वार्ता दिए, न त अरूले जस्तो जनतासँग अन्तरक्रिया नै गरे । जनताहरू बालेनको यही शैलीको डाइहार्ड फ्यान बने ।

प्रतिपक्ष निकै कमजोर भएकाले बालेनले संसदमा खासै अवरोध झेल्नुपर्ने छैन । तर संयमित हुनु भने जरुरी छ । सगरमाथा आरोही एडमन हिलारीले भनेका छन्- ‘सगरमाथा आरोहण आफैंमा ठूलो कुरा होइन, तर शिखरमा टिकिरहन सक्नु मुख्य कुरा हो । यो मानिसको जिवनमा पनि लागू हुन्छ ।’

विरोधीहरुले बालेनलाई रहस्यमय व्यक्ति लुसिफर र विदेशीबाट परिचालित व्यक्ति भएको आरोप लगाइरहेका छन् । कतिपयले उनलाई व्यंग्य गर्दै ‘बालेन्स्की’समेत भन्न भ्याएका छन् । ती सबै आरोपहरुलाई चिर्नु बालेको चुनौति हो ।

र्‍यापमार्फत राजनीतिक चेत देखाउन थालेको एक दशकै बालेन देशको कार्यकारी प्रमुख पद प्राप्त गर्ने भाग्यमानी व्यक्ति हुन्। राणा पञ्चायत र राजाविरुद्वको लडाईंमा वर्षौं जेल बसेका दल र नेताहरुलाई बालेनले राजनीतिक यात्रा सुर गरेको ५ वर्ष नवित्दै धुलिसात पारिदिए । नेपालको राजनीतिक आन्दोलनमा बालेनको कुनै संलग्नता र अनुभव छैन । त्यसैले उनीमाथि धेरैले शंका गरिरहेका छन् ।

तर यथार्थ के हो भने परम्परागत राजनीतिक दलहरुले नेपाली जनतालाई भरपूर सवतन्त्रता दिए पनि सुशासन र सम्मृद्विको गति भने अत्यन्तै कमजोर थियो । बालेनले सुशासन र सम्मृद्विलाई सँगसँगै अघि बढाएर जनतालाई खुसी राख्न सके भने यो नै उनको सबैभन्दा ठूलो राजनीतिक योगदान हुनेछ ।

छुटाउनै नहुने कुरा के हो भने बालेन कहिलेकाहीँ मध्यरातमा स्ट्यास लेख्छन् । रात छिप्पिए पछि उनले अभिव्यक्त गरेका मनोभाव निकै विवादित पनि हुने गरेका छन् । महानगर मेयरका रूपमा त ती सबै कुरा सरोकारवालाले सहज रूपमा लिए । अब त उनी प्रधानमन्त्री बन्दैछन् । देशको कार्यकारी प्रमुखले महानगर प्रमुख झैं मात्र सोच्ने हो भने मुलुकको आँचमै गम्भीर धक्का पुग्छ, नेपाललाई हेर्ने नजरै फेरिन सक्छ भन्ने हेक्का चाहिँ बालेनले राख्नुपर्दछ ।

अन्त्यमा, हिजो र्‍यापबाट प्रश्न गर्ने बालेन अब जवाफ दिने ठाउँमा पुगेका छन् । र्‍यापको बिटमा सत्तालाई गाली गर्ने ती युवा आज आफैँ सत्ताको बागडोर सम्हाल्दै छन् । अब बालेनले इतिहास बदल्नेछन् वा उनको नेतृत्वमा देशमा पुरानै नियति दोहोरिनेछ, त्यो भने हेर्न बाँकी नै छ ।

बालेनको शासनकालमा अर्को कुनै युवाले बालेनले जस्तै विकृति, विसंगति र भ्रष्टाचारविरोधी गीत गाउनु नपरोस् । सुख र समृद्धिका गीतहरू घन्किउन् । भावी प्रधानमन्त्री बालेनलाई शुभकामना !